मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार ०८:२७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

जनप्रदर्शनका लागि एमालेको तयारी तीव्र 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ श्रावण १३ शुक्रबार ०८:२७:००

एमालेले १६ साउनमा काठमाडौंमा गर्न लागेको प्रदर्शनका लागि आन्तरिक तयारी तीव्र बनाएको छ । महँगी, भ्रष्टाचार र कालाबजारीविरुद्ध एमालेले प्रदर्शन गर्न लागेको हो । दिउँसो २ बजेबाट प्रदर्शन सुरु गर्ने गरी एमालेले उपत्यकामा उपलब्ध पार्टी शक्ति परिचालित गर्न लागेको छ । यसका लागि पार्टी कार्यालय च्यासलमा बिहीबार उपत्यकाका तीनवटै जिल्ला कमिटी, उपत्यका विशेष प्रदेश कमिटी, सम्पर्क समन्वय कमिटी र जनवर्गीय संगठनका प्रमुख तथा प्रतिनिधिसहितको बैठक आयोजना गरिएको थियो । 

बैठकमा बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महँगीले जनता ठूलो मारमा परिरहेको र सरकारले यसको नियन्त्रणका लागि कुनै पहल नगरेको बताए । उनले जनप्रदर्शनबाटै सरकारलाई खबरदारी गर्नुपर्ने भएकाले राम्रो तयारीका साथ संगठित शक्तिलाई परिचालन गर्न निर्देशन दिए । त्यस्तै, महासचिव शंकर पोखरेलले पनि जनप्रदर्शन प्रभावकारी बनाउन निर्देशन दिए । ‘पार्टीको संगठित शक्ति परिचालन गरी बढीभन्दा बढी जनता सडकमा उतार्न सबै जनसंगठन र उपत्यकाभित्र रहेका सबै पार्टी कमिटीले विशेष ध्यान दिनुपर्छ ।’ पोखरेलले भने, ‘सरकारका बेथिति र गलत कामका विरुद्ध जनतालाई जागरुक बनाउने अहिलेको आवश्यकता हो । त्यसका लागि सबै आ–आफ्नो ठाउँबाट सक्रिय हुनुपर्छ ।’ 

स्थायी कमिटी सदस्य तथा जनप्रदर्शन परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा उपमहासचिव विष्णु रिमाल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, स्थायी कमिटी सदस्य काशिनाथ अधिकारीको उपस्थिति थियो ।प्रदर्शन तयारीको सिलसिलामा एमाले केन्द्रीय कार्यालयले विभिन्न चरणमा नियमित बैठकहरू आयोजना गर्दै आएको छ । महँगी र कालाबजारी नियन्त्रणका लागि सरकारले अहिलेसम्म कुनै कदम चाल्न नसकेको उसको आरोप छ । एमालेले महँगीविरुद्ध देशव्यापी जनपरिचालन र प्रदर्शन गर्न १९ असारमा सर्कुलर जारी गरेको थियो ।