काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरूमाथिको अनुगमनलाई निरन्तरता दिएको छ । यही क्रममा सोमबार नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोलीले न्युरोडस्थित वसन्तपुर प्लाजा, ९९ मार्ट, विशाल बजार, बिरा कम्प्लेक्स, सुरज आर्केडलगायतका क्षेत्रको अनुगमन र अनधिकृत संरचना हटाउन २४ घन्टे निर्देशन दिएको छ ।
अनधिकृत संरचना हटाउने अभियानका क्रममा टोलीले सुरज आर्केडको बेसमेन्टमा सञ्चालित पसलहरू खाली गराउन व्यापारीहरूलाई समय दिएको छ । आर्केडमा बनाइएका अनधिकृत संरचना हटाउन महानगरले दुईवटा डोजर तयारी अवस्थामा राखेको छ । महानगरले ६ भदौदेखि अनधिकृत संरचनामा डोजर लगाउने, अनुगमन गर्ने र निगरानी गर्दै आइरहेको छ ।
महानगरको अनुगमनपछि बिरा कम्प्लेक्सले बेसमेन्टलाई गोदामका रूपमा मात्र प्रयोग गर्ने भएको छ । वडा २२ अध्यक्ष चिनीकाजी महर्जन, नगर प्रहरी प्रमुख पाण्डे, घरधनी राजेश श्रेष्ठबीच भएको सहमतिअनुसार बेसमेन्टलाई पसलका रूपमा प्रयोग नगरिने, बेसमेन्टबाट कुनै पनि वस्तु वा सेवाको बिक्री–वितरण गरिनेछैन । तर, बेसमेन्टमा वस्तु तथा सेवाको नमुना भण्डारण गर्न सहमति भएको महानगरले जनाएको छ ।
भवन मापदण्ड ०६४ अनुसार व्यावसायिक सार्वजनिक भवन (तारे होटेल, सिनेमा हल, थिएटर, व्यापारिक कम्प्लेक्स, नर्सिङ होम, पोलिक्लिनिक, सरकारी–अर्धसरकारी कार्यालय)का लागि जमिनको २० प्रतिशत भागमा पार्किङको व्यवस्था हुनुपर्छ । स्कुल, क्याम्पसजस्ता शैक्षिक संस्थाका लागि १५ प्रतिशत भाग छाड्नुपर्छ । नक्सा स्वीकृत हुँदा यही मापदण्डका आधारमा भएको हुन्छ ।