रामेछापमा १५ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा मन्थली नगरपालिका– ६ भलुवाजोरका २८ वर्षीय गोविन्द माझी रहेका छन् ।
गएको असार ५ गते बालिकालाई बिहे गर्छु भन्दै ललाइफकाई मन्थली नगरपालिका– १ बसपार्कस्थित एक गेस्टहाउसमा लगी जबर्जस्ती करणी गरेको आरोप छ ।
घटनापछि घर पुगेकी बालिकाले अभिभावकलाई घटनाबारे बताएसँगै पीडित परिवारले माझीविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए । आफूविरुद्ध प्रहरीमा जाहेरी परेको थाहा पाएपछि माझी फरार रहेका थिए ।
प्रहरीले मंगलबार छिमेकी जिल्ला सिन्धुलीको ग्वालटारबाट पक्राउ गरेको हो । उनलाई रामेछाप जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता राजु ढकालले जानकारी दिए ।