मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नक्साविपरीत ठेकेदार कम्पनीले हालै निर्माण गरेको भैरवी गाउँपालिकाको प्रशासनिक भवन।
२०७९ असार २१ मंगलबार १७:४१:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रशासनिक भवन नक्साबमोजिम नबनाएपछि गाउँपालिकाद्वारा अस्वीकृत

Read Time : > 1 मिनेट
२०७९ असार २१ मंगलबार १७:४१:००

दैलेखको भैरवी गाउँपालिकाको प्रशासनिक भवन नक्सानुसार निर्माण नभएपछि गाउँपालिकाले उक्त भवन अस्वीकृत गरेको छ। ठेकेदार कम्पनीले भवन निर्माण कार्य सकिएको भन्दै गाउँपालिकालाई हस्तान्तरण गर्न खोजे पनि प्राविधिक त्रुटि रहेको र नक्साबमोजिम निर्माण नगरेको भन्दै भवन अस्वीकृत गरेको हो। 

झन्डै चार वर्पअघि भवन निर्माण गर्न गाउँपालिकाले ठेकेदार बखतबहादुर साहीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार करिब दुई महिनामा भवन निर्माण कार्य सक्नुपर्ने भए पनि ठेकेदार कम्पनीले पटक–पटक म्याद थपेर चार वर्षसम्म झुलाएको थियो। ०७५/७६ मा सम्पन्न गर्ने गरी प्रिफेप मोडलको उक्त भवन निर्माणको लागि गाउँपालिकाले ८८ लाख बजेट छुट्याएको थियो। तर, तोकिएको म्यादभन्दा निकै ढिलो भवन निर्माण गरेकाे ठेकेदार कम्पनीले प्राविधिक गल्ती गरेपछि गाउँपालिकाले उक्त भवन स्वीकार नगर्ने बताएको छ।
 
पुनः नक्सानुसार नै भवन निर्माण गरिदिन माग गर्दै गाउँपालिकाले ठेकेदारलाई दिनुपर्ने भुक्तानीसमेत रोकेको छ। यद्यपि, ठेकेदार कम्पनीले १५ लाख रुपैयाँ भुक्तानी भने लिइसकेको छ। गाउँपालिका स्रोतका अनुसार २०७७ असार २१ गते काम सकियो भनेर ठेकेदार कम्पनीले गाउँपालिकाको कार्यालयमा जानकारी तथा विवरण पठाएको थियो। तर प्रक्रियागत रूपमा काम भएको नदेखिएपछि गाउँपालिकाले उक्त भवन स्वीकार नगर्ने बताउँदै आएको थियो। त्यतिबेला कतिपय काम गर्न बाँकी रहेको अवस्थामा पनि ठेकेदार कम्पनीले काम पूरा गरेको भन्दै भवन हस्तान्तरण गर्न खोजेको थियो। त्यसयता उक्त भवन अलपत्र अवस्थामा छ। न त गाउँपालिकाले लिन मान्छ न त ठेकेदार कम्पनीले निर्माण कार्यमा गरेको गल्ती सच्याउन नै।

गाउँपालिकाका अनुसार भवनको भित्री भागको केही सजावटबाहेकका काम सकिएको छ। तर, भवन नक्साअनुसार भने बनेको छैन। तत्कालीन समयका इन्जिनियर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सबै परिवर्तन भएकोले उक्त विषयमा ठेकेदार र गाउँपालिकाबीच सहमति हुन सकेको छैन।

भवन निर्माणको लागतमै त्रुटि देखिएपछि रकम भुक्तानीको लागि पहल गर्न तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियरले पहल पनि गर्न सकेनन्। कन्सल्टेन्सीले बनाएको स्टिमेट नै त्रुटिपूर्ण भएको तथ्य बाहिरिएपछि कर्मचारीहरू उक्त भवन स्वीकृत गर्न डराएका छन्। निर्माण कम्पनीले समेत स्टिमेटभन्दा बाहिर गएर भवन निर्माण गरेको तथ्य बाहिरिएपछि गाउँपालिकाले उक्त भवन लिन थप अस्वीकार गरेको बताइएको छ। 

हाल गाउँपालिकाको अध्यक्षमा ठेकेदारकै श्रीमती रिता शाही निर्वाचित भएकी छिन्। यद्यपि उक्त भवन निर्माण कार्यमा भएको त्रुटिबारे अध्यक्ष शाहीलाई कर्मचारीले जानकारी गराइसकेका छन्। तर, आफ्नै श्रीमानले नक्साविपरीत निर्माण गरिसकेको भवन स्वीकृत गर्