
इंग्लिस प्रिमियर लिग (इपिएल) सुरु भइसकेको छ । पहिलो तीन चरणमा अनपेक्षित नतिजा आइरहेको छ । उपाधि दाबेदार लिभरपुल र शीर्ष चारको दाबी गर्ने म्यानचेस्टर युनाइटेडले आफूअनुकूल नतिजा निकाल्न सकेका छैनन् । नयाँ सिजनमा बलियो टोली लिभरपुल र म्यानचेस्टर युनाइटेड खराब लयबाट गुज्रिरहेका छन् । तेस्रो चरणमा सोमबार राति १ बजे लिभरपुल र युनाइटेडले सामना गर्नेछ । ओल्ड ट्राफोर्डमा हुने महत्वपूर्ण खेलमा लिभरपुल र युनाइटेडको ध्यान सिजनकै पहिलो जिततर्फ हुनेछ । दुवै टोली पछिल्लो दुई खेलमा जितविहीन रहे । युनाइटेडले अंकसमेत जोडेको छैन ।
पहिलो दुई खेलमा लिभरपुलले फुलह्यामसँग २–२ र क्रिस्टिल प्यालेसबाट १–१ को बराबरीमा चित्त बुझायो । युनाइटेडको अवस्था भने लिरभपुलको भन्दा खराब छ । पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित टेन हाङको युनाइटेड दोस्रो खेलमा ४–० को लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।युनाइटेडका असन्तुष्ट १० हजारमाथि समर्थकले खेल रोक्न आग्रह गरेका छन् । पछिल्लो समय दर्शकले हस्ताक्षर गर्दै खेल रोक्न आन्दोलन गरेका हुन् । युनाइटेड मालिक जोय ग्लाजेरले समर्थकको भावनाविपरीत खेलमा चासो नदेखाई व्यपारमा मात्रै ध्यान केन्द्रित गरेको आरोप लगाएका छन् ।
२ मेमा समेत लिभरपुल र युनाइटेडको खेलमा समर्थकले खेलाडी बोक्ने बसलाई अवरुद्ध गरेपछि खेल रोकिएको थियो । समर्थकले प्रदर्शन गरेपछि पुलिसले उनीहरूलाई रोक्ने प्रयास गरेपछि सफल भएन । यसपछि मैदानमै प्रवेश गरी समर्थकले खेल रोकेका थिए । युनाइटेडका फरक समर्थक समूहले गत सिजनजस्तो समस्या हुन नदिन हवाट्सएपमा संवाद गर्दै आएका छन् । समर्थकले खेलको एक घन्टाअघिबाट गर्ने प्रदर्शनमा क्लबका लेजेन्ड जर्ज बेस्ट, डेनिस र सर बडी चार्लटनको प्रतिमा राख्ने बताएका छन् ।