नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने श्रीलंकाको लंका प्रिमिर लिगमा आबद्ध भएका छन् । सन्दीपलाई दमुल्ला जायन्ट्सले अनुबन्ध गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् ।
जायन्ट्सले डायमन्ड क्याटेगोरीबाट सन्दीपलाई ४० हजार अमेरिकी डलरमा भित्र्याएको हो । लंका टी–२० प्रिमियर लिगमा पाँच टोलीले प्रतिस्पर्धा गर्नेेछन् । दम्बुलाले श्रीलंकन कप्तान दसुन सनाका, भानुका राजापाक्षदेखि अस्ट्रेलियाका डी आर्च सर्ट र बेन कटपङलाई पनि अनुबन्ध गरेको छ ।
लंका प्रिमियर लिगका लागि तीन सय ५३ खेलाडी अक्सनको ड्राफ्टमा थिए । यसमध्ये एक सय ८० विदेशी र एक सय ७३ खेलाडी श्रीलंकाकै थिए । सन्दीपले अहिलेसम्म बिग बास लिग (बिबिएल), इन्डियन प्रिमियर लिग (आइपिएल)सँगै विश्वका चर्चित फ्रेन्चाइज लिग खेलिसकेका छन् ।
तेस्रो संस्करणको लंका प्रिमियर लिग ३१ जुलाईदेखि २१ अगस्टसम्म चल्नेछ । प्रतियोगितामा कुल २४ खेलहरू हुनेछ । अघिल्ला दुई संस्करणको उपाधि जाफना किङ्सले जितेको थियो ।