Skip This
सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असोज १४ शुक्रबार
  • Saturday, 27 July, 2024
२o७९ असोज १४ शुक्रबार १५:२o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सल्यान दुर्घटनाका गम्भीर घाइतेको उपचारका क्रममा मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असोज १४ शुक्रबार १५:२o:oo

सल्यानमा गत मंगलबार भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका तिलक ओलीको उपचारका क्रममा  मृत्यु भएको छ। 

उनको मृत्युसँगै सल्यान दुर्घटनामा ज्यान गुमाउनेको संख्या नौ पुगेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। ओलीको उपचारका क्रममा गएराति शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ। 

रा.१ज ५६३ नम्बरको जिप बाँकेको ढकेरीबाट सल्यानको कपुरकोट गाउँपालिका– ६ जलवाङतर्फ जाँदै गर्दा मंगलबार बिहान २ बजे कपुरकोट गाउँपालिका– ३ मूलपानीमा दुर्घटना भएको थियो। 

सो दुर्घटनामा परी आठजनाको घटनास्थलमा नै मृत्यु भएको थियो। दुर्घटनामा ज्यान गुमाउने सबै कपुरकोट गाउँपालिका–६ जलवाङ गाउँका स्थानीय हुन्।

उनीहरू बाँकेको ढकेरीस्थित आफन्तको बिहेमा गएर फर्किने क्रममा गाउँनजिकै पुग्दा दुर्घटनामा परेका हुन्। 

दुर्घटनामा परी घटनास्थलमै ज्यान गुमाउने ४५ वर्षीय टोपबहादुर ओली, ११ वर्षीय छोरा वसन्त ओली, ४० वर्षीय ललित ओली, ४५ वर्षीया कुमारी ओली र ४५ वर्षीय धर्म ओली एउटै परिवारका सदस्य हुन्। टोपबहादुर र धर्म सहोदर दाजुभाइ हुन् भने वसन्त टोप बहादुरका छोरा हुन्।

कुमारी टोपबहादुर र धर्मकी सहोदर भाउजू हुन् भने ललित टोपबहादुरका काकाका छोरा हुन्। दुर्घटनामा ज्यान गुमाउने अर्का ७० वर्षीय खुमलाल ओली पनि १३ दिने भाइ सन्तानभित्रका पर्दछन्।

त्यस्तै, दुर्घटनामा सोही गाउँका चालक २२ वर्षीय जितबहादुर बोहरा र २७ वर्षीय सुरेश केसीको पनि मृत्यु भएको छ। 

गाडी सडकबाट करिब एक सय ५० मिटर तल खसेको थियो। चालक निदाएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। 

यसैबीच दसैँको सबैतिर रौनक सुरु भएको वेलामा यतिखेर जलवाङ गाउँ शोकमा डुबेको छ। एकै गाउँका नौजनाको मृत्युले गाउँमा सन्नाटा छाएको छ।