![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/chaudhar-river2022-08-25-12-01-13.jpeg)
कञ्चनपुरको बेलडाँडी गाउँपालिका– ५ इमलियास्थित चौधर नदीमा पक्की पुल बन्ने भएको छ। सुदूरपश्चिम प्रदेश सरकारले चौधर नदीमा पक्की पुल बनाउने भएपछि स्थानीयवासी खुसी भएका छन्।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दक्षिण क्षेत्रसँगै जोडिएको इमलिया बस्तीमा करिब ६ दशकअघि मानवबस्ती बसेको स्थानीय बुढापाका बताउँछन्। चुरे भएर दक्षिण बग्ने चौधर नदीमा पक्की पुल नहुँदा यहाँका नागरिक ६ दशकदेखि जोखिमपूर्ण यात्रा गर्न बाध्य थिए।
स्थानीय सुरेन्द्र रानाका अनुसार ०२४ सालमा नदी निकुञ्जको बीचजंगल भएर बग्ने गरेको थियो। उनले भने, ‘०३६ सालदेखि नदी बीचगाउँ भएर बग्न थाल्यो। नदीमा पुल नहुँदा सबै वारि नै बस्दै आएका छौँ ।’ पुल नहुँदा स्थानीय खेतबारीसमेत बेवारिसे छाड्नुपर्ने बाध्यतामा छन्। ०५१ सालदेखि नदी र गाउँको सतह बराबरी हुँदा इमलिया गाउँ विपतकाे उच्च जोखिममा पर्दै आएको छ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत चालू आर्थिक वर्ष ०७९/८० मा पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत चौधरसहित अन्य दर्जनौँ नदीमा पुल निर्माण गरिरहेको छ। कार्यालयका सूचना अधिकारी इन्जिनियर हेमराज भट्टले ठेक्का सम्झौता भइसकेका तीन पुलका योजना कार्यान्वयनका लागि एकै दिन शिलान्यास गरिएको बताए। भट्टका अनुसार चौधरसहित बेलडाँडी– ३ बेलौरी र ९ जोड्ने कमरी नाला तथा पुनर्वास– १० कमैया नालामा पुल निर्माण हुनेछ।
चौधर नदीमा पुल निर्माणका लागि मित्र बिल्डर्स प्रालिसँग १२ करोड ६६ लाख १४ हजारको सम्झौता भएको छ। उक्त पुल तीन स्पानसहित सय मिटरको हुनेछ। पुनर्वास नगरपालिका–१० लमैया नालामा पक्की पुल निर्माणका लागि वाइआर हटैराज जेभी कम्पनीले तीन करोड ३३ लाख ७९ हजारमा सम्झौता गरेको छ। उक्त पुल ०८१ असार मसान्तसम्म निर्माण गरिसक्नुपर्नेछ।
पुलको शिलान्यास गर्दै भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरीले प्रदेश सरकारबाट तीनै पालिकामा सञ्चालित हुने योजना समयमै कार्यान्वयन गर्न निर्माण कम्पनीलाई आग्रह गरे। बेलौरी नगरपालिका– ९ रतनपुर र बेलडाँडी गाउँपालिका– ३ खैरिघाट जोड्ने कमलरी किचाई नालामा पक्की पुल निर्माणका लागि स्वाँर कन्स्ट्रक्सन प्रालिले पाँच करोड २६ लाख ३१ हजार लागतमा ठेक्का लिएको छ। आगामी असार मसान्तसम्म पुल निर्माण गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ। पुल निर्माण भएसँगै दुवै पालिकाका नागरिकलाई आवतजावतमा सहज हुने बेलौरी नगरपालिका–१० का निर्वतमान अध्यक्ष शमशेरसिंह पेलाले बताए। पुल निर्माणको जिम्मा पाएका निर्माण कम्पनीले समेत समयमै पुल निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेका छन्।
प्रदेश सरकारबाट दक्षिणी क्षेत्रमा थुप्रै योजना सञ्चालित हुने भएपछि स्थानीय हर्षित भएका छन् । स्थानीयले प्रदेश सरकारले आवश्यकताका आधारमा योजना छनाेट गरेको भन्दै समयमै काम गर्नुपर्नेमा जोड दिएका छन्।