
जेन-जी आन्दोलनले गर्दा गत मंगलबारदेखि बन्द भएको विराटनगर जोगबनी नाकामा आवतजावत सहज हुन थालेको छ। नाकामा दुवैतर्फका सुरक्षाकर्मीहरूले नागरिकता देखाएर नेपाली र भारतीय नागरिकहरूलाई आवतजावत गर्न दिन थालेका छन्।
भारत जोगबनीतर्फ भारतीय सीमा सुरक्षा बल (एसएबी) र नेपालतर्फ सशस्त्र प्रहरीले नाकामा नागरिकता र परिचयपत्र हेरेर आवतजावत गर्न दिन थालेका छन्।
इलाका प्रहरी रानीका अनुसार दुवैतर्फका सुरक्षाकर्मीहरूले आ–आफ्नो नाकाको ढाट भने अझै पूर्ण रूपले खुला गरेका छैनन्। तर, चेकजाँच गरेर नागरिकता र परिचयपत्रका आधारमा आवतजावत गर्न दिन थालिएको छ।
शरणार्थी, आतंककारी र अपराधीहरूको घुसपैठ हुन सक्ने भन्दै गत २४ भदौदेखि नेपालतर्फको विराटनगर र भारत विहार राज्यको जोगबनीतर्फको नाका सुरक्षाकर्मीहरूले बन्द गरेका थिए।
विभिन्न समूह र पक्षबाट जेन-जीको नामबाट अराजक हिंसात्मक गतिविधि हुन सक्ने भन्दै प्रशासनले कोशी प्रदेशको राजधानी विराटनगरसहित मोरङमा लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु शनिबारदेखि हटाएको छ ।
मोरङका सिडिओ इन्द्रदेव यादवका अनुसार अवस्था समान्य बन्दै गएकोले शनिबार बिहानदेखि लाग्दै आएको निषेधाज्ञा र कर्फ्यु अर्को सूचना नभएसम्मका लागि हटाइएको हो। सिडिओ यादवले भने, ‘अवस्था सामान्य बनेकोले हाललाई राति १० बजेसम्मका लागि लगाइँदै आएको निषेधाज्ञा र कर्फ्यु हटाइको हो।’
मोरङ प्रशासनले २४ देखि २८ भदौ बिहान ५ बजेसम्म दिउँसो निषेधाज्ञा र राति कर्फ्यु आदेशलाई निरन्तरता दिइरहेको थियो ।