गुल्मीको रेसुंगा विमानस्थल निर्माण सम्पन्न भइसके पनि नियमित उडान हुने कुनै छाँटकाँट छैन । चिटिक्क देखिने विमानस्थल अहिले घुमन्तेहरूको फोटो खिच्ने र टिकटक बनाउने थलो मात्र बनेको छ । रेखदेख गर्ने कर्मचारीसम्म नहुँदा निर्मित संरचना पनि भत्किन थालेको छ । तत्कालीन पर्यटनमन्त्री प्रदीप ज्ञवालीले ०६३ मा शिलान्यास गरेको विमानस्थलमा नियमित उडान गर्न भने ठोस चासो देखाएका छैनन् ।
०६३ देखि हरेक चुनावमा गुल्मीबाटै जहाज उडाउने सपना देखाइन्छ । तर, सपना देखाएको डेढ दशक बितिसक्दा पनि जहाज उड्ने कुनै छाँटकाँट देखिँदैन । चुनावी मुद्दा, राजनीतिक खिचातानी र श्रेय कसले लिने भन्ने होडबाजीका बीचमा विमानस्थल पिल्सिएको स्थानीय बताउँछन् । २७ जेठ ०७५ मै तारा एयरले परीक्षण उडान गरिसके पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । हवाई पूर्वाधारविज्ञहरूले रेसुंगा विमानस्थलमा प्राविधिक रूपमा उडान गर्न पनि कठिन रहेको निष्कर्ष निकालेका छन् ।
चितवनको मेघौली विमानस्थल ०६७ सालअघिसम्म सञ्चालनमै थियो । तर, राष्ट्रिय निकुञ्जभित्र होटेल सञ्चालन गर्न नपाइने भएपछि एयरपोर्ट पनि बन्द भयो । ०७४ सालमा अर्बपति व्यवसायी विनोद चौधरीको पहलमा नेपाल वायुसेवा निगमको ट्विनअटर विमान केही समय उड्यो । तर, पुनः बन्द भयो । सन् १९९६ मा सञ्चालनमा आएको मेघौली एयरपोर्टमा कुनै समय दैनिक १० वटासम्म उडान हुने गर्थे ।
निकुञ्जभित्रको टाइगर टप्समा आएका पर्यटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि त्यहीँबाट सीधै मेघौली विमानस्थलमा उत्रिन्थे । २२ बिघामा फैलिएको विमानस्थलमा अझै पनि केही संरचनाहरू छन् । चितवनका नेताहरूले पनि हरेक चुनावमा मेघौली एयरपोर्टमा नियमित जहाज उडाउने एजेन्डा अगाडि सारे पनि चुनावपछि चर्चा नै हराउने गरेको स्थानीय पर्यटन व्यवसायी बताउँछन् ।
त्यस्तै, बाग्लुङको बलेवा एयरपोर्टको धावनमार्ग पनि कालोपत्रे भइसकेको छ । तर, बाह्रै महिना उडान सम्भाव्यता भएको एयरपोर्टमा जहाज उड्ने कुनै छाँटकाँट छैन । कालीगण्डकीमा पुल नबनेको र सडक सुविधा पनि नभएको समयमा बनेको एयरपोर्ट पुल र सडक सुविधा पुगेसँगै प्राथमिकतामा पर्न छाडेको क्यानका कर्मचारी बताउँछन् ।
इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल निर्माण सम्पन्न भए पनि उडान हुन सकेको छैन । इलाम नगरपालिकाले हवाई यात्रुको ग्यारेन्टी गरिदिने समझदारीपछि १ फागुन ०७८ मा तारा एयरको जहाज उडाएर उद्घाटन गर्ने तयारी थियो । ०५८ सालमा प्रक्रिया अगाडि बढेर १० वर्षपछि ०६८ देखि निर्माण सुरु भएको यो विमानस्थल अर्को १० वर्षपछि ०७८ सालमा निर्माण सम्पन्न भएको हो । राजनीतिक एजेन्डाअनुरूप नै अर्घाखाँचीमा पनि विनाअध्ययन एयरपोर्ट बन्दै छ ।
