१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
काठमाडौंको रत्नपार्कमा सम्साँझै सवारीसाधन नपाएपछि अलपत्र परेका सर्वसाधारण । तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २५ मंगलबार o६:२२:oo
Read Time : > 3 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

पर्यटकीय बजार २४सै घन्टा खुल्ने कहिले ? 

Read Time : > 3 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार o६:२२:oo

गृह मन्त्रालयको निर्णय ६ महिनादेखि कार्यान्वयन भएन 

पर्यटकीय क्षेत्र २४सै घन्टा खोल्न दिने गृह मन्त्रालयको निर्णय ६ महिनासम्म कार्यान्वयन हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारीहरूले गृहको निर्णय कार्यान्वयनमा चासो नदिँदा पर्यटकीय क्षेत्र सम्साँझैँ सुनसान बन्ने गरेका छन् । 

यससम्बन्धी अध्ययन कार्यदलको सिफारिसका आधारमा गत वर्ष २६ फागुनमा गृह मन्त्रालयले देशका मुख्य बजार २४सै घन्टा खोल्न दिने निर्णय गरेको थियो । मापदण्ड बनाएर निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई दिएको थियो । तर, कुनै पनि जिल्लामा यससम्बन्धी निर्णय कार्यान्वयन भएको छैन ।

गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल नेतृत्वको कार्यदलले मुख्य सहरका बजार २४सै घन्टा खुलाउन सिफारिस गरेको थियो । सोही आधारमा मन्त्रालयले यस्तो निर्णय गरी सुरक्षा प्रदान गर्न प्रहरीलाई पत्राचार गरेको थियो । निर्णय कार्यान्वयनमा ढिलाइ भइरहेकोमा गृह मन्त्रालयका अधिकारी सन्तुष्ट छैनन् ।

प्रमुख जिल्ला अधिकारीहरूले पहलकदमी लिन नसक्दा निर्णय कार्यान्वयन हुन नसकेको मन्त्रालयका प्रवक्ता सहसचिव पोखरेल बताउँछन् । ‘प्रहरीले व्यापार–व्यवसाय बन्द गराउन आयो भनेर मलाई अहिले पनि फोन आइरहेको हुन्छ,’ उनी भन्छन्, ‘निर्णय कार्यान्वयन हुन नसक्दा व्यवसायीहरूले दुःख पाएका छन्, पर्यटन क्षेत्र पनि प्रभावित भएको छ ।’ 

उपत्यकाका निश्चित ठाउँ २४सै घन्टा खुलाउन सकिन्छ : गृह मन्त्रालय
गृह मन्त्रालयले उपत्यकाका तीनै जिल्लाका निश्चित ठाउँका व्यापार–व्यवसाय २४सै घन्टा खुलाउन सकिने आकलन गरेको छ । दरबारमार्ग र ठमेल क्षेत्रका व्यवसायीले पनि लामो समयदेखि यस्तो माग गर्दै आएका छन् । तर, अहिले प्रहरीलाई खुसी बनाएर राति अबेरसम्म व्यवसाय खोल्नुपर्ने उनीहरूको बाध्यता छ । 

जिल्ला प्रशासन कार्यालय काठमाडौंले रेस्टुरेन्ट १० बजेसम्म, दोहोरी र डान्सबार १२ बजेसम्म र डिस्को बिहान चार बजेसम्म खोल्न दिने निर्णय गरेको छ । यो समयसीमा हटाउन व्यवसायीले माग गर्दै आएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारीबाट गृह मन्त्रालयमा सरुवा भएका गोविन्दप्रसाद रिजाल अहिलेको अवस्था समीक्षा गरेर नयाँ मापदण्ड लागू गर्ने बताउँछन् । ‘धेरै व्यवसायीले समय बढाइदिनुपर्‍यो भनिरहनुभएको छ,’ उनी भन्छन्, ‘हामीले पनि अध्ययन र छलफल गरिरहेका छौँ ।’ खासगरी बसपार्क, कलंकी, बानेश्वर क्षेत्रबाट समयसीमा बढाइदिन अनुरोध गरेका छन् । कलंकी तथा नयाँ बसपार्क क्षेत्रमा राति अबेरसम्म बाहिरबाट गाडी आउने र यात्रुहरूले रेस्टुरेन्टमा खाना खाने गर्छन् । 

२४सै घन्टा व्यवसाय सञ्चालन गर्ने विषयमा एकपटक व्यवसायी र सुरक्षाकर्मीसँग छलफल भइसकेको र मापदण्ड बनाउने काम जिल्ला प्रशासनबाट भइरहेको उनी बताउँछन् । ‘मापदण्ड टुंगो लगाई २४सै घन्टा सञ्चालनका लागि अनुमतिको प्रक्रिया अब छिट्टै सुरु गर्छाैँ,’ उनले भने । 

पोखरामा ६ महिनादेखि तयारी मात्रै
राति अबेरसम्म खुल्ने अर्काे पर्यटकीय क्षेत्र पोखरामा पनि ६ महिनासम्म तयारीबाहेकको थप केही काम भएको छैन । जिल्ला प्रशासन कार्यालय कास्कीले यसको मापदण्ड भने बनाइसकेको छ । 

