मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असोज ७ शुक्रबार १५:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संरक्षकबाटै संविधान कुल्चिनु प्रतिगमनकै निरन्तरता : प्रचण्ड 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असोज ७ शुक्रबार १५:२०:००

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संरक्षकबाट संविधान कुल्चिनु सामान्य कुरा नभएको बताएका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र)को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले संविधानको पालक र संरक्षकले नै खुलेआम संविधान मिच्ने काम गरेको बताएका हुन्। 

उनले संरक्षकबाट नै जानी–बुझी संविधान मिच्नु सामान्य कुरा नभएको भन्दै प्राप्त भएका उपलब्धिहरू खोस्ने षड्यन्त्रको रूपमा रहेको टिप्पणी गरे। 

उनले देशमा प्रतिगमनको षड्यन्त्र गत वर्षदेखि सुरु भएको उल्लेख गर्दै हालसम्म नरोकिएको बताए। उनले आफूहरूले सतर्कता गुमाएमा तथा एकतालाई कमजोर पारेमा कुनै पनि दिन प्रतिगमन हुन सक्ने खतरा रहेको दाबी गरे। 

‘म भन्न चाहन्छु– कुरा धेरै गहिरो छ। कुरा धेरै नै गहिरो छ। जुन प्रतिगमनको षड्यन्त्र गत सालदेखि सुरु भएको , त्यो रोकिएको छैन। त्यो नयाँ–नयाँ रूपमा फेरि अगाडि ल्याउने जमर्को भइराखेको छ,’ उनले भने, ‘हामीले आफ्नो सतर्कता गुमायौँ भने, हामीले हामीभित्रको एकतालाई कमजोर हुन दियौँ भने, हामीले आमकिसान, मजदुर, सुकुमबासी, सम्पूर्ण उत्पीडित वर्ग, समुदायलाई आन्दोलित गरिराख्ने, जागरुक गरिराख्ने, संगठित गरिराख्ने आफ्नो अभियानलाई रोक्यौँ भने कुनै पनि दिन प्रतिगमन हुन सक्ने खतरा छ।अहिले संविधान खुलेआम मिच्ने, संविधानको पालक र संरक्षकबाट नै जानी–बुझी संविधान मिच्ने जो काम भएको छ। यो सामान्य होइन।’

उनले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई प्रमाणीकरण नगरेकोप्रति असन्तुष्टि व्यक्त गरे। विधेयक प्रमाणीकरण नगरेर संविधान र परिवर्तनमाथि प्रहार भएको उनको भनाइ थियाे। उनले प्रतिगमनको फँणाहरू उठेको भन्दै परिवर्तनको रक्षाका लागि सडकमा जानुपर्ने आवश्यकता रहेको बताए। 

आफूलाई अस्थिरताको कारण हो भन्ने प्रचार गरिएको भन्दै सो प्रचार पनि प्राप्त राजनीतिक उपलब्धिहरू उल्ट्याउने षड्यन्त्रको रूपमा भएको उनको जिकिर थियो।