
सेयर बजारमापक नेप्से परिसूचक ४३ दशमलव ३५ अंकले घटेको छ । दुई दशमलव ०६ प्रतिशतले घटेर नेप्से दुई हजार ६२.८० बिन्दुमा पुगेको हो ।मंगलबार कारोबारमा आएका सबै उपसमूहका परिसूचक ऋणात्मक छन् । सेयर बजारमा प्रभुत्व राख्ने बैंकिङ उपसमूहको परिसूचक १.३१ प्रतिशतले खस्किएको छ । पाँच उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी दरले घटेको छ ।
यसरी घट्नेमा व्यापार, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य उपसमूह छन् । माइक्रो फाइनान्स उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ । होटेल तथा पर्यटन, निर्जीवन बिमा, उत्पादन, जीवन बिमा र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी दरले घटेको छ । सामूहिक लगानी कोष भने शून्य दशमलव ९५ प्रतिशत मात्र घटेको छ ।
करिब एक महिनाअघि मात्रै प्राथमिक सेयर निष्कासन गरेको हिमालयन हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । चार दिनअघि मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो । नौ दशमलव ९७ प्रतिशतले बढेर यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता दुई सय ७५ रुपैयाँ कायम भएको छ । गणपति माइक्रो फाइनान्सको सेयर मूल्यमा सबैभन्दा ठूलो गिरावट आएको छ । यो लघुवित्तको वित्तीय विवरणमा नाफा घटेको देखिएपछि सेयर मूल्यमा समेत गिरावट आएको हो ।
सबैभन्दा बढी मूल्यमा सेयर कारोबार नागरिक लगानी कोषको छ । यसको १५ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसबीच दुई अर्ब ८१ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ । ४६ हजार दुई सय ८९ पटकको कारोबारमा ६६ लाख ४६ हजार ३६ कित्ता सेयर किनबेच भएको छ । बजार पुँजीकरण २९ खर्ब ४६ अर्ब रुपैयाँ कायम
भएको छ ।