१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
स्यानोन स्टिरोन
२o८१ बैशाख २५ मंगलबार ११:४३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

ब्रह्माण्ड र हाम्रो साइनो  

देश/परदेश

Read Time : > 2 मिनेट
स्यानोन स्टिरोन
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार ११:४३:oo

वेब स्पेस टेलिस्कोपले केही असाधारण तस्बिर पठाउन थालिसकेकाले अब हामी ब्रह्माण्डबारेका कठिन प्रश्नमा मात्रै सीमित हुनेछैनौँ, कुनै दिन उत्तर पनि पाउनेछौँ

हामी तारामा हुने तत्वबाट निर्मित छौँ’ खगोलविद कार्ल सागनले यो वाक्य भनिरहँदा उनी हाम्रो शरीरका सबै तत्व धेरै पहिले तारामा निर्मित भइकेको भनेर स्मरण गराउन खोज्दै थिए । उनी हामी र हाम्रा वृत्तान्त अद्भूत छौँ भनेर मानिसले थाहा पाऊन् भन्ने चाहन्थे । 

मानवताको वृत्तान्तले एक नयाँ एवं रोचक मोड तब लियो, जब हामी १३ अर्ब वर्षअघि फर्कियौँ । दुई दशकभन्दा बढीको तयारी र योजनापछि नासाले सोमबार जेम्स वेब स्पेस टेलिस्कोप (दूरदर्शी यन्त्र) बाट पहिलो तस्बिर सार्वजनिक गर्‍यो, जसले 

ब्रह्माण्डलाई इन्फ्रारेड दृष्टिबाट हामीमाझ अहिलेसम्मकै सबैभन्दा गहिरो तस्बिर प्रस्तुत गरेको छ । यो निकै गहिरो तस्बिर हब्बल टेलिस्कोपबाट यसअघि खिचिएका तस्बिरभन्दा बढी विस्तृत छ । हामी फेरि ब्रह्माण्डलाई विस्मयसाथ टोलाएर हेरिरहेका छौँ ।   

तस्बिरमा केही छिटपुट तारा देखिए पनि त्यहाँका लगभग सबै बिन्दु आकाशगंगा हुन् । तपाईं बालुवाको एक कण समातेर हातलाई पूरै तन्काएर आकाशतर्फ ठड्याउनुस्, तत्पश्चात् सो कणमा देखिने ससाना बुट्टालाई सोमबार जारी गरिएको तस्बिरको आयतन मान्न सकिन्छ । यो सूक्ष्मतामा हजारौँ आकाशगंगा छन् र हरेक आकाशगंगामा अर्बौं–खर्बौं तारामण्डल छन् र ती ताराका आफ्नै ग्रह छन् । भोलिपल्ट मंगलबारका दिन नासाले वेब टेलिस्कोपबाटै खिचिएका थप तस्बिर सार्वजनिक गरेको छ, जहाँ कारिना र साउदर्न रिङ निहारिका र साथसाथै आकाशगंगाका गुच्छा देख्न सकिन्छ ।  

यी तस्बिर साझा भएसँगै विश्वजगत्ले हेर्न पाएको छ । र, यी क्षण बलियो टेलिस्कोपको अभावले मात्र नभई हाम्रा दुर्लभ एवं अत्यन्त सकारात्मक सामूहिक अनुभवका कारण पनि असाधारण छन् । यो एक उल्लेखनीय उपलब्धि हो, जुन अन्तरिक्ष अन्वेषणले मात्र सम्भव हुन्छ, अर्थात् यसले हाम्रो जन्मजात अन्तरसम्बन्धको अनुस्मारकको काम गर्छ । यस्ता तस्बिर हेर्दा जोकोहीमा पनि निरर्थकताको भावना पनि सिर्जना गरिदिन सक्छ, किनभने यसले हाम्रो नगण्य सूक्ष्मता दर्साउँछ । 

हाम्रो शरीर र ग्रहमा मात्रै सीमित भएकाले हामी हाम्रो सानो ब्रह्माण्डीय छिमेकमा पुग्न टेलिस्कोप, यान, ग्रह अन्वेषण कार्यक्रम र अन्य संयन्त्रमा भर पर्छौं । गतसाता आएका नयाँ तस्बिरसँगै वेब टेलिस्कोपले अन्तरिक्ष अन्वेषणको नयाँ युगको थालनी गरेको छ । टेलिस्कोपका विविध प्रयोजन छन्, तर सबैभन्दा महत्वपूर्ण ब्रह्माण्डमा बाह्य जीवनको संकेतको खोजी हो । र, बाह्य जीवनको संकेतको खोजी एक्जोप्लानेट अर्थात् अन्य ताराको परिक्रमा गर्ने ग्रहबाट गरिन्छ ।    