अहिले देशभरि दुईवटा अन्तर्राष्ट्रियसहित ५३ विमानस्थल निर्माण भएका छन् । तर, १९ विमानस्थलमा उडान हुँदैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ३४ विमानस्थलमा मात्र उडान भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसहित दुईवटा विमानस्थल निर्माणाधीन अवस्थामा छन् । निजगढमा पनि पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल बनाउने तयारी भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि सम्भाव्यता अध्ययन नगरी मतदाता रिझाउने प्रयासस्वरूप निर्माण गरिएको हो । यो विमानस्थलमा ठूला जहाज उडान गर्न सक्दैनन् । साना न्यारोबडी जहाजहरू उडाउन पनि एयरपोर्ट नजिकै रहेको रिट्ठेपानी डाँडो कटान गर्नुपर्ने हुन्छ । क्यानले रिट्ठेपानी डाँडो कटानका लागि ठेक्का आह्वान गरिसकेको छ ।
अहिले उडान नभएका धेरै विमानस्थलहरू वर्षौँपहिले निर्माण गरिएका हुन् । सडक सञ्जाल नपुग्दै बनेका एयरपोर्ट सडक र पुलहरू बनेपछि उडान विस्थापन भएको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताए । तर, कतिपय एयरपोर्ट सञ्चालन गर्नुपर्ने टड्कारो आवश्यकता हुँदाहुँदै पनि सरकारकै कमजोरीका कारण सञ्चालन हुन सकेका छैनन् । ती विमानस्थल जहिल्यै चुनावको मुखमा मात्र सञ्चालन गर्ने बहसमा ल्याइन्छ । चुनाव सकिनेबित्तिकै बहस पनि सेलाउने गर्छ ।
अहिले दार्चुला, महेन्द्रनगर, कालिकोट, मसिनेचौर, रुकुम चौरजहारी, टीकापुर, रोल्पा, गुल्मी, ढोरपाटन, बलेवा, मनाङ, गोरखा पालुङटार, लाङटाङ, मेघौली, जिरी, स्याङ्बोचे, कागेलडाँडा, खिजी चण्डेश्वरी, फाल्गुनन्द एयरपोर्ट सञ्चालनमा छैनन् । हिमाली तथा पहाडी क्षेत्रमा कम्तीमा २० नटिकल माइल र तराई तथा भित्री मधेसमा कम्तीमा ४० नटिकल माइलमा विमानस्थल हुनुपर्छ । तर, मसिनेचौरी जुफाल, अर्घाखाँची, गुल्मी, ओखलढुंगाको खिजी चण्डेश्वरी, फाप्लु, कागेलडाँडा, रुम्जाटार, साँफेबगरलगायत ११ विमानस्थल ५.८२ देखि १९.३५ नटिकल माइलसम्मको दूरीमा रहेकाले उडानमा समस्या हुनुका साथै नयाँ विमानस्थल निर्माणमा भएको लगानी खेर जान सक्ने महालेखाको ५९औँ प्रतिवेदनमा
उल्लेख छ ।
उडान सञ्चालन नभएका १९ विमानस्थल निर्माणमा ५० अर्ब १९ करोड १७ लाख लगानी भएको महालेखाले जनाएको छ । धावनमार्ग कालोपत्रे भइसकेका बाह्रै महिना उडान सञ्चालन गर्न सकिने बाग्लुङ, मनाङ, इलामको सुकिलुम्बा र टीकापुर विमानस्थल पनि सञ्चालनमा आउन सकेका छैनन् । महालेखाको प्रतिवेदनमा उल्लेख भएअनुसार दुर्गम पहाडी क्षेत्रमा निर्माण भएका २३ विमानस्थल मात्र प्रवाधिक दृष्टिले बाह्रै महिना सञ्चालन गर्न सकिने खालका छन् ।
