१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १६:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

राप्रपा केन्द्रीय समिति बैठकमा अध्यक्ष लिङ्देनको आलोचना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:o२:oo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को चालू केन्द्रीय समिति बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले विधान मिचेर निरंकुश कार्य गरेको भन्दै युवा केन्द्रीय सदस्यहरूले विरोध जनाएका छन्।

अध्यक्षले विधान मिचेर केन्द्रीय सचिवालय गठन गरेको, हालसम्म संसदीय समिति र निर्देशन समिति गठन नगरेको, विधानविपरीत केन्द्रीय सदस्यहरू मनोनयन गरेको, आठ महिनासम्म महाधिवेशनले पास गरेको कार्यपत्रहरू कार्यकर्तालाई उपलब्ध नगराएको, सक्रिय सदस्यसम्म नभएको व्यक्तिलाई जथाभावी मनोनयन गरिएको, कर्यकर्तालाई धम्क्याउँदै कालोसूचीमा राख्नेजस्तो विषयमा उनीहरूले विरोध जनाएका छन्।

एक व्यक्ति एक पदलाई कार्यान्वयन नगरिएको आफूनिकटलाई बहुपद दिइएकोप्रति कटाक्ष गरेका छन्। नयाँ नेतृत्व आएको आठ महिनासम्म भ्रातृ संगठनहरू गठन गर्न नसकेको, गठन भएका संगठन पनि नेतृत्वको हस्तक्षेपका कारण अस्तव्यस्त भएको आरोप लगाउँदै उनीहरूले विरोध जनाएका हुन्।

गत स्थानीय निर्वाचनमा अपेक्षित मत नआएको र आउँदो संघीय निर्वाचनमा पनि तालमेलको विषय आजसम्म अगाडि नबढाइएकोप्रति युवा केन्द्रीय सदस्यहरूले आपत्ति जनाए।

आज निर्धारित बिहानीसत्रको बैठकमा पहिलो सदस्यको रूपमा टिप्पणी गर्दै केन्द्रीय सदस्य जनकराज पाठकले उल्लेखित विषयहरूबारे टिप्पणी सुरु गरेका थिए। उनीपछि ध्रुव रायमाझी, देव पराजुली, रामराज कोइराला, प्रवीण थोकर, किशोर कार्की, मोनिका श्रेष्ठ, सावित्रा क्षेत्री, हिक्मतसिंह कार्की, भरत पाठक, जगत गौचन, निरञ्जन थापा, सूर्यबहादुर सिंहलगायतले अध्यक्ष एकलौटी रूपमा अगाडि बढ्न नहुनेलगायतका टिप्पणी गरेका थिए।

केन्द्रीय सदस्य बबिता शाहीले पार्टीमा फौजदारी मुद्दा खेपिरहेका व्यक्तिलाई केन्द्रीय सदस्य मनोनयन गरेर अध्यक्षले विधानको उपहास गरेको बताइन्। त्यसैगरी, केन्द्रीय सदस्य कार्कीले विधानको ठाडो मिचाइ गर्दै अध्यक्ष हिँडिरहेको र सचिवालय प्रमुखले कार्यकर्ताको अपमान गरेको भन्दै कटाक्ष गरेका थिए।

ad
ad