मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ भदौ ५ आइतबार
  • Tuesday, 17 December, 2024
२o७९ भदौ ५ आइतबार o९:३२:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

चुनावको मुखमा कांग्रेसमा विवाद : इतर समूह दबाब बनाउँदै, संस्थापन पक्ष बेवास्ता गर्दै

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o७९ भदौ ५ आइतबार o९:३२:oo

आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसभित्र संस्थापन र इतर समूहबीच विवाद र दबाब बढ्दै छ । निर्वाचनमा आफ्नो पक्ष हाबी हुने दुवै पक्षका रणनीति छन् । 

अहिलेको पाँचदलीय गठबन्धनप्रति अनुदार डा. शेखर कोइराला–गगन थापा समूहले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा आफ्नो समूहको ४० प्रतिशत उम्मेदवारी सुनिश्चित गर्न संस्थापन पक्षमाथि दबाब बनाइरहेको छ । तर, प्रधामन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा धेरै सिटमा लड्ने नभई गठबन्धनको बलमा धेरै सिट जित्ने रणनीतिमा छन् । उनले पार्टी निर्णयमा पनि इतर समूहको आवाज बेवास्ता गर्दै आएका छन् । 

पछिल्लो डेढ महिनादेखि इतर समूहले टिकट वितरण न्यायोचित नहुने आशंकासहित १४औँ महाधिवेशनको मतका आधारमा ४० प्रतिशत टिकट आफ्नो पक्षलाई दिनुपर्ने माग राखेको छ । निर्वाचनमा तालमेल गरेर जाने निर्णयपछि अधिकतम सिट आफ्नो पक्षमा पार्न यो समूहले थप दबाबमूलक गतिविधि गर्दै आएको छ । तर, सभापति देउवाले मन्त्रिपरिषद् हेरफेरलगायत इतर समूहका माग नजरअन्दाज गर्दै आएका छन् । 

भूपेन्द्रजंग शाही -नेता, कांग्रेस
निर्वाचनमा कांग्रेसको बहुमत आउन जरुरी छ । निर्वाचनमा जाँदा कांग्रेस भावनात्मक रूपमा ‘एकमत’ र ‘एकमन’ बनाएर निर्वाचनमा जानुपर्छ । गुटगत आधारमा टिकट वितरण भएको अवस्थामा यसको असर निर्वाचनमा पनि पर्छ । निर्वाचनमा दूरी कम गरेर कांग्रेसले जित्ने गरी निर्वाचनमा जानुपर्छ । इतरको दबाब यसैको लागि हो ।

इतर समूहले संस्थापन पक्षमाथि एकपछि अर्को दबाब बनाउने रणनीति लिएपछि प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाले २९ साउनमा इतर समूहका नेता डा. कोइरालास“ग बालुवाटारमा भेट गरेका थिए । सभापति देउवाले इतरलाई मत्थर पार्न गरेको भेटमा निर्वाचन, भ्रातृ संस्था, पार्टी सञ्चालनलगायत समसामयिक विषयमा छलफल गरेका थिए । देउवाले आफूले पार्टीमा सबैलाई समेटेर लैजाने आश्वासन पनि दिएका थिए । तर, कोइराला देउवाको आश्वासनमा विश्वस्त हुन सकेनन् । ‘भेटमा धेरै कुरा भए । मुख्य कुरा कार्यान्वयन हो,’ भेटबारे कोइरालाको प्रतिक्रिया थियो ।

भेटको अर्को दिन सभापति देउवाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा दिएको अभिव्यक्तिले कोइरालास“गको भेट त्यति सकारात्मक नरहेको सन्देश दिन्छ । ३० साउनमा ललितपुरमा कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिको भेलालाई सम्बोधन गर्दै सभापति देउवाले भनेका थिए, ‘गठबन्धन गर्ने निर्णय भइसकेको छ । छलफलबाट सिट भागबन्डाको निष्कर्षमा पुग्नेछौँ । निर्वाचनमा पार्टीका साथीलाई काखापाखा र भेदभाव गर्ने नीति छैन । बढी सिटमा उम्मेदवारी दिनेभन्दा पनि बढी सिट जित्नु ठूलो हो, साथीहरूले यो बुझ्नुपर्छ ।’

