१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ भदौ ७ मंगलबार ०७:५४:००
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

ट्राभल एजेन्सीबाट सुन तस्करी, अध्यागमनमा पनि सेटिङ 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ भदौ ७ मंगलबार ०७:५४:००

भिजिट भिसामा दुबई पठाउने र सुनको लेपन भएको कपडा प्रयोग गरी सुन तस्करी

कपडामा लेपन लगाएर दुबईबाट सुन तस्करी गर्ने समूहमा काठमाडौंको एक ट्राभल एजेन्सीको संलग्नता खुलेको छ । लाजिम्पाटस्थित कान्तिपुर ट्राभल (चर्चित ट्राभल एजेन्सी कान्तिपुर होलिडे होइन) ले भिजिट भिसामा दुबई पठाउने र सुनको लेपन भएको कपडा प्रयोग गरी सुन तस्करी गर्दै आएको पाइएको छ । 

विमानस्थलस्थित भन्सार कार्यालयले कम्पनीका कर्मचारी सागर न्यौपानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । गत २९ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र भन्सार कर्मचारीले दुबईबाट फर्किएका धनबहादुर विक र रिवाज गजमेरलाई तस्करीको सुनसहित पक्राउ गरेको थियो । उनीहरूमाथि सोधपुछ गर्ने क्रममा न्यौपानेले नै दुवैलाई सुन तस्करीका लागि दुबई पठाएको खुलेको छ । सोमबहादुरसँग चार सय १८ तथा रिवाजसँग पाँच सय ५४ ग्राम सुन प्रहरीले बरामद गरेको थियो । उनीहरूले लगाएको पाइन्ट, गन्जी र भित्री वस्त्रमा सुनको लेप लगाइएको थियो, जुन कपडा गलाएर प्रहरीले सुन निकालेको थियो । 

विमानस्थलमा चेकजाँच छल्न यस्तो तरिका अपनाइएको थियो । पक्राउ परेका दुवैले ५० हजार रुपैयाँ दिने आश्वासनमा आफूहरूलाई सो कामका लागि भरियाका रूपमा प्रयोग गरिएको बयान दिएका छन् । अनुसन्धानका क्रममा थप व्यक्तिको संलग्नता खुलेको छ । यसरी तस्करी गर्ने थप व्यक्तिमाथि समेत अनुसन्धान भइरहेको विमानस्थल भन्सार कार्यालयका प्रमुख महेश भट्टराईले बताए ।

ट्राभल एजेन्सीका सञ्चालक गणेश अग्रवाल र अमिस पोखरेल नै तस्करीको मुख्य योजनाकार भएको छानबिनमा खुलेको छ । तर, दुवैजना पक्राउ परेका छैनन् । ट्राभलका कर्मचारी न्यौपानेले अग्रवालकै निर्देशनमा आफूले सो काम गरेको बयान दिएका छन् । यसअघि २०–२५ जनालाई आफूले त्यसरी भिजिट भिसामा दुबई पठाई सुन तस्करीमा लगाएको उनको बयान छ । त्यसरी जानेहरूबाट सुन भएको कपडा लिन उनी आफैँ विमानस्थल पुग्ने गर्दथे । बत्तीसपुतलीमा आएर सुनसहितको कपडा लिएपछि ५० हजार रुपैयाँ दिँदै आएका छन् । कमजोर आर्थिक अवस्था भएका युवालाई निःशुल्क रूपमा दुबई पठाउने र सुन ओसारेबापत उनीहरूलाई ५० हजार रुपैयाँसम्म दिने गरेका थिए । 

छानबिनका क्रममा अध्यागमन कार्यालयको समेत सेटिङ रहेको पुष्टि भएको छ । भिजिट भिसामा जानेलाई अध्यागमनले रोक्न सक्ने भएकाले आफूहरूले कर्मचारीसँग सेटिङ मिलाउने गरेको कान्तिपुर ट्राभलका कर्मचारी न्यौपानेले बताएका छन् । पक्राउ परेका रिवाजले पहिले नै सेटिङ भएकाले अध्यागमनमा केही नसोधी आफूलाई प्रस्थान अनुमति दिएको बताएका छन् । भन्सार स्रोतका अनुसार पक्राउ परेका व्यक्तिहरूले दुबईमा आफूहरूलाई सुनको जलप भएको कपडा दिने व्यक्तिहरूको समेत सूचना दिएका छन् । विस्तृत अनुसन्धान हुन सकेमा यसमा ठूलै गिरोह पक्राउ पर्ने सम्भावना छ । 

यसअघि पनि कपडामा लेप लगाएर सुन तस्करी गर्ने समूह पक्राउ परेको थियो । सोमबार थप केही व्यक्ति पक्राउ परेका हुन् । यी सबै घटनामा एउटै समूहको संलग्नता रहेको भन्सार स्रोत बताउँछ । धेरै घटनामा भरिया पक्राउ पर्ने तथा नाइकेहरू जोगिने भएकाले विमानस्थलबाट तस्करी निरन्तर चल्ने गरेको छ । दुबईमा भन्दा नेपालमा एक तोला सुनमा करिब १० हजार रुपैयाँ फाइदा हुने भएकाले तस्कर समूहले विभिन्न उपाय लगाई यसरी सुन तस्करी गर्दै आएका छन् ।

विमानस्थलको सुरक्षाजाँच प्रणाली कमजोर भएकाले भारतीयले समेत सुन तस्करीमा नेपाली विमानस्थल प्रयोग गर्छन् । शनिबार मलद्वारमा एक किलो सुन लुकाएर तस्करी गर्ने भारतीय राहुल रेमान पक्राउ परेका थिए । भारतको विमानस्थलभन्दा नेपालको विमानस्थलबाट तस्करी गर्न सहज हुने भएकाले आफू नेपाल हुँदै आएको उनले बताएका छन् ।