दसैँ सँघारमै आइपुगेको छ । अधिकांश मान्छे पर्वको उत्साह बोकेर गाउँ फर्किसकेका छन् । म पनि ग्रामीण परिवेशमै जन्मिएँ । अधिकांश दसैँ गाउँले परिवेशमै मनाएँ । गाउँमा जब दसैँ आउँथ्यो, लिंगेपिङ, रोटेपिङ हालिन्थ्यो । पिङ देख्दा मात्र पनि खुसी लाग्थ्यो । दसैँको विशेषता नै यही हो जस्तो लाग्थ्यो । तर, अहिले लिंगेपिङ, रोटेपिङ देख्नै मुस्किल भइसक्यो ।
जतिवेला गाउँघरमा दसैँ मनाइन्थ्यो, त्यहाँ कुनै पक्ष–विपक्ष सुनिँदैनथ्यो । सबैले सामूहिक पर्वका रूपमा मनाउँथे । समयक्रमसँगै मान्छेमा विभिन्न विचार आए । सीमित जाति वा समुदायले मात्रै मनाउनुपर्छ भन्ने तर्क गर्न थाले । तर, अहिलेको विश्वमा सबै संस्कारलाई सम्मान गर्ने र सबै पर्वलाई आफ्नै पर्वका रूपमा मनाउने ग्लोबल कल्चर छ । हाम्रोमा भने त्यो इस्यु झनझन् साँघुरिँदै गइरहेको महसुस हुन्छ । पहिलेका सबै जातजाति मिलेर सँगै चाडपर्व मनाउने मान्छेहरू महान् थिए जस्तो लाग्छ । भलै उनीहरू शिक्षामा पछाडि थिए, तर सभ्यतामा अगाडि थिए ।
रेमिट्यान्स दसैँ
अहिले धेरैजसो नेपाली विदेशमा छन् । ट्रान्स–माइग्रेसनको अवस्था छ । प्रत्येक तेस्रो घरले रेमिट्यान्सको सुविधा लिइरहेको छ भनिन्छ । म बसेकै सहर (इटहरी)मा पनि प्रत्येक तेस्रो घरका एक वा दुईजना विदेशमा छन् । त्यहाँको जीवनशैली र संस्कारमा रमाइरहेकालाई दसैँले छोए पनि त्यसको महसुस कम हुन सक्छ ।
उहिले–उहिले दसैँको चलन नै टाढा गएका छोराछोरी घर आउने, भेटघाट गर्ने, टीका लगाएर आशीर्वाद थाप्ने थियो । तर, अहिले जब दसैँ आउँछ बाआमाहरू रोइरहेको देख्छु । यता बुबाआमा चाडबाडमा छोराछोरी पर्खेर बस्छन् । उता विदेश गएका छोराछोरीलाई फर्कने समय हुँदैन । यसरी हेर्दा दसैँको उल्लास आएजस्तै लाग्दैन । यो क्रम अस्तिभन्दा हिजो, हिजोभन्दा आज बढ्दै गइरहेको छ ।
अहिले पैसाले मान्छेलाई बिस्तारै चाडपर्व र आफन्तबाट पनि टाढा बनाइरहेको छ । परदेशमा रहेका सन्तान सम्झेर यति धेरै बाआमा रोइरहेको पहिले निकै कम देखिन्थ्यो ।
अलिकति रेमिट्यान्स पठाइदिनु, टिभी, फ्रिज किनिदिनु अहिलेको दसैँ मनाउने तरिका बनेको छ । पहिले यस्तो हुँदैनथ्यो । असारे मेलाबाट फुर्सद भएको समय हुन्थ्यो । घरआँगनमा फूलहरू फुलेका हुन्थे । खसी–बाख्रा बेचेर दसैँ किनमेल गर्थे । कुनै हतार नगरीकन सन्तोषपूर्वक मनाइन्थ्यो । अहिले समय निकै परिवर्तन भइसकेको छ । समृद्ध त छ, तर सुख–आनन्द छैन ।
उहिले–उहिले कमै मात्रामा मान्छे बाहिर जान्थे । पैसा नहुँदा वा कम हुँदा पनि घर, समाज चलेकै थियो । त्यतिवेला दसैँ होस् वा सामाजिक जीवन निर्वाहका लागि पहिलो प्राथमिकता पैसा थिएन । र, त सबै कुरा सन्तुलनमा थिए । तर, अहिले पैसाले मान्छेलाई बिस्तारै चाडपर्व र आफन्तबाट पनि टाढा बनाइरहेको छ । परदेशमा रहेका सन्तान सम्झेर यति धेरै बाआमा रोइरहेको पहिले निकै कम देखिन्थ्यो ।
फेरिँदै दसैँ सौन्दर्य
दसैँ फेरिनु वा फेरिएको लाग्नुको एउटा कारण उमेर पनि हो भन्ने लाग्छ । उमेर बढेसँगै बुढाबुढीमा छोराछोरी आउलान् र चाडपर्व मनाउँला भन्ने तीव्र चाहना देखिन्छ । उमंगका हिसाबले चाडबाड मनाउने कुरामा केटीकेटी खुसी देखिन्छन् । अहिले पनि तिहारमा देउसी खेल्ने प्रायः केटाकेटी मात्रै हुन्छन् । ठूला मान्छेहरू खेल्नै छाडिसके । खेल्नेहरू पनि पैसा उठाऊँ र पिकनिक जाऊँ भनेर खेलिरहेको देख्छु । त्यसमा पनि औपचारिकता मात्रै देखिन्छ । भित्रैदेखि खुसी भएर, रमाएर जसरी पहिले दसैँ मनाउँथ्यौँ, देउसीभैलो खेल्थ्यौँ, अब कहाँ पाउनु त्यो समय !
