नेपाल राष्ट्रिय फुटबल टोलीका कप्तान किरणकुमार लिम्बू (चेम्जोङ) वैवाहिक बन्धनमा बाँधिएका छन् । प्रेमिका कञ्चन निरौलासँग करिब दुई वर्षदेखिको सम्बन्धलाई विवाहमा परिणत गर्दै किरणले बुधबार हिन्दू संस्कारअनुसार लगनगाँठो कसेका हुन् ।
गत महिना किरणले माल्दिभ्समा कञ्चनलाई विवाहको प्रस्ताव राखेका थिए । उनले मैदानमै प्रेमिका निरौलालाई औँठी लगाएका थिए । नेपाली टोलीका गोलरक्षकसमेत रहेका किरणले गत साता विमानपरिचारिका निरौलासँग वैवाहिक बन्धनमा बाँधिन लागेको जनाएका थिए ।
यस सिजन किरण सम्मिलित माल्दिभ्सको माजिया स्पोर्टस् एन्ड रिक्रिएसन सेन्टरले धिवेही प्रिमियर लिग उपाधि जितेको थियो । उनी लिगको सर्वाेत्कृष्ट गोलरक्षक घोषित भएका थिए ।
११ असोजमा दशरथ रंगशालामा बंगलादेशसँग हुने मैत्रीपूर्ण खेलका लागि किरण राष्ट्रिय टोलीको प्रशिक्षणमा छन् । नेपाली टोलीमा ३२ वर्षीय किरण सर्वाधिक क्याप जित्ने खेलाडी हुन् । किरणले नेपालका लागि ८४ खेल खेलेका छन् ।