Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ भदौ २ बिहीबार १५:४३:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सुदूरपश्चिममा उकालो लाग्दै संक्रमणको ग्राफ

Read Time : > 1 मिनेट
२०७९ भदौ २ बिहीबार १५:४३:००

विगतका कोरोना संक्रमणको लहरमा अत्यधिक प्रभावित भएको सुदूरपश्चिममा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढेको छ । भारतबाट स्वदेश फर्कनेसँगै समुदायमा रहेका व्यक्तिहरूमा पनि संक्रमण देखिन थालेको हो । प्रदेशभरि हाल सक्रिय संक्रमितको संख्या चार सय ६६ छ ।
     
साउन पहिलो साताबाट यहाँ संक्रमण देखिन थालेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार केही दिनसम्म कैलाली, कञ्चनपुरमा मात्रै कोरोना संक्रमण देखिएको थियो, तर अहिले दार्चुलाबाहेक बाँकी सबै जिल्लामा सक्रिय संक्रमित छन् । संक्रमितमध्ये ६ जना अस्पताल भर्ना भएका निर्देशनालयले जनाएको छ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत पाँचजना संक्रमितमध्ये एकजनालाई भेन्टिलेटर र एकजनालाई आइसियूमा राखिएको छ ।
    
पछिल्लो २४ घन्टामा प्रदेशभरि ६१ जनामा कोरोना पजिटिभ देखिएको निर्देशनालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । संक्रमित देखिनेमध्ये भारतबाट फर्कनेको संख्या धेरै छ । बुधबार संक्रमण देखिएका ६१ मध्ये ४१ जना भारतबाट फर्केकाहरू हुन् । गौरीफण्टा नाकामा परीक्षण गर्दा २१ जनामा, गड्डाचौकीमा १९ जना र जुलाघाट नाकामा एकजनामा संक्रमण देखिएको हो । यहाँ मंगलबार ४५ जना र सोमबार एक सयजनामा संक्रमण पुष्टि भएको थियो ।
     
कैलालीमा सबैभन्दा बढी दुई सय ४० जना र कञ्चनपुरमा एक सय ८९ जना सक्रिय संक्रमित छन् । अहिले भारतबाट फर्कने व्यक्तिमा पनि संक्रमण पुष्टि बढ्दो छ । तर, तथ्यांक हेर्दा त्योभन्दा बढी संख्यामा यहाँ रहेकै व्यक्तिमा कोरोना पुष्टि भइरहेको देखिन्छ ।
    
कोरोना संक्रमण दर बढ्न थाले पनि स्वास्थ्यमा जटिलता देखिएर उपचारका लागि अस्पताल भर्ना हुनेको संख्या भने विगतको तुलनामा न्यून छ । अहिले मृत्यु हुने दर पनि कम देखिएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार परीक्षण गर्दा कोरोना संक्रमण देखिने दर बढे पनि अस्पताल भर्ना हुनेको संख्या भने न्यून रहेको छ । संक्रमितलाई स्वास्थ्यमा जटिलता नदेखिएको उनले बताए । 
     
प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले संक्रमण फैलन नदिनका लागि सचेतना बढाउनेसँगै परीक्षणलाई पनि बढाइएको बताए । महामारी फैलिएको अवस्थामा त्यससँग जुध्नका लागि अस्पतालहरूमा अक्सिजन प्लान्ट, भेन्टिलेटर, शय्या, जनशक्ति थप्नेलगायत कामह्ररू भएका उनको भनाइ छ । संक्रमण बढ्दै गए पनि स्वास्थ्य सावधानी भने अपनाएको पाइँदैन । सुदूरपश्चिममा हालसम्म पाँच लाख ७४ जनामा परीक्षण गर्दा ६१ हजारमा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयको तथ्यांक छ । प्रदेशभरि कोरोना संक्रमणका कारण ६ सय ३४ जनाले ज्यान गुमाएका छन् ।