भैरहवा बसपार्कनजिकै घर भएका अरमान धुनियाँ शुक्रबार बिहान तीन बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल (जिबिआइए)को प्रस्थान कक्षमा लाइनमा भेटिए । उनी जजिरा एयरवेज चढेर भैरहवाबाट कुवेत हुँदै साउदी अरेबिया जाँदै थिए । यसअघि काठमाडौंबाट विदेश उडिरहेका उनी पहिलोपटक आफ्नै ठाउँबाट जान पाउँदा खुसी देखिन्थे । उनी भन्दै थिए, ‘काठमाडौंबाट जाँदा आर्थिक भार धेरै हुन्थ्यो, समय धेरै लाग्थ्यो, भैरहवाबाट उड्दा धेरै सहज भयो ।’
दाङ, घोराहीकी प्रतिमा चौधरी पनि पहिलो विदेश यात्रामै आफ्नै प्रदेशबाट उड्न पाउँदा खुसी देखिन्थिन् । तर, उनलाई श्रम स्वीकृति लिन र मेडिकल जाँचका लागि भने काठमाडौं नै धाउनुप¥यो । ‘सबै प्रक्रिया भैरहवाबाटै भइदिएको भए थप सहज र कम खर्चिलो पनि हुने रहेछ, यही कामका लागि १२ दिन काठमाडौं बसेर २० हजार सकेर आएँ,’ उनले भनिन्, ‘सरकारले यसतर्फ ध्यान दिनुपर्छ ।’
पौने सात बजेतिर जजिराको ‘एयरबस–३२० नियो’ अवतरण गरेपछि आगमन कक्षमा स्वदेश फर्किएका यात्रुको लाइन लाग्यो । लाइनमा थिए, बुटवल सुक्खानगरका दिलबहादुर थापा । दुबईबाट कुवेत हुँदै भैरहवा अवतरण गरेका उनी आफ्नै ठाउँमा अवतरण हुन पाउँदा निकै खुसी देखिन्थे । ‘काठमाडौं हुँदै फर्किंदा समय लाग्थ्यो, दुःख पाइन्थ्यो, आफ्नै घरआँगनमै झरेपछि खर्च पनि जोगियो,’ खुसीसहित उनको प्रश्न थियो, ‘अबको आधा घन्टामा घरमै पुग्छु, योभन्दा खुसीको कुरा के हुन्छ !’
नवलपरासीको बर्दघाटकी वसन्ती पौडेल पनि दुबईबाट कुवेत हुँदै घरनजिकैको एयरपोर्टमा अवतरण गरिन् । ‘एकदमै खुसी छु, सीधै घरमा आएजस्तो लाग्यो,’ उनले भनिन्, ‘अबको एक घन्टामा घरमै पुग्छु ।’ यो यात्रामा समयसँगै खर्च पनि बचेको उनको अनुभव छ । २ जेठदेखि सञ्चालनमा आएको विमानस्थलमा चार महिनापछि शुक्रबारदेखि दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । सुरुवातदेखि सातामा तीन दिन उडान गरिरहेको कुवेतको जजिरा एयरवेजले चार महिनापछि दैनिक उडान थालेको हो । विमानस्थल सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्ससहित कुनै पनि अन्तर्राष्ट्रिय वायुसेवाले भैरहवा उडान गर्न चासो नै देखाएका छैनन् । अहिलेसम्म जजिरा एयरवेजले मात्रै अन्तर्राष्ट्रिय विमानस्थलको इज्जत जोगाइदिएको स्थानीय पर्यटन व्यवसायीको भनाइ छ ।
सरकारले भैरहवामा अन्तर्राष्ट्रिय वायुसेवालाई आकर्षित गर्न ल्यान्डिङ, पार्किङ, नेभिगेसन, ग्राउन्ड ह्यान्डलिङलगायत सेवामा छुट दिएको छ । एउटा न्यारोबडीले भैरहवा अवतरण गर्दा प्रत्येक उडानमा साढे दुई लाख रुपैयाँ बचत गर्न सक्छन् । तैपनि, अरू वायुसेवाले चासो नदेखाएको विमानस्थल कार्यालयको भनाइ छ । नयाँ विमानस्थलमा जोखिम बढी हुँदाहुँदै पनि आफूहरूले विमानस्थल सञ्चालन हुनुपर्छ भनेर नियमित उडान गरिरहेको जजिरा एयरवेजका सेल्स एन्ड एयरपोर्ट एक्ज्युकेटिभ कसिस गुरुङ बताउँछन् ।
जजिराले काठमाडौंको तुलनामा भैरहवाबाट आठ हजार सस्तो टिकटमा यात्रुलाई भैरहवा–कुवेत सेवा दिइरहेको छ । यदि श्रम स्वीकृति, स्वास्थ्य जाँच, भिसा प्रोसेसलगायत कामहरू भैरहवबाटै भएमा वैदेशिक रोजगारीमा जाने कामदारको आर्थिक भार धेरै कम हुने देखिन्छ ।
जजिराले बोक्यो १४ हजार यात्रु
जजिराले शुक्रबारसम्म एक सय १५ उडान–अवतरणमार्फत १३ हजार आठ सय २७ यात्रुलाई सेवा दिइसकेको भैरहवा विमानस्थलका प्रवक्ता सुवास झाले बताए । जसमा ६ हजार पाँच सय ८७ यात्रु नेपाल आएका छन् भने सात हजार दुई सय ४० यात्रु बाहिरिएका छन् । ‘अब दैनिक उडान गर्दा यात्रुको संख्या पनि बढ्नेछ,’ उनले भने, ‘भैरहवामा नियमितसँगै चार्टर्ड फ्लाइट पनि बढाउन सकियो भने एयरपोर्टको सार्थकता रहन्छ ।’
