
गण्डकी प्रदेशमा आयोजना हुने नवौँ राष्ट्रिय खेलकुदको ट्रफी बिहीबार मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरिएको छ । ट्रफी टुरअन्तर्गत मधेस प्रदेशको ऐतिहासिक स्थल जानकी मन्दिर परिसरमा ट्रफी प्रदर्शन गरिएको हो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन भएकोमा खुसी जनाए ।
‘जानकीको पवित्र भूमिमा ट्रफी प्रदर्शन गरिएको छ, मधेस प्रदेशले ट्रफी ल्याओस् शुभकामना दिन चाहन्छु,’ उनले भने, ‘नवौँको भव्य शुभकामना दिन चाहन्छु ।’ उनले १०औँ राष्ट्रिय खेलकुद मधेस प्रदेशमा आयोजनाका लागि प्रयास गर्नेसमेत बताए ।
मधेस प्रदेशका महिला बालबालिका तथा खेलकुदमन्त्री वीरेन्द्रप्रसाद सिंहले ट्रफी मधेस प्रदेशमा आउँदा आफूहरू प्रफुल्लित भएको बताए । ‘राष्ट्रिय खेलकुद देशको गौरवको विषय हो, नवौँको सफलताका लागि कामना गर्छु,’ उनले भने । यसैबीच, राष्ट्रिय खेलकुद परिषद् (राखेप)का संरक्षक प्रधानमन्त्री शेरबहादुर देउवाले गण्डकी प्रदेशमा २८ असोजदेखि ३ कात्तिकसम्म हुने नवौँ राष्ट्रिय खेलकुद ०७९ को समापन गर्ने भएका छन् ।