माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वका लागि दलहरूले आ–आफ्नो पूर्वाग्रह त्याग्नुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित योङ कम्युनिस्ट लिग नेपालको दाेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक स्थायित्वका लागि सबै दलको भूमिका रहने बताए।
सुशासन स्थापना र देशको विकासका निम्ति सबै दलको सामूहिक भूमिकाको आवश्यकता औँल्याउँदै उनले कुन विचार र नेतृत्वबाट राष्ट्र एकताबद्ध हुन सक्छ भन्ने विषयमा मनन गर्नुपर्ने वेला आएको बताए। ‘तपाईं–हामी सबैले कुन विचार र कुन नेतृत्वबाट यो राष्ट्र एकताबद्ध हुन सक्छ, यसले देशका सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, लिंग, समुदायका भावनालाई प्रतिनिधित्व गर्न सक्छ भन्नेबारेमा चिन्तन गरौँ। मनन गरौँ, र त्यो वातावरण बनाउन आ–आफ्नो ठाउँबाट भूमिका खेलौँ,’ उनले भने।
बलिदानीका निम्ति संघर्ष गरेको नेतृत्व स्थापित भए मात्र जनताका आकांक्षा पूरा हुने भन्दै उनले माओवादीको नेतृत्वमा सरकार बन्नुपर्नेतर्फ संकेत गरे। ‘जसले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नका लागि रगतको खोलो बगायो, बलिदानका अनगिन्ती कीर्तिमान कायम गरेर एउटा निश्चित विचार शृंखलासहित यहाँ आएको नेतृत्व फेरि एकचोटि नेता र जनताको बीचमा स्थापित नगरीकन, राष्ट्रलाई ठीक ढंगले नेतृत्व नगरीकन जनता र इतिहासको आकांक्षा पूरा हुनेवाला छैन,’ अध्यक्ष प्रचण्डले भने।