कास्कीमा करिब एक वर्ष प्रमुख जिल्ला अधिकारीका रूपमा काम गरेर हालै ललितपुर सरुवा भएका जयनारायण आचार्य सबै क्षेत्रका व्यवसायीसँग बसेर मापदण्ड बनाई तयारीको काम भइसकेको बताउँछन् । ‘केही व्यवसायीले मापदण्ड पूरा गरिसकेका छन्, केही गर्ने क्रममा छन्,’ उनी भन्छन्, ‘मापदण्ड पूरा गरेपछि २४सै घन्टा खुलाउने प्रक्रिया अघि बढ्छ ।’ मुख्यगरी, ग्राहकको सुरक्षालाई ध्यानमा दिई मापदण्ड बनाएको उनले बताए । सबै क्षेत्र कभर हुने गरी सिसिक्यामरादेखि कर्मचारीको सुरक्षासम्मका विषयलाई मापदण्डमा राखिएको छ । 

अन्य प्रमुख सहरमा के हुँदै छ ?
काठमाडौं उपत्यकाबाहेक रूपन्देही, चितवन, सुनसरीलगायतका पर्यटकीय बजार पनि रातभरि खोल्ने गृह मन्त्रालयको योजना छ । तर, चुनावलगायतका कारण प्रमुख जिल्ला अधिकारीहरूले यस विषयलाई प्राथमिकता दिएका छैनन् । कतिपय क्षेत्रमा भने व्यवसायीकै स्वार्थले पनि रोकिएको छ । ठमेलसहितका क्षेत्र २४सै घन्टा खुला गर्दा अहिले राम्रो व्यापार गरिरहेका केही व्यवसाय प्रभावित हुने भएकाले उनीहरूले यसमा ढिला गराउन चाहेको स्रोतको भनाइ छ । 

ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भवीश्वर शर्मा व्यवस्थित तरिकाले ठमेललाई २४सै घन्टा सञ्चालनका लागि गृहकार्य भइरहेको बताउँछन् । ‘यसमा हामीले सबै पक्षसँग छलफल गरिरहेका छौैँ,’ उनले भने, ‘केही दिनपछि गृहमन्त्रीलाई समेत भेटेर यस विषयमा कुरा गर्न लागेका छौँ ।’ ठमेलमा ठूला व्यवसायीले राति अबेरसम्मै व्यवसाय चलाउने गरेका छन्, त्यही कारण रातभरि सञ्चालनको अनुमतिका विषयमा व्यवसायीबाट पनि धेरै चासो नभएको गृह मन्त्रालय स्रोत बताउँछ । 

हामी तयारी अवस्थामा छौँ : प्रहरी
नेपाल प्रहरी प्रवक्ता डिआइजी टेकप्रसाद राईले सरकारले पर्यटकीय क्षेत्र २४सै घन्टा सञ्चालन गर्ने निर्णय गरेमा सुरक्षा दिन प्रहरी तयारी अवस्थामा रहेको बताए । ‘रात्रि व्यवसायमा सुरक्षा दिन प्रहरी तयार छ,’ उनी भन्छन्, ‘यसमा प्रहरीलाई कुनै समस्या छैन ।’ अहिले जिल्ला प्रशासनबाट हुने निर्णयका आधारमा प्रहरीले समयसीमा कार्यान्वयन गर्ने उनी बताउँछन् ।

नौ बजे नै पम्प बन्द हुन्छन्, रात्रिबस चल्दैनन् 
देशको राजधानी काठमाडौंमा बजारहरू त छिट्टै बन्द गराइन्छ नै, बेलुका भएपछि सार्वजनिक यातायातका साधनसमेत पाउन मुस्किल छ । बेलुका नौ बजेपछि सवारीसाधनमा इन्धन सकिए पेट्रोल राख्ने पम्प भेटिँदैन । 

काठमाडौंमा सामान्यतया बेलुका साढे आठ बजेसम्म सार्वजनिक यातायात सञ्चालन हुने गर्छ । विगतमा काठमाडौं महानगरपालिकाको सहयोगमा रात्रिबस सञ्चालन भए पनि अहिले बन्द छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर आफू रात्रिबस सञ्चालनको पक्षमा रहेको, तर तत्कालै यससम्बन्धी योजना अघि नबढेको बताउँछन् । ‘रात्रि व्यवसायसँगै रात्रिबस पनि सञ्चालन गर्नुपर्छ भन्ने मेरो मान्यता छ,’ उनी भन्छन्, ‘तत्काल यसको तयारी नभए पनि भावी योजना बनाउने क्रममा छौँ ।’ रात्रिबस सञ्चालनका लागि राज्यका अन्य कुनै निकायबाट पनि पहल भएको छैन । रात्रिबस चलाउँदा सञ्चालन घाटा हुने भएकाले व्यवसायीले आँट गरेका छैनन् । 

निजी मात्र होइन, सुरक्षा निकायले सञ्चालन गरेका पम्पसमेत नौ बजे नै बन्द हुन्छन् । रातिको समयमा इन्धन सकिँदा सर्वसाधारण समस्यामा पर्ने गरेका छन् । छ । यही समस्या सर्वसाधारणबाट आएपछि नेपाल प्रहरीले ०७० को पुसदेखि नक्सालस्थित पेट्रोलपम्प २४ घन्टा नै सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, केही महिनासम्म मात्र त्यो निर्णय कार्यान्वयन भयो । नेपाल प्रहरीले कल्याण कोषमार्फत पम्प सञ्चालन गर्दै आएको छ । २४ घन्टा सञ्चालन गर्दा धेरै कर्मचारी राख्नुपर्ने र खर्च धान्न गाह्रो हुने भएकाले बेलुका बन्द गर्नुपरेको कल्याण शाखाका एसएसपी केदार ढकाल बताउँछन् । ‘तर, हामी कसैलाई आकस्मिक समस्या परेमा भने इन्धन दिन्छौँ,’ उनले भने, ‘एम्बुलेन्स, प्रहरीका गाडी, दमकललगायतलाई २४सै घन्टा इन्धन दिने व्यवस्था गरेका छौँ ।’
 

ad
ad