१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १२:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

पोखरामा नवदुर्गाको रथारोहणसहित र्‍याली र शोभायात्रा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:१o:oo

बडादसैँको अवसरमा सोमबार पोखरामा नवदुर्गाको रथारोहणसहित र्‍याली र शोभायात्रा निकालिएको छ। विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिको आयोजनामा घटस्थापनादेखि मन्दिरपरिसरमा गरिने नवदुर्गा महोत्सवको पूर्वसन्ध्यामा महोत्सवको पहिलो दिन झाँकीसहित र्‍याली र शोभायात्रा निकालिएको हो।

मन्दिरपरिसरबाट सुरु भएको शोभायात्रा पोखराको मोहरियाटोल, भैरवटोल, भीमसेनटोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुंगा, सिद्धार्थचोक, रामकृष्णटोल, भैरवटोल, मोहरियाटोल हुँदै पुनः मन्दिरपरिसरमा पुगी सम्पन्न भएको थियो।

पोखरा– १ गाईघाटस्थित सेती नदीबाट ल्याइएको जलसहितको १०८ कलश, विन्ध्यवासिनी मन्दिरको झाँकी, भजन समूह, जातीय वेशभूषालगायत विभिन्न सांस्कृतिक झाँकीहरू, जातीय समाज, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल स्काउट, आमा समूह तथा विभिन्न धार्मिक, सामाजिक संघसंस्था, विधार्थीलगायत शोभायात्रामा सहभागी थिए।

नवदुर्गा महोत्सवअन्तर्गत मन्दिरपरिसरमा घटस्थापनाको दिनदेखि महानवमीको दिनसम्म दैनिक संगीतमय श्रीमद् देवीभागवत कथासमेत वाचन हुने समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठले जानकारी दिए। संस्कृतिको संरक्षणसँगै कार्यक्रमले विश्व शान्ति तथा मानव कल्याणको कामना र जातीय सदभाव तथा धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने श्रेष्ठले बताए। महोत्सव अवधिभर करिब दुई लाख दर्शनार्थी भित्र्याउने लक्ष्य समितिले लिएको छ।

समितिका सदस्य माधवप्रसाद पराजुलीका अनुसार विगत १६ वर्षदेखि समितिले दसैँको अवसर पारी झाँकीसहितको शोभायात्रा निकाल्दै आएको छ। साढे तीन सय वर्षको इतिहास बोकेको मन्दिरमा कास्कीसँगै आसपासका जिल्लाहरू तनहुँ, लमजुङ, स्याङ्जा, पर्वत, बाग्लुङ, गोर्खासहित काठमाडौं तथा छिमेकी देश भारतबाटसमेत दर्शनार्थी आउने गरेका छन्।

 

ad
ad