मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ श्रावण २० शुक्रबार
  • Saturday, 12 July, 2025
२o७९ श्रावण २० शुक्रबार o७:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

विश्वकप आयोजनामा चार देशको संयुक्त दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ श्रावण २० शुक्रबार o७:५७:oo

 सन् २०३० मा हुने फिफा विश्वकप आयोजना गर्न चार देशले संयुक्त रूपमा दाबी प्रस्तुत गरेका छन् । अर्जेन्टिनासहित चिली, उरुग्वे र पाराग्वेले आयोजनाको दाबी गरेका हुन् । स्पेन र पोर्चुगलले समेत संयुक्त दाबी गरिरहेका छन् ।

यसै वर्षको नोभेम्बरमा कतारले फिफा विश्व कप आयोजना गर्दै छ । सन् २०२६ को विश्वकप भने अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गर्नेछन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले सन् २०२४ मा सन् २०३० को विश्वकप आयोजना देशको घोषणा गर्नेछ । बेलायत र रिपब्लिक अफ आयरल्यान्ड सन् २०३० को विश्वकप आयोजना गर्नबाट पछि हटेपछि सन् २०२८ को युरोकप आयोजना गर्ने तयारीमा छन् ।

उरुग्वेले १९३० मा पहिलो संस्करणको विश्वकप आयोजना गरेको थियो । चिलीले १९६२ मा तथा अर्जेन्टिनाले १९७८ को विश्वकप आयोजना गरेका थिए । विश्वकप सुरु भएको शताब्दी पूरा भएको वर्ष दक्षिण अमेरिकी राष्ट्रहरूले विश्वकप आयोजना गर्न चाहेका छन् । …यो महादेशको सपना हो,’ दक्षिण अमेरिकी फुटबल महासंघका अध्यक्ष अलेजान्ड्रो डोमिन्गुएजले भने ।

सन् १९३० को पहिलो संस्करणको फाइनलमा उरुग्वेले अर्जेन्टिनालाई हराएर विश्वकपको उपाधि जितेको थियो । ‘अब धेरैपटक विश्वकप आयोजना हुनेछन् तर प्रतियोगिता एकपटक मात्र सय वर्ष पुग्छ र यो जन्मभूमिमा हुन आवश्यक छ,’ डोमिन्गुएजले भने । यसैगरी उरुग्वे फुटबल संघका अध्यक्ष इग्नासियो अलोन्सोले विश्वकप सुरु भएको महादेशमा शतवार्षिक मनाउने योजना रहेको बताए ।’ विश्वकप जहाँबाट सुरु भएको थियो, सय वर्षपछि आयोजना गर्न यो सही दाबी हो,’ उनले भने ।