१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १९ बिहीबार ०७:५१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

वरीयतामा दीपेन्द्रको एक स्थान सुधार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १९ बिहीबार ०७:५१:००

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले बुधबार टी–२० वरीयता सार्वजनिक गरेको छ । आइसिसीको ब्याटिङ वरीयतामा नेपालका मध्यक्रमका ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले एक स्थान सुधार गरेका छन् ।

नयाँ वरीयताअनुुसार दीपेन्द्र ४३औँ स्थानमा छन् । दुई साताअघिको वरीयतामा उनी ४४औँ स्थानमा थिए । दीपेन्द्रले पाँच सय तीन रेटिङ अंक पाएका छन् । दीपेन्द्रले दक्षिण अफ्रिकाका इभिन लेविसलाई पछि पारेका छन् । लेविस ४४औँ स्थानमा छन् । दीपेन्द्रभन्दा अगाडि अफगानिस्तानका महमुदुल्लाह छन् । 

ब्याटिङ वरीयतामा नेपालका ओपनर कुशल भुर्तेल ४०औँ स्थानमा छन् । कुशलको वरीयतामा परिवर्तन भएको छैन । उनले पाँच सय तीन रेटिङ पाएका छन् । ३९औँ स्थानमा दक्षिण अफ्रिकाका डेभिड मिलर तथा ४१औँ स्थानमा अस्ट्रेलियाका डेभिड वार्नर छन् । ब्याटिङतर्फको वरीयतामा नेपालका आसिफ सेखले एक स्थान गुमाएका छन् । नयाँ वरीयतामा उनी ९७औँ स्थानमा रहे । दुई साताअघि वरीयता सुधार गरेका सेखले तीन सय ७४ रेटिङ अंक पाएका छन् । ब्याटिङतर्फ पाकिस्तानका बाबर आजम शीर्ष स्थानमै छन् । उनले सर्वाधिक आठ सय १८ रेटिङ अंक बटुलेका छन् । 

रोहित ८०औँ स्थानमा
एकदिवसीय वरीयतामा नेपालका मध्यक्रम ब्याट्सम्यान रोहितकुमार पौडेल ९०औँ स्थानमा छन् । उनले चार सय ६२ रेटिङ अंक जोडेका छन् । एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका आसिफ सेखले एक स्थान गुमाए । नयाँ वरीयताअनुसार उनी ९८औँ स्थानमा छन् । दुई साताअघिको वरीयतामा उनको एक स्थान वरीयता सुधार भएको थियो । सेखले यसपटक चार सय २१ रेटिङ अंक जोडेका छन् । शीर्ष स्थानमा पाकिस्तानका बाबर आजम छन् । उनले सर्वाधिक आठ सय ९२ अंक जोडे ।

 कप्तान सन्दीपको वरीयता यथावत्
टी–२० बलिङ वरीयतामा नेपालका कप्तान सन्दीप लामिछानेको स्थान यथावत् रहेको छ । सन्दीप चार सय ९० रेटिङ अंकका साथ ४१औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । सन्दीपभन्दा अगाडि अस्ट्रेलियाका काने रिचर्डसन छन् । ४२औँ स्थानमा अस्ट्रेलियाका मिचेल स्टाक छन् । बलिङ वरीयतामा नेपालका अविनाश बोहरा ९२औँ स्थानमा छन् । उनले तीन सय ९३ रेटिङ अंक पाएका छन् । जिम्बावेका सिकन्दर राजाले आठ स्थान सुधार गरी ९१औँ स्थान प्राप्त गरेका छन् । 

टी–२० बलिङ वरीयतामा अस्ट्रेलियाका जोस हेजलउड छन् । उनले सर्वाधिक सात सय ९२ अंक बटुलेका छन् । एकदिवसीय बलिङ वरीयतामा सन्दीप ३४औँ स्थानमा रहे । उनले पाँच सय ३४ रेटिङ अंक जोडे । एकदिवसीय बलिङ वरीयतामा नेपालका दुई खेलाडीले स्थान गुमाए । फास्ट बलर सोमपाल कामी र करण केसीले एक स्थान गुमाएका हुन् । आइसिसीको नयाँ वरीयतामा सोमपाल ९२औँ र करण ९४औँ स्थानमा छन् । सोमपालले तीन सय ९९ र करणले तीन सय ८७ अंक बटुलेका छन् । 

यसैगरी अलराउन्डतर्फको वरीयतामा नेपालका दीपेन्द्र नवौँ स्थानमै रहे । उनले अलराउन्डरतर्फ एक सय ५२ रेटिङ अंक जोडेका छन् । अलराउन्डरतर्फ शीर्षदेखि १२औँ स्थानसम्मका ब्याट्सम्यानका वरीयता परिवर्तन भएका छैनन् । शीर्ष स्थानमा अफगानिस्तानका मोहमद नाबी छन् । उनले सर्वाधिक दुई सय ६७ अंक जोडे । दोस्रो स्थानमा बंगलादेशका सकिब अल हसन छन् । उनले दुई सय ३२ रेटिङ अंक बटुले ।