दसैँलगायतका चाडपर्व मनाउने तरिका फरक हुँदै आइरहेको सत्य हो । यद्यपि, यसको महत्व आज पनि उत्तिकै छ । यसको सैद्धान्तिक व्याख्या एउटा होला, धार्मिक व्याख्या र आर्थिक व्याख्या अर्कै होला । यी सबैलाई छोडेर उत्सवका रूपमा मात्रै हेर्ने हो भने दसैँ अनुपम खुसीको पर्व हो । ठूला मानिसबाट टीका लगाएर आशीर्वाद थाप्ने सायद पृथ्वीकै युनिक चाड होला दसैँ। र, यति लामो समयसम्म संसारमा कुनै पर्व मनाइन्छ जस्तो लाग्दैन ।
अहिले देशले अर्बौँ अर्बको चामल, गहुँ भारतबाट किनेर ल्याउँछ । हामी आफूले श्रम नगर्ने अनि निधारमा टीका लगाएकैले गरिबले खान पाएनन् भन्ने तर्क ठिक होइन ।
दसैँलाई धार्मिक दृष्टिकोणले भन्दा पनि उत्सवका रूपमा हेरिनुपर्छ । टीका लगाउने, आशीर्वाद थाप्ने, आफ्नो मूलघर फर्किने, टाढा भएका मान्छे अघिपछि आउन नपाए पनि दसैँमा घर फर्किने यो प्रवाह गज्जबको छ । केही विरोधाभास छन्, यद्यपि यसको महत्व कम छैन । केही मान्छेहरू छन्, जसले दसैँ आउन लाग्दा विभिन्न तर्क राख्छन्, विरोध गर्छन् । निधारमा लगाउने टीकालाई लिएर अनेकन टीका–टिप्पणी गर्छन् । कसैले ‘खाने अन्न छैन, कसैले निधारमा चामल लगाइरहेका छन्’ भन्छन् । यो तर्कसंगत लाग्दैन । यदि होटेल, रेस्टुरेन्टमा गएर हेर्ने हो भने त्यहाँ दैनिक रूपमा करोडौँको चिजबिज खेर गइरहेको हुन्छ । त्यसबारे कसैलाई मतलब हुँदैन ।
कुनै वेला इटहरी, सुनसरीको चामल यो देशलाई खुवाएर बाहिर पनि निर्यात हुन्थ्यो । ०४० सम्म नेपालले अमेरिकालाई चामल निर्यात गर्थ्याे । अहिले देशले अर्बौँ अर्बको चामल, गहुँ भारतबाट किनेर ल्याउँछ । हामी आफूले श्रम नगर्ने अनि निधारमा टीका लगाएकैले गरिबले खान पाएनन् भन्ने तर्क ठीक होइन ।
शाकाहारीलाई खसी उपहार !
