मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ भदौ १ बुधबार ११:२९:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

चारपटक म्याद थप गर्दा पनि बनेन हुलाकी राजमार्ग

३० महिनामा सक्नुपर्ने काम ६५ महिना बितिसक्दा पनि सडक अधुरै 

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ भदौ १ बुधबार ११:२९:००

ठेकेदार कम्पनीको लापरबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र परेको छ । तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा निर्माण भइसक्नुपर्ने हुलाकी राजमार्ग अझै पूरा भएको छैन । अनेक बहाना बनाएर निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा सडक अधुरै रहेको छ ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलोपटक ३० महिनाका लागि सम्झौता गरिएको थियो । पहिलोपटकको म्याद सकिएर चौथोपटकसमेत म्याद थप गर्दा पनि निर्माणकार्य पूरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँपटक म्याद थपको तयारीमा छ । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लापरबाहीले दोब्बरभन्दा बढी ६५ महिना बितिसक्दा पनि सडक सम्पन्न हुन सकेन । 

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंश सिद्धिकी शाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाबीच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौताभन्दा दोब्बर समयभन्दा अवधि र चारपटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका सूचना अधिकारी पदम मडैले चारपटक म्याद थप गरेर पनि दुवै कम्पनीले सडक निर्माण पूरा नगरेको बताए ।

उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिइएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबाहंश सिद्धिकीले पाएका थिए । तर, दुवै कम्पनीले ०७९ भदौ पहिलो सातासम्ममा पनि काम गर्न सकेका छैनन् । कैलालीदेखि कञ्चनपुरको सदरमुकाम जोड्ने हिसाबले डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले कहिले कसैलाई कहिले कसैलाई दोषारोपण गर्दै म्याद थपिरहेको छ । 

सूचना अधिकारी मडैका अनुसार डोकेबजारदेखि बेलौरीसम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएको थियो । हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीबिच १ फागुन ०७३ देखि भदौ ३० सम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौताअनुरूप काम भएन । सम्झौताअनुरूप काम नसक्दा पहिलोपटक ३० चैत ०७६ सम्म म्याद थपियो, उक्त अवधिमा समेत नसक्दा दोस्रोपटक ४ साउन ७७, तेस्रोपटक २ माघ ०७७, चौथोपटक ३० चैत ०७८ मा थपिएको थियो । थपिएका चारै समयमा काम गर्न नसक्दा निर्माण कम्पनीले पाँचौँपटक म्याद थपका लागि फाइल पेस गरेको छ । पहिलो सडकमा ८० र तेस्रो खण्डमा ७५ प्रतिशत मात्रै प्रगति भएको छ । 

दोस्रो खण्डको बाबाहंश सिद्धिकी शाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाँचौँपटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि यस कम्पनीले ६५ महिना लगाएको छ ।