आज अपराह्न ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा उपसभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावकले प्रस्ताव गर्ने, समर्थकले समर्थन गर्ने, उम्मेदवारको सूचीमाथि सामूहिक छलफल हुने र दर्ता क्रमअनुसार निर्णयार्थ प्रस्तुत हुनेछ
प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज निर्वाचन हुँदै छ । उपसभामुखमा सत्तारूढ गठबन्धनका तर्फबाट कांग्रेसकी सचेतक पुष्पा भुसाल गौतमको र एमालेबाट विद्या भट्टराईको उम्मेदवारी दर्ता भएको छ । ६ माघ ०७६ मा शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद रिक्त छ ।
भुसालको उम्मेदवारीमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ प्रस्तावक र एकीकृत समाजवादीका लक्ष्मीकुमारी चौधरी समर्थक छन् । त्यसैगरी भट्टराईको उम्मेदवारीमा प्रस्तावकमा शान्ता चौधरी र समर्थकमा कृष्णभक्त पोखरेल छन् । शुक्रबार दिउँसो ३ बजे बस्ने प्रतिनिधिसभा बैठकले उपसभामुखको टुंगो लगाउनेछ । भुसाल यसअघि तत्कालीन उपसभामुख तुम्बाहाङ्फेसँग ०७४ चैतमा पराजित भएकी थिइन् ।
भुसालले आफू निर्वाचित भए प्रतिनिधिसभालाई तटस्थ, स्वतन्त्र र प्रभावकारी रूपमा सञ्चालन गर्न भूमिका खेल्ने बताएकी छिन् । उनले संवैधानिक परिषद्मा पनि उपसभामुखको भूमिका रहने भन्दै इमानदारितापूर्वक काम गर्ने प्रतिबद्धता जनाइन् ।
‘संविधान कार्यान्वयनमा संसद्को प्रभावकारी भूमिका निभाउन अगाडि बढ्नेछु । संवैधानिक परिषद्मा संविधानले अपेक्षा गरेअनुसारको भूमिका निर्वाह गर्नेछु,’ उनले भनिन् । राष्ट्रिय राजनीतिसँग जोडिएका, आमनेपाली जनतासँग सरोकार राख्ने विषयमा सदनलाई प्रभावकारी ढंगले अघि बढाउन भूमिका खेल्ने पनि उनले बताइन् ।
भट्टराईले आफू निर्वाचित हुने विश्वास व्यक्त गरेकी छिन् । एमालेको निरन्तरको दबाबका कारण निर्वाचन हुन लागेकाले आफ्नो जित निश्चित भएको उनको भनाइ छ । ‘उपसभामुखमा पार्टीको कुराले मात्रै निश्चित गर्छ जस्तो लाग्दैन । धेरै मापदण्ड हुन्छन् । त्यो मापदण्ड पूरा हुने हिसाबले पार्टीले मलाई उम्मेदवार बनाएको छ,’ उनले भनिन् ।
गठबन्धन स्पष्ट बहुमतमा
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद रहेका छन् । त्यसमध्ये पनि चारजना निलम्बनमा रहेकाले उनीहरूले मत राख्न पाउनेछैनन् । बराबर अंक भएको अवस्थामा बाहेक सभामुखले पनि मत दिनेछैनन् । यस्तोमा मताधिकार प्रयोग गर्ने संख्या दुई सय ६६ हुनेछ ।
सत्तारूढ दलतर्फ कांग्रेसका ६३, माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९ तथा राष्ट्रिय जनमोर्चाका एक गरी जम्मा एक सय ५५ जना सांसद छन् । जसपा हालै राजनीतिक रूपमा विभाजित भएको छ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादीका १३ सांसदले पनि गठबन्धनकै उम्मेदवार भुसाललाई मतदान गर्ने भएका छन् । ९८ जना सांसद रहेको एमालेलाई राप्रपा, नेमकिपाका र स्वतन्त्र एक–एक सांसदले मतदान गर्ने सम्भावना छ ।