नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले नेपालीलाई नागरिकताविहीन बनाउने अधिकार राष्ट्रपतिलाई नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथिको छलफलमा भाग लिँदै उनले जस्तोसुकै सम्मानित पद भए पनि नेपालीलाई नागरिकताविहीन, मुलुकविहीन बनाउने अधिकार नभएको बताएका हुन् ।
नागरिकता विधेयक ढुंगाको अक्षर नभएको भन्दै नेता रिजालले त्यसलाई तत्काल पारित गरेर लैजानुपर्ने धारणा राखे । केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेश ल्याउँदा राष्ट्रपतिले फिर्ता गर्न नमिल्ने तर्क गर्ने एमाले सांसदहरूले हाल आएर विधेयक फिर्ता गर्दा भने उपयुक्त छ भनेर भनेको सुन्दा आफू ‘चकित’ भएको उनकाे भनाइ थियाे ।
‘संसद्ले पारित गरेकोलाई फिर्ता गर्न मिल्ने अनि संसद् विघटन गरेर, संसद्प्रतिको उत्तरदायित्वलाई अन्त्य गरेर राष्ट्रपतिकहाँ अध्यादेश फिर्ता गर्नुहुन्न भन्ने के व्यवस्थाको कुरा गर्दै हुनुहुन्छ ? कुन लोकतान्त्रिक व्यवस्थाको कुरा गर्दै हुनुहुन्छ ? अघि सुरुमा बोल्ने माननीय सदस्य त्यही सरकारको मन्त्री हुनुहुन्थ्यो । त्यो वेला किन भन्नुभएन, आफ्नो प्रधानमन्त्रीलाई यो व्यवस्थामा जानुहुन्न भनेर,’ नेता रिजालले भने, ‘आज पास गरिएको नागरिकता विधेयक ढुंगाको अक्षर होइन । पछि अरू चिज पनि थप्न सकिन्छ । त्यो गरौँला । तर, आज यही बहानामा लाखौँ नेपालीलाई नागरिकताविहीन बनाउने, मुलुकविहीन बनाउने षड्यन्त्र गर्ने अधिकार हामीलाई छैन । कुनै व्यक्तिलाई पनि अधिकार छैन । कुनै पनि सम्मानित पदमा बसेको व्यक्ति होस् त्यो अधिकार छैन । ’
नेता रिजालले एक थरी अनुहार भएकाहरूले अर्को थरी अनुहार भएकाहरूको राष्ट्रियतामाथि प्रश्न उठाउने प्रचलन रहेको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताए ।