१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज २३ आइतबार
  • Saturday, 21 September, 2024
२o७९ असोज २३ आइतबार १o:५५:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज २३ आइतबार १o:५५:oo

४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुरानै उम्मेदवारसँग प्रतिस्पर्धा गर्ने भएका छन् । झापा– ५ मा मनोनयन दर्ताको तयारी गरेका ओलीले ०७४ कै प्रतिस्पर्धी पाउने भएका हुन् ।

सत्तागठबन्धनको तर्फबाट कांग्रेसका खगेन्द्र अधिकारीले टिकट पाउने भएको कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । ओली र अधिकारीले ०७४ मा यही क्षेत्रमा प्रतिस्पर्धा गरेका थिए । त्यसवेला ओली माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका थिए भने अधिकारी कांग्रेसबाट थिए । यसपटक भने अधिकारी कांग्रेस, माओवादीसहितको सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् ।

०७४ मा वाम गठबन्धनको तर्फबाट उम्मेदवार बन्दै ओलीले ५७ हजार एक सय ३९ मत पाएका थिए भने अधिकारीले २८ हजार दुई सय ९७ मत पाएका थिए । यो क्षेत्रमा ओलीका प्रतिस्पर्धी बारम्बार परिवर्तन हुँदै आएका छन् । ०४८ देखि ओली  यही क्षेत्रमा निरन्तर निर्वाचन लड्दै आएका छन् । ०४८ देखि ०५६ सम्म यो क्षेत्र झापा निर्वाचन क्षेत्र नम्बर ६ मा थियो । ०६४ र ०७४ मा यो क्षेत्र झापा क्षेत्र नम्बर ७ भयो । ०७४ यता भने यो क्षेत्र झापा क्षेत्र नम्बर ५ भएको छ । ०४८ यता ओलीले ०६४ मा मात्र यहाँ पराजित भएका छन् । ओलीलाई तत्कालीन माओवादीका विश्वदीप लिङ्देन (हाल कांग्रेस)ले पराजित गरेका थिए ।

यी हुन् झापामा कांग्रेसका उम्मेदवार

झापामा सत्तारूढ गठबन्धनमा रहेको कांग्रेसले प्रतिनिधिसभाअन्तर्गतका चारवटा निर्वाचन क्षेत्र पाएको छ । माओवादीले क्षेत्र नम्बर २ पाएको छ । झापामा कांग्रेसले क्षेत्र नम्बर १, ३, ४ र ५ पाएको छ । क्षेत्र नम्बर १ मा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले टिकट पाएका छन् । यो क्षेत्रमा शर्मा ०७० र ०७४ मा पराजित भएका थिए ।

०७० मा एमालेका रविन कोइरालासँग पराजित भएका शर्मा ०७४ मा वाम गठबन्धनका तर्फबाट माओवादीका राम कार्कीसँग पराजित भएका थिए । यसपटक शर्माले नयाँ प्रतिस्पर्धी पाएका छन् । एमालेबाट पूर्वकानुनमन्त्री तथा पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलसँग प्रतिस्पर्धा गर्नेछन् ।

झापा क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले टिकट पाएका छन् । उनले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग प्रतिस्पर्धा गर्नेछन् । लिङ्देनलाई एमालेको सहयोग छ । ०७४ मा लिङ्देनले सिटौलालाई पराजित गरेका थिए । त्यसवेला एमाले–माओवादी गठबन्धनको सहयोग राप्रपाका लिङ्देनलाई थियो ।

झापा– ४ मा भने कांग्रेसका जिल्ला सभापति देउमान थेबेले टिकट पाएका छन् । उनले एमालेका एलपी सावाँसँग प्रतिस्पर्धा गर्नेछन् । सावाँ त्यही क्षेत्रका निवर्तमान सांसद हुन् । झापा– ५ मा भने कांग्रेसबाट खगेन्द्र अधिकारीले टिकट पाएका छन् । उनी ओलीका पुरानै प्रतिस्पर्धी हुन् ।