Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ १३ सोमबार १९:४०:००
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

१०२ रनकाे लक्ष्य भेट्न नसक्दा नेपाल पराजित

राेहितबाहेक अन्य सबै ब्याटरकाे निराशाजनक प्रदर्शन, सन्दीपको करिअरकै उत्कृष्ट बलिङ खेर गयो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ १३ सोमबार १९:४०:००

कप्तान सन्दीप लामिछानेले करिअरकै उत्कृष्ट बलिङ प्रदर्शन गरेको खेलमा नेपाल पराजित भएको छ। ब्याटिङमा फेरि एकपटक चुक्दा नेपाल केन्यासँगको चौथो टी–२० म्याच गुमाउन पुगेको हो। 

जम्मा १०२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ७ रनले पराजित भयो। नेपालले २० ओभरमा नौ विकेटको क्षतिमा ९४ रन मात्र बनाउन सक्यो। सहजै जित्न सकिने खेलमा नेपाली ब्याटरले फेरि एकपटक निराश बनाए। यो पराजयसँगै पाँच म्याचको श्रृंखला एक म्याचअघि नै जित्ने अवसर पनि नेपालले गुमायो। नेपालको पराजयसँगै श्रृंखला २–२ को अवस्थामा आइपुगेको छ। 

टस जितेर केन्याले पहिले ब्याटिङ रोजेपछि नेपाली बलरले अघिल्लो म्याचको कमजोरी सच्याउँदै निकै प्रभावकारी बलिङ गरेका थिए। नेपालको धारिलो बलिङका सामु टिक्न नसकेको केन्याले जम्मा १०१ रन बनाएको थियो। 

बलिङमा सन्दीपले टी–२० अन्तर्राष्ट्रिय करिअरकै उत्कृष्ट बलिङ गरे। पाँच विकेट लिएका उनले जम्मा ९ रन दिए। आदिल अन्सारीले २ तथा शाहब आलम र दीपेन्द्रसिंह ऐरीले १–१ विकेट लिएपछि केन्या धरासायी भएको थियो।

तर, ब्याटरले सहज लक्ष्य पनि भेट्टाउन सकेनन्। ब्याटिङतर्फ नेपालका ओपनरद्वय पवन सर्राफ आज शून्य रनमै आउट भए। डेब्यु खेलमा सबैलाई प्रभावित बनाएका अर्जुन साउद दोस्रो खेलमा ६ रनमा आउट भए। 

पवन आउट भएपछि आएका ज्ञानेन्द्र मल्लले पनि आज निराश बनाए। उनी ६ रनमै आउट हुँदा खोल चौथो ओभरमा चल्दै थियो भने नेपालको खातामा जम्मा १३ रन थियो। 

लगत्तै, यो श्रृंखलामा खासै उल्लेख्य योगदान गर्न नसकेका दीपेन्द्रसिंह ऐरी फेरि एकपटक चुके। उनले पनि जम्मा ६ रन बनाए। उनी मात्र होइन, आरिफ शेख २, सोमपाल कामी शून्य रनमा आउट भए भने आक्रामक ब्याटर आदिल अन्सारीले १५ बलमा जम्मा ८ रन बनाए। 

नेपालका लागि रोहितले ४७ रन बनाए पनि जिताउन सकेनन्। अन्तिम ओभरमा १२ रन चाहिएका वेला क्रिजमा उपकप्तान रोहित र कप्तान सन्दीप लामिछाने थिए। तर, पाँचौँ बलमा रोहित बोल्ड भएपछि नेपालको आशा समाप्त भयो।