हाम्रो ब्रह्माण्ड धुलाम्य र ग्यासयुक्त छ, त्यसकारण वैज्ञानिकलाई यी अवरोध चिर्न इन्फ्रारेड किरणको ‘वेभलेन्थ’को आवश्यकता पर्छ । ब्रह्माण्डको गहिराइ नियाल्ने इन्फ्रारेडको शक्तिका माध्यमबाट टेलिस्कोपले हाम्रो सौर्यमण्डललगायत हाम्रो ग्रह प्रणालीका रहस्य समाधान गर्ने लक्ष्य राख्नेछ । नासाका अनुसार यसले ‘अन्य तारावरपर रहेको संसार नियाल्नेछ र हाम्रो रहस्यमय संरचना एवं उत्पत्ति तथा ब्रह्माण्ड र ब्रह्माण्डमा हाम्रो अवस्थितिको अनुसन्धान गर्नेछ ।’

तस्बिरले आकाशगंगा गहिरो गरी एकअर्कामा लपेटिरहेका, विगत झल्काइरहेको र त्यसमा रहेको धुलाम्य ताराले एक ताण्डव नाच नाचिरहेको देखाउँछ । ब्रह्माण्डमा चम्किला स–साना कण छन्, अर्थात् ब्रह्माण्डीय कुचीले नयाँ तारा र त्यससँग सम्बन्धित सौर्यमण्डलको तस्बिर कोरिरहेको भान हुन्छ । तस्बिरका अति–सूक्ष्म चम्किला कणमा सम्भवतः खर्बौं ग्रह छन्, जसमा हाम्रा जस्ता ग्रह पनि छन् । 

‘हामीभित्रका केही भागलाई हाम्रो उत्पत्ति यही (ब्रह्माण्ड) हो भन्ने थाहा छ । हामी फर्कन चाहन्छौँ,’ डा. सागनले भनेका थिए । यही कारणले सम्भवतः हामी महासागर वा ब्रह्माण्डका तस्बिर हेर्दा आफूलाई अति अभिभूत महसुस गर्छौं । टेलिस्कोपको सहायताले हामी मानवताको प्राचीन इतिहाससम्म पुग्न सक्छौँ र मानवताबारे हामीले गरिरहेको किन ? कसरी ? र के हामी मात्रै हौँ ? भन्ने प्रश्नको जवाफ पाउनेछौँ ।    

मानिस स्वभावैले अन्वेषक भएको हुनाले चेतनाको विकास हुनासाथ मानिसले ताराको खोजी गर्न थाल्नु अचम्म होइन । हजारौँ वर्षदेखि मानिसले चट्टानमा तारा कोर्दै र गुफाका पर्खालमा नक्षत्रको चित्रण गर्दै आएका छन् । हामी निरन्तर आकाशतिर हेरेर हाम्रो हाड, रगत र इतिहासमा निहित ब्रह्माण्डीय नजरको अनुकरण गर्दै आएका छौँ । 

डा. सागनले भनेझैँ ‘हाम्रा लागि ब्रह्माण्ड आफैँबारे जानकारी पाउने एउटा विधि हो ।’ आकाशतिर हेर्दा हामी आफैँलाई खोज्छौँ । यस्तो संसार, जहाँ आफ्नो महत्व पत्ता लगाउन बारम्बार चुनौतीपूर्ण छ, त्यहाँ हामी आफ्नो अस्तित्वबारे बुझ्न र त्यसको अर्थ पत्ता लगाउन चाहन्छौँ । यी टेलिस्कोपले पृथ्वीमा हामीले सामना गर्ने कठिनाइका बाबजुद हाम्रो सम्बन्ध ब्रह्माण्डसँग छ भन्ने सम्भावनालाई औँल्याउँछ ।

अनलाइन एवं सुचारु वेब टेलिस्कोपले केही असाधारण तस्बिर पठाउन थालिसकेको अवस्थामा हामी कठिन प्रश्नमा मात्रै सीमित हुनेछैनौँ अर्थात् कुनै दिन हामीले उत्तर पनि पाउनेछौँ । 

हाम्रो सेरोफेरो बुझ्नु भनेको आफैँलाई बुझ्नु हो । ब्रह्माण्डलाई नियाल्नु भनेको आफ्नो इतिहासलाई नियाल्नु हो । तस्बिरका धब्बा, चक्राकृति, विचित्र आकाशगंगा हाम्रो विगतका अंश हुन् । यो हाम्रा लागि पहुँचयोग्य नभए पनि अत्यन्त महत्वपूर्ण छ । निश्चय नै हामी ताराकै तत्वबाट बनेका हाैँ । हामी यो निलो चट्टानी ग्रहमा मात्रै सीमित छैनौँ । हामी ब्रह्माण्ड हाैँ र आफैँलाई खोजिरहेका छौँ ।

(स्टिरोन खगोल विज्ञानमा काम गर्ने विज्ञान पत्रकार हुन्) 

न्युयोर्क टाइम्सबाट

ad
ad