![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/petrol2022-02-20-06-09-03.jpeg)
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ पुनः बढेर सय डलर प्रतिब्यारेलभन्दा माथि पुगेको छ । बिहीबार साँँझ ६ बजे ब्रेन्ट कच्चा तेलको भाउ १०१.४७ डलर प्रतिब्यारेल निर्धारण भएको छ ।इरानले कच्चा तेलको आपूर्ति सुरु गर्ने खबर सार्वजनिक भएसँगै साउदी अरब र तेल उत्पादक तथा निर्यातकर्ताहरूको संगठन (ओपेक)मा आबद्ध राष्ट्रले उत्पादनमा कटौती गर्ने संकेत दिएपछि अन्तर्राष्ट्रिय भाउ उकालिन थालेको हो ।
त्यस्तै, कच्चा तेलको भाउ घटेका वेला विकसित देशको आर्थिक स्थितिमा कुनै सुधार नदेखिएको हुँदा कच्चा तेलको भाउले पुरानै लय लिन लागेको विश्लेषकहरूको टिप्पणी छ ।केही विश्लेषकहरूले भने सन् २०२२ को अन्त्यसम्ममा कच्चा तेलको भाउ ६८ डलर प्रतिब्यारेलसम्म आइपुग्ने भविष्यवाणी गर्दै तेल कम्पनीहरूलाई खुसी दिएका थिए । तर, भाउ घट्न थालेको करिब डेढ महिनामै कच्चा तेलको मूल्य पनि उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ २६ जेठमा १२०.६७ डलर प्रतिब्यारेल कायम भएयता निरन्तर घट्दै आएको थियो । ३१ साउनमा ९२.१५ डलर प्रतिब्यारेलमा आइपुगेको कच्चा तेलको भाउ पुनः बिस्तारै उकालो लाग्दै एक सय डलर प्रतिब्यारेल पुगेको हो ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घट्दै गर्दा आयल निगमको घाटासमेत घटेर न्यूनतम बिन्दुमा आइपुगेको हो । डेढ महिनायता लगातार तेस्रोपटक घटेर आएको मूल्यका कारण आयल निगम पेट्रोलमा नाफा आर्जन गर्न सफल भएको थियो । जसकारण निगमको ३१ साउनदेखि १५ भदौसम्मको वासलात नै ३२ करोड रुपैयाँ घाटामा सीमित भएको थियो ।
डेढ वर्षयता निगम घाटामा
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर उकालो लाग्दा आयल निगमले स्वचालित मूल्य प्रणालीअनुसार बजार भाउ निर्धारण गर्न नसकी गत आर्थिक वर्ष ०७८/७९ मा ५० अर्ब रुपैयाँ नोक्सान व्यहोरेको थियो । अघिल्लो वर्षको सञ्चित रकम १९ अर्ब रुपैयाँसमेत तेल खरिदमा खर्च भएकाले गत आवमा निगम खुद ३१ अर्ब रुपैयाँ सञ्चित घाटामा छ । यो वर्ष पनि कच्चा तेलको भाउ निरन्तर बढ्न थालेपछि आयल निगमले सरकारबाट सात अर्ब रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकबाट तीन अर्ब रुपैयाँ ऋण लिइसकेको छ ।
अन्तर्राष्ट्रिय बजार भाउअनुसार मूल्य समायोजन हुन नसक्दा निगमले तेल बेचेको पैसा उठाएर इन्डियन आयल कर्पोरेसन (आइओसी)लाई तेल किनेको पैसा भुक्तानी गर्न सकेको छैन । निगमको नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार आइओसीलाई २३ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दै गएको पाएपछि निगमले आइओसीको बक्यौता र सरकार तथा बैंकको ऋण चाँडै तिर्ने योजना बनाएको थियो ।
हाल मासिक २०–२१ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थको खपत भइरहेको छ । अन्तर्राष्ट्रिय बजार भाउ बढ्दा तेल खरिदबापत भुक्तानी गर्नुपर्ने रकमसमेत बढेर मुद्रा सञ्चितिमा थप असर पर्ने जोखिम पनि बढेको छ । हाल करिब सात महिना (६.९४) को वस्तु तथा सेवा खरिद गर्न पुग्ने गरी नौ अर्ब ५४ करोड डलर विदेशी मुद्राको सञ्चिति रहेको छ ।