खिजी चन्डेश्वरी, सुकिलुम्बा, अर्घाखाँची विमानस्थल निर्माण भइसक्दा पनि पर्खाल एवं सुरक्षा तारबारसमेत लगाइएको छैन । धेरै वर्षपहिले निर्माण भएको पालुङटार विमानस्थलको जग्गामा स्थानीयवासीले बाटो तथा घर निर्माण गरेको, टीकापुर विमानस्थलको धावनमार्गको बीचबाटै स्थानीयवासीले पक्की सडक निर्माण गरेको, मेघौली र महेन्द्रनगर विमानस्थलको जग्गाबाट स्थानीयले बाटो निर्माण गरेको महालेखाले भनेको छ । विमानस्थलको रेखदेख गर्नुपर्ने क्यानले विमानस्थल अतिक्रमण हुनबाट रोकी सम्पत्तिको संरक्षण गर्नुपर्ने महालेखाको सुझाव छ ।
पुराना कतिपय एयरपोर्ट भएका ठाउँमा सडक पुग्नु, खोलामा पुल बन्नु र नजिकै अर्को विमानस्थल निर्माण हुँदा पनि उडान बन्द भएका छन् । मेघौली एयरपोर्ट सञ्चालनमा तदारुकता नदेखाउनुमा भरतपुर विमानस्थल पनि प्रमुख कारण हो । क्यानले भरतपुर विमानस्थलको विस्तारसमेत गर्न लागेको छ ।
निकुञ्ज र आसपासका होटेलमा आउने पर्यटकमा भर पर्नुपर्ने मेघौली एयरपोर्ट सञ्चालन गर्न सम्बन्धित निकायले प्राथमिकता दिएको देखिँदैन । तर, हरेक चुनावमा भने मेघौली एयरपोर्ट सञ्चालनको बहस भने चर्किने गर्छ । मेघौली, गुल्मी, अर्घाखाँची, इलामसहित सञ्चालनमा नरहेका हरेक एयरपोर्टमा सम्बन्धित जिल्लाका उम्मेदवार नेताहरूले चुनाव आउँदा जहाज उडाउने प्रतिबद्धता जनाउँदै आइरहेका छन् । तर, हरेक पटकका प्रतिबद्धताहरू खालि आश्वासन मात्र हुने गरेको गुल्मी सिमीचौरका एक बासिन्दाले बताए ।
दुर्गमका एयरपोर्ट सञ्चालन गर्न जहाज अभाव
प्रदीप अधिकारी, महानिर्देशक, क्यान
पछिल्लो समय बनेका गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल तथा गुल्मी, अर्घाखाँची, इलामको आन्तरिक विमानस्थल हुन् । अरू ४० वर्षसम्म पुराना हुन् । त्यसवेला नेपाल एयरलाइन्सका १० वटा जहाज थिए । अहिले दुईवटा मात्र छन् । जिल्लामा सडक नपुगेको समयमा बनेका कतिपय एयरपोर्टमा अहिले राम्रो सडक बनिसक्यो । धेरै एयरपोर्टको यही समस्या हो ।
अहिले बर्सातले बाटोमा पहिरो गएपछि बल्ल एयरपोर्टको खाँचो देखियो । एयरपोर्ट सञ्चालन गर्न सबैभन्दा पहिला पर्याप्त जहाज किन्नुपर्छ । निजी वायुसेवाले पनि ती एयरपोर्टमा जहाज उडाउन पहल गर्नुपर्छ । ती एयरपोर्टमा पूर्वाधार निर्माणसँगै आधुनिक प्रविधि पनि जडान गर्नुपर्यो । प्रविधि अपग्रेडेड गर्नुपर्छ । हामीले एयरपोर्ट बन्द गर्ने होइन, सञ्चालन गर्नेतर्फ जोड दिनुर्पछ ।