एकपटक भगवान् बुद्ध भ्रमणका क्रममा एउटा सहरमा पुगे । सहरका मुख्य प्रशासक बुद्धका प्रशंसक थिए । बुद्ध आफ्नै सहरमा आएको थाहा पाउनासाथ उनले बुद्धलाई भेटे । उनले आफ्नो सहरमा केही दिन बसेर आफ्ना नागरिकहरूलाई प्रवचन दिन बुद्धसित अनुनय गरे । बुद्धले पनि उनको अनुनयलाई स्विकारे ।
भोलिपल्टैदेखि बुद्धको प्रवचन सुरु भयो । सहरको एक भव्य सभाहलमा प्रवचन हुँदै थियो । प्रवचन सुन्न सयौँ मानिस जम्मा भएका थिए । प्रवचन सुरु हुनैलागेको थियो, श्रोता समूहबाट एकजना मानिस उठे र उनले बुद्धसँगै कुनै एक विषयमा गुनासो गरे । बुद्धले आफ्नो उत्तरले सकभर उनको चित्त बुझाउने प्रयास गरे । बुद्धको प्रवचन केही दिन चल्यो । ती गुनासोकर्ता श्रोता हरेक दिन त्यहाँ उपस्थित हुन्थे । र, हरेक दिन एउटै गुनासो दोहो¥याउँथे । बुद्ध बडो धैर्यपूर्वक तिनलाई जवाफ दिन्थे ।
हरेक दिन एउटै गुनासो सुन्दासुन्दा बुद्धलाई पनि दिक्क लाग्यो । त्यसैले, एक दिन तिनै श्रोताको उही पुरानो गुनासो सुनिसकेपछि कुनै जवाफ नदिई बुद्धले भने— आज म तपाईंहरूलाई एउटा चुटकिला सुनाउँछु । बुद्धले चुटकिला सुनाउने कुरा सुनेर सबै श्रोता शान्त भए । बुद्धले निकै रमाइलो शैलीमा एउटा चुटकिला सुनाए । सभाकक्षमा हाँसोको फोहोरा नै छुट्यो । बुद्धले फेरि त्यही चुटकिला सुनाए । यसपटक पनि थोरै मानिस हाँसे । उनले पुनः सोही चुटकिला सुनाए । तर, यसपटक हलमा कोही पनि हाँसेनन् । कसैले कुनै प्रतिक्रिया जनाएन ।
अन्त्यमा बुद्धले ती प्रश्नकर्ता श्रोतालाई सम्बोधन गर्दै भने— मित्र, अहिले मैले सुनाएको चुटकिला दोस्रो, तेस्रोपटक सुन्दा तपाईंहरूलाई दिक्क लाग्यो, तपाईंहरूले कुनै प्रतिक्रिया जनाउनुभएन । हो, त्यसैगरी तपाईंको यो पटकपटक एउटै गुनासो गरिरहने बानीले पनि यहाँ उपस्थित हुनेहरूलाई दिक्क लगाएको हुन सक्छ । आखिर पटकपटक एउटै गुनासो गरेर के नै पाइन्छ र, होइन त मित्र ? बुद्धको प्रश्नले ती श्रोता चुपचाप शिर झुकाउन बाध्य भए ।