स्मरणीय घटना सधैँ खुसीका मात्र हुन्छन् भन्ने छैन । यसबारे बोल्नुपर्दा मलाई अप्ठ्यारो लाग्छ । किनकि दसैँसँग जोडिएका केही दुःखद घटनाहरू छन् नै । एउटा रोचक किस्सा पनि छ ।
०४६/०४७ तिरको कुरा हो । त्यसवेला काठमाडौंकाे मीनभवनमा बस्थेँ । कलेज पढ्थेँ । दसैँमा घर जानुपर्ने भयो । काठमाडौंबाट बस चढेर बाहिर जान हिजोआजको जस्तो सजिलो थिएन । बल्लतल्ल चन्द्रनिगाहपुर जान बसको टिकट काटेँ ।
घर जानुभन्दा दुई दिनअघि म बसेको टोलका भाइहरूले ‘ल, खसीको टिकट काट्नुस्’ भन्दै टिकट लिएर आए । ल न त भनेर २० रुपैयाँको टिकट काटेँ । संयोगवश जुन दिन घर हिँड्नुपर्ने थियो, त्यही दिन उपहारमा खसी पर्यो । टोलका भाइहरूले १०–१२ केजीजतिको खसी लिएर आए ।
उपहार पर्याे, खुसी भएँ । तर, समस्या के भने, म शुद्ध शाकाहारी । तैपनि विद्यार्थीकालमा खसी बेचे पैसा आउँछ, दसैँखर्च पनि राम्रै हुन्छ भन्ने भयो । एक–दुई दिन पर्खेर खसी बेचेर घर जाने योजना बनाएँ । टिकट–सिकट हापिदिएँ । डेरामा बस्थेँ । अब खसी कहाँ लैजाने ? सबभन्दा राम्रो आफ्नै कोठामा राख्ने भएँ । दिउँसो विष्णुमतीको किनारमा गएर घाँस दुबो खोजेर खुवाउँथेँ । यो देखेपछि घरबेटीले ‘ह्या ! खसीलाई किन कोठामा राख्नुभाको, करिडोरमा छोड्दिँदा भइहाल्छ नि’ भने । मैले पनि त्यसै गरेँ ।
बिहान चार बजेतिर ब्युँझेँ । खसी के गर्दै छ भनेर बाहिर निस्कँदा ढोका खुलै थियो । तर, खसी छैन । यताउता खोजेँ । भन्नु पनि कसलाई ? मरिगए भेटिनँ । खसीसँगै बसको टिकट पनि गयो । नदीमा खोलाजस्तो मिसिन आइपुगेको सानो दसैँको सपना पनि हरायो । उता खसीको चक्करमा ढिला भएकाले बसको टिकट पाउनै महाभारत भयो । रातभर कालिमाटी गएर बसेँ । मुस्किलले बस पाएँ । तर, काठमाडौंबाट उभिएरै चन्द्रनिगाहपुर पुगेँ ।
पुँजीवादले प्रभावित चाडपर्व
पुँजीवाद कहाँ छैन ? हरेक ठाउँमा हाबी छ । दसैँ आएपछि सहरका विभिन्न ठाउँमा मेला लाग्छ । अरू वेला लाग्दा पनि त हुन्छ नि होइन ? यो पनि एउटा पुँजीवादको नमुना हो ।
पहिले डाँडाकाँडा, बतास, भिरपाखा, आकाश–प्रकाश जताततै दसैँ आउँथ्यो । सीमित घर थिए । चारैतिर हरियाली हुन्थ्यो । तर, अहिले सामाजिक सञ्जालमा टीका लगाएको, आशीर्वाद थापेको तस्बिरहरू देखाउँछन् । उत्सव मनाउने कम र देखाउने चलन धेरै आयो । जताततै पुँजीवाद हाबी भएर दसैँ टुक्रा–टुक्रा भइरहेको छ । पहिलेको जस्तो चाडबाडको संग्लोपन छैन ।
उहिले गाउँमा चिउरा खान पनि दसैँ नै पर्खनुपर्थ्याे । आमाहरूले ढिकीमा कुट्थे । अहिले सहरमा कसैलाई चिउरा दियो भने पनि खान मान्दैनन् । गाउँमा चिउरा खान पाउनु, एकाध छाक मिठो खान पाउनु वा एकफेरो लुगा लगाउन पाउनु महान् कुरा थियो । अहिले सहरमा के छैन ? सधैँ नयाँ लुगा लगाएकै छौँ । के रुच्छ भनेर होटेल–रेस्टुरेन्ट चहारेर मिठोमिठो खाएकै छौँ । पहिले दसैँमा मात्रै खानपाउने मिठो चिज अहिले दैनिक खान्छौँ । यी सबै कुराले दसैँको महत्व घटाइदिएको छ । पुँजीवादउन्मुख हाम्रो जीवनशैली छ । ऋण खोजेर भए पनि, कसैलाई देखाउनकै लागि भए पनि उत्सव मनाउने प्रतिस्पर्धा छ । प्रस्तुति : मीनराज वसन्त