३१ अर्बभन्दा बढी लगानी भइसकेको अन्तर्राष्ट्रिय एयरपोर्टमा एउटा मात्र उडान भइरहेको भन्दै चौतर्फी आलोचना भइरहेका वेलामा क्यान भैरहवामा उडान बढाउन सक्रिय भएको हो । अब अन्तर्राष्ट्रिय वायुसेवालाई ‘स्लट’ अनुमति दिँदा भैरहवा विमानस्थललाई प्राथमिकतामा राखिने सूचना अधिकारी भुलले बताए । ‘नेपालमा दैनिक तीनभन्दा बढी उडान गरिरहेका वायुसेवालाई भैरहवामा कम्तीमा एउटा उडान अनिवार्य गर्न भनेका छौँ,’ उनले भने, ‘त्यसभन्दा कम उडान गरिरहेका वायुसेवालाई व्यावसायिक अध्ययन गरेर उडान गर्न पत्राचार गरेका छौँ ।’
क्यानले सुरुवातमा विन्टर सिजनदेखि हिमालय र नेपाल एयरलाइन्सलाई भैरहवा उडान गर्न भनेको भुलले बताए । ‘हिमालयलाई भैरहवामा बेस राख्न भनेका छौँ,’ उनले भने, ‘त्यसो भयो भने उसलाई भैरहवाबाट उडान गर्न पनि सहज हुनेछ ।’ अहिले नै भैरहवालाई बेस बनाउन टेक्निकल रूपमा बलियो हुनुपर्ने हुँदा केही समय लाग्नेछ । त्यसपछि एयर अरेबिया, फ्लाई दुबई र कतार एयरले पनि भैरहवाबाट उडान गर्ने क्यानको विश्वास छ । दुबई ‘लेबर मार्केट’भन्दा पनि ‘टुरिस्ट मार्केट’ भएकाले फ्लाई दुबई भैरहवाभन्दा पोखरा उडान गर्न इच्छुक देखिएको उनको भनाइ छ ।
अहिले नेपालमा २६ वटा अन्तर्राष्ट्रिय वायुसेवाले उडान गर्दै आइरहेका छन् । जसमध्ये स्वदेशकै हिमालय एयरवेज र नेपाल वायुसेवा निगमले काठमाडौंबाट दैनिक ६–७ वटा अन्तर्राष्ट्रिय उडान गर्छन् । यस्तै, नेपालमा एयर अरेबिया, फ्लाई दुबई र कतार एयरवेजले दैनिक चारवटा उडान गरिरहेका छन् । एयर इन्डिया, विमान बंगलादेश, चाइना साउदर्न एयरलाइन्स, जजिरा एयरवेज, इन्डिगो एभिएसन, मलेसिया एयरलाइन्स, सिंगापुर एयरलाइन्स, श्रीलंकन एयरलाइन्स, भिस्टारा र थाई स्माइल एयरवेजले दैनिक एक तथा एकभन्दा बढी उडान गरिरहेको क्यानले जनाएको छ ।
पाँच वायुसेवालाई भैरहवा उडान गर्न ताकेता
चार महिनासम्म सुनसान गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सक्रियता बढाएको छ । काठमाडौंमा नियमित उडान गरिरहेका अन्तर्राष्ट्रिय वायुसेवालाई ३० अक्टोबरपछि भैरहवाबाट पनि उडान गर्न ताकेता गरेको हो । त्रिभुवन विमानस्थलमा दैनिक उडान गरिरहेका वायुसेवालाई ‘विन्टर सेड्युल’ बनाउँदा भैरहवालाई पनि समावेश गर्न निर्देशन दिएको क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
क्यानको निर्देशनबमोजिम सुरुवातमा दैनिक तीनवटाभन्दा बढी उडान गर्दै आइरहेका पाँच वायुसेवाले भैरहवाबाट अनिवार्य उडान गर्नुपर्नेछ । जसमा दुई स्वदेशी र तीन विदेशी वायुसेवा कम्पनी रहेका छन् । हिमालय, नेपाल एयरलाइन्स तथा विदेशीमा कतार एयरवेज, फ्लाई दुबई र एयर अरेबियाले दैनिक चारदेखि सातवटासम्म अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेका छन् । क्यानले ताकेता गरे पनि सम्बन्धित वायुसेवा कम्पनीले भैरहवा उडानका लागि अहिलेसम्म कुनै तयारी गरेका छैनन् ।
विजले छठदेखि उडान गर्ने
१३ कात्तिक अर्थात् छठ पर्वको दिनदेखि भैरहवामा अर्को अन्तर्राष्ट्रिय वायुसेवा थपिने भएको छ । हंगेरीको विज एयरले सातामा तीन दिन सोमबार, बुधबार र शनिबार युएई–भैरहवा उडान गर्ने अनुमति पाइसकेको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले बताए । विज एयरले राति ९–१० बजेतिर उडान गर्ने गरी स्लट पाएको छ । जजिरा र विज दुवै वायुसेवाको नेपालका लागि जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल हो । सोसाइटी ट्राभलले भैरहवाबाट अन्तर्राष्ट्रिय उडानलाई जोड दिएर ठूलो सहयोग पुर्याएको विमानस्थलका कर्मचारीको बुझाइ छ ।