इतरले दबाब बढाएपछि देउवाले रिझाउने प्रयास जारी राखेका छन् । १ भदौमा पनि डा. कोइरालासहित अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल र बलबहादुर केसीलाई बोलाएर देउवाले भेट गरेका थिए । देउवाले निर्वाचनमा एकमत भएर जानुको विकल्प नरहेको भन्दै आश्वस्त पार्न खोजेका थिए । 

कांग्रेस नेता भूपेन्द्रजंग शाहीले गुटगत आधारमा टिकट वितरण भए समस्या आउने बताए । ‘निर्वाचनमा कांग्रेसको बहुमत आउन जरुरी छ । निर्वाचनमा जाँदा कांग्रेस भावनात्मक रूपमा ‘एकमत’ र ‘एकमन’ बनाएर निर्वाचनमा जानुपर्छ । गुटगत आधारमा टिकट वितरण भएको अवस्थामा यसको असर निर्वाचनमा पनि पर्छ । निर्वाचनमा दूरी कम गरेर कांग्रेसले जित्ने गरी निर्वाचनमा जानुपर्छ । इतरको दबाब यसैको लागि हो,’ उनले भने । 

पार्टीका विभिन्न पदमा मनोनयनमा पनि देउवाले डा. कोइराला–थापा समूहको चासो सम्बोधन गरेका छैनन् । जस्तो कि २९ साउनमा देउवाले महिला संघको अध्यक्षमा मनोनयन भने, ३१ साउनमा १० जना महिला केन्द्रीय सदस्य मनोनयन हुँदा इतर समूहका दुईजना मात्रै समेटिएका थिए । इतर समूहले दबाबकै लागि १ भदौमा भ्रातृ संस्थामा आफ्नो पक्षको खबरदारी सभा गरेको थियो । 

१७ असारमा डा. कोइराला र थापाको उपस्थितिमा इतर समूह भेला गर्दै स्थानीय निर्वाचनको टिकट वितरणमा संस्थापन पक्षले बेवास्ता गरेको निष्कर्ष निकालेको थियो । त्यसपछि २५ र २६ असारमा कोइराला–थापा समूहको भेलाले नेतृत्वविरुद्ध दबाबको राजनीति सुरु गर्ने निर्णय गर्‍यो । २७ असारदेखि २ साउनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठक सबै पक्षलाई समेटर निर्णय लिन इतर समूहका नेताहरूको दबाब आयो । इतर समूहको अनिच्छाबीच २ साउनको बैठकले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय लियो । २८ साउनमा इतर समूहका दोस्रो तहका नेताको भेलाले निर्वाचनमा न्यायोचित वा ४० प्रतिशत टिकट आफ्नो पक्षलाई दिनुपर्ने माग राख्यो ।

इतर समूहले टिकट खोजेका नेताहरू 

  • डा. शेखर कोइराला
  • उपसभापति धनराज गुरुङ
  • महामन्त्री गगन थापा
  • सहमहामन्त्री बद्री पाण्डे
  • सहमहामन्त्री जीवन परियार
  • रामशरण महत
  • अर्जुननरसिंह केसी
  • बलबहादुर केसी
  • डा. चन्द्र भण्डारी 
  • मीनेन्द्र रिजाल 
  • मधु आचार्य
  • हृदयराम थानी
  • दिलेन्द्रप्रसाद बडू
  • दीपक गिरी
  • सञ्जय गौतम
  • सरिता प्रसाईं 
  • गुरुराज घिमिरे
  • अम्बरसिंह पुन
  • प्रतिम गौतम
  • भूपेन्द्रजंग शाही
  • डा. गोविन्द पोखरेल
  • जगदीश्वरनरसिंह केसी 
  • डिगबहादुर लिम्बू
  • तुलसी सुब्बा 
  • लक्ष्मण राय