मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मुना कुँवर काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ०६:२५:००
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

साउदी अरबबाट फर्केर मलेसिया जाँदै नेपाली कामदार

Read Time : > 2 मिनेट
मुना कुँवर, काठमाडाैं
२०७९ भदौ ३ शुक्रबार ०६:२५:००

वैदेशिक रोजगारीमा जाने नेपाली कामदारकोे पहिलो रोजाइमा मलेसिया पर्न थालेको छ । मलेसियाले कामदारको पारिश्रमिक र सेवा–सुविधामा वृद्धि गरेपछि नेपाली कामदारहरूको पहिलो प्राथमिकतामा मलेसिया पर्न थालेको हो । साउदी अरबमा कार्यरत कामदारहरू पनि नेपाल फर्केर मलेसिया जान थालेको वैदेशिक रोजगार विभागले जनाएको छ ।

मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी एक हजार पाँच सय मलेसियन रिंगेट (४२ हजार) पुर्‍याएको छ । त्यस्तै, दैनिक दुई घन्टा अतिरिक्त काम गर्न अनिवार्य गरिएको छ । अतिरिक्त कामका लागि पनि रोजगारदाताले पारिश्रमिक भुक्तानी गर्छन् । सामान्य कामदारले मलेसियामा अहिले मासिक ६० देखि ७० हजारसम्म कमाउन सक्नेछन् । तर, साउदी अरबले आप्रवासी कामदारलाई खानासहित न्यूनतम ज्याला एक हजार रियाल (२७ हजार नेपाली रुपैयाँ) तोकेको छ । कामदारले १० घन्टा काम गर्नुपर्छ । अतिरिक्त कामको सुविधा पनि नभएको म्यानपावर व्यवसायी संघका अध्यक्ष विमल ढकालले बताए । 

कोभिडको अवधिमा अन्य मुलुकले कडाइ गरेका कारण धेरै नेपाली कामदार साउदी अरब गएका थिए । अहिले अन्य मुलुकले पनि नेपाली कामदारलाई प्रवेशको स्वीकृति दिएपछि साउदी अरब छोड्न थालेका हुन् । साउदीमा गएका नेपाली कामदार विभिन्न बहाना बनाएर भिसा अवधि सकिनुपूर्व नै नेपाल आउने गरेको विभागका पूर्वमहानिर्देशक शेषनारायण पौडेलले बताए ।

‘सम्झौताअनुसारको पारिश्रमिक नपाइएको वा काम नभएको भन्दै नेपाली कामदारले साउदीबाट म्यानपावर नेपाल फर्काइदिनू भन्ने निवेदन विभागमा आउँछ । नेपाल आएपछि अब के गर्छौ भनेर सोध्दा मलेसिया जाने भन्छन्,’ उनले भने । कतिपय कामदार त साउदी अरबबाट काठमाडौं ओर्लिएपछि घर पनि नपुगी मलेसिया उड्ने गरेको विभागले जनाएको छ । तुलनात्मक रूपमा साउदी अरबभन्दा मलेसिया खुला छ । रमाइलो गर्न, स्वतन्त्र भएर हिँड्न पाइने सुविधा छ । त्यसैले पनि नेपाली कामदारको रोजाइमा मलेसिया पर्ने गरेको हो । 

 मलेसियन रोजगारदाता शून्य लागतमा नै कामदार लैजान तयार
मलेसियन रोजगारदाता कम्पनीहरू शून्य लागतमा नै नेपाली कामदार लैजान इच्छुक भएको पाइएको छ । अहिले नेपालमा सञ्चालित केही म्यानपावर कम्पनीले शून्य लागतमा नै कामदार मलेसिया पठाउन थालेका छन् । शून्य लागतमा नेपाली कामदार लैजाँदा मलेसियन रोजगारदाताले म्यानपावर कम्पनीलाई ६०० मलेसिया रिंगेट (१७ हजार रुपैयाँ) दिन्छन् । रोजगारदाताले कामदार घरबाट निस्केदेखि रोजगारदाताको कम्पनीमा पुग्दासम्मको सबै खर्च व्यहोर्छन् ।

मलेसियाले कामदारको पारिश्रमिक वृद्धि गरी करिब ४२ हजार पुर्‍याएको छ । तर, साउदी अरबले कामदारलाई खानासहित न्यूनतम ज्याला २७ हजार नेपाली रुपैयाँ तोकेको छ । 

 

यहाँसम्म कि उनीहरूले नेपाली कामदार घरबाट काठमाडौं आउँदासम्म लागेको बस खर्चसमेत भुक्तानी गर्ने गरेको एक व्यवसायीले बताए । तर, नेपाली म्यानपावर कम्पनीले नेपाली कामदारको यस्तो सुविधा खोस्ने गरेको उनको दाबी छ । उनका अनुसार नेपाली म्यानपावर कम्पनीका सञ्चालक मलेसियन रोजगारदाताकोमा पुगेर उल्टो कमिसन दिन्छन् र डिमान्ड ल्याउँछन् । उता दिएको कमिसन रकम कामदारबाट असुल्ने गरेको उनले बताए ।

यद्यपि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिहिन अनुगमन गरी यस्तो खालको विकृति हटाउन सम्भव भएको ती व्यवसायीको भनाइ छ । यसका लागि मन्त्रालय र विभागले नेतृत्व लिनुपर्छ । तर, विभागले गर्ने अनुगमन पनि देखावटी मात्रै हुने गरेको यो विकृति हट्न नसकेको उनले दाबी गरे ।

 शुक्रबारदेखि आप्रवासी कामदारका लागि खुला हुँदै मलेसिया
मलेसियन सरकारले आगामी शुक्रबारदेखि आप्रवासी कामदारका लागि खुला गर्ने भएको छ । मलेसिया मावन संसाधन मन्त्रालयले सूचना जारी गर्दै आप्रवासी कामदारलाई पुनः खुला गरिएको जानकारी दिएको हो । मन्त्रालयले केही दिनअगाडि संशोधित रोजगार ऐन १९५५ कार्यान्वयन ल्याउन लागेको भन्दै १५ दिन आप्रवासी कामदारका लागि मागपत्र प्रमाणीकरण स्वीकृति नगर्ने सूचना जारी गरेको थियो । तर, त्यहाँ स्थित कामदार र रोजगारदाताको अनुरोधमा मलेसियन सरकारले दुई दिनमा नै आप्रवासी आगमन खोल्ने निर्णय गरेको हो । 

मलेसियामा नेपालीलगायत भारत, बंगलादेश, श्रीलंका फिलिपिन्सलगायतका कामदार कार्यरत छन् । मलेसिया नेपाली कामदारको मुख्य गन्तव्य हो । तर, तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले बायोमेट्रिकमा घोटाला भएको भन्दै लामो समय मलेसिया रोजगारी बन्द गरिदिए । जसका कारण धेरै नेपाली कामदार मलेसिया जान पाएनन् । त्यस्तै, कोरोना भाइरसका कारण मलेसियन सरकारले नै आप्रवासी कामदारलाई रोक लगाएपछि नेपाली कामदारले पनि प्रवेश गर्न पाएनन् । तर, आगामी दिनमा भने मलेसियामा नेपाली कामदारको संख्या बढ्ने म्यानपावर व्यवसायीको अनुमान छ ।