मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ श्रावण २४ मंगलबार
  • Friday, 14 August, 2026
२o७९ श्रावण २४ मंगलबार २o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बिपी प्रतिष्ठानको स्टोरमा थन्किए १० थान डायलाइसिस मेसिन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २४ मंगलबार २o:१५:oo

डायलाइसिस मेसिन अभावमा बिरामीले सेवा नपाइरहेका वेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने स्वास्थ्य मन्त्रालयले दिएका १० थान डायलाइसिस मेसिन स्टोर शाखामा थन्किएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत साउन १० गते देशभरका ठूला अस्पतालहरूलाई डायलाइसिस मेसिन पठाएको थियो।

प्रतिष्ठानको यही साउन १९ गते स्टोर शाखामा ती मेसिन दाखिला भइसकेका छन्। ती मेसिन कहाँ राखेर कसरी सञ्चालन गर्ने भनेर प्रतिष्ठान प्रशासनले योजना बनाएको छैन। स्टोर शाखाका प्रमुख सञ्जीव कर्णले भर्खरै मेसिन प्राप्त भएकाले मेसिन दाखिलाबारे अस्पताल निर्देशकलाई जानकारी गराएको बताएका छन्। उनका अनुसार प्रतिष्ठानमा हाल २० वटा मेसिन सञ्चालनमा छन्। हाल प्राप्त भएका मेसिनमध्ये केही स्पेयरमा राखेर बाँकी नयाँ जडान गर्न सकिनेछ। 

यस विषयमा अस्पताल निर्देशक जगतनारायण प्रसादसँग बुझ्न खोज्दा उनी सम्पर्कमा आएनन्। विभागसँग परामर्श गरेर आएका मेसिनलाई तत्काल जडान गरिने अस्पताल सहायक निर्देशक डा. लोकेश जैसवालले जानकारी दिए। मेसिन आएको भन्ने भर्खर मात्र जानकारी आएकाले विभागसँग छलफल हुन बाँकी रहेको उनको भनाइ थियो। प्रतिष्ठानमा डाइलोसिस इन्टर्नल मेडिसिन विभागले हेर्दै आएको छ। 

हाल २० वटा चालू अवस्थामा रहेका छन्। १० वटा नयाँ मेसिन जडानका लागि ठूलो कोठा तथा आवश्यक बेड र जनशक्तिको पनि आवश्यक पर्ने भएकाले केही समय लाग्ने प्रतिष्ठानका सहप्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए। विपी प्रतिष्ठानमा दैनिक एक सयभन्दा बढी मिर्गाैला रोगीहरूले डायलाइसिस गर्दै आएका छन्।  मेसिन अभावले उनीहरूले समयमा डायलाइसिस गर्न पाएका छैनन्। कतिपय बिरामी लामो समय पालो कुरेर बस्दा समस्यामा पर्दै आएका छन्।