१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार o८:४६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

जनता ठगीमा नपरून् : नेपाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o८:४६:oo

पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विकास निर्माणमा जनतालाई ठग्ने काम गर्न नहुने बताएका छन् । रौतहटका विभिन्न नगरपालिकामा निर्माण हुने महत्वपूर्ण सहरी पूर्वाधारहरूको शिलान्यासका क्रममा गौरमा आयोजित समारोहमा बोल्दै नेता नेपालले विगतमा जनता पटक–पटक ठगिएको बताए । 

कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले शिलान्यास भएका सबै योजना समयमै सकिने धारणा राखेका थिए । सहरी विकास मन्त्रालयको आर्थिक वर्ष ०७९/८० को वार्षिक विकास कार्यक्रमअनुसार विनियोजित सहरी पूर्वाधार निर्माणअन्तर्गत गौर नगरपालिका–२ मा सभाहल, राजदेवी र गौर नगरपालिकाका विभिन्न सडक कालोपत्रे तथा ढलानसम्मका योजना रहेका छन् । 

गौरमा बन्ने सभाहलको अनुमानित लागत २० करोड रहेको छ । पाँच सय सिट क्षमताको सभाहल करिब ६ कट्ठा क्षेत्रफलमा बन्नेछ । वातानुकूलित, अपांगमैत्री, भूकम्पप्रतिरोधी, आपत्कालीन द्वारहरू, वाटर फाउन्टेनसहित सुन्दर पार्कसमेत रहनेछ भने २४ महिनाभित्र निर्माण कार्य सम्पन्न गरिने जनाइएको छ । 

त्यसैगरी, गौर नपा–४ टिकुलिया मठदेखि तटबन्धसम्म र ट्रान्सफर्मर चोकदेखि मुडवलवासम्म सडक कालोपत्रे तथा सडक ढलान गर्न १२ करोड, रामजानकी विवाह मण्डप निर्माणका लागि करिब ८ करोड छुट्याइएको छ । त्यस्तै, राजदेवी नगरपालिका–१ देखि ९ सम्मका विभिन्न स्थानका सडक कालोपत्रे तथा ढलानका लागि पाँच करोड छुट्याइएको छ । 

शिलान्यास समारोहमा संघीय संसद्को विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्का, संघीय सांसद सरला यादव, मधेस प्रदेश सरकारका मन्त्री तथा प्रदेश सभाका सदस्यहरूको उपस्थिति थियो ।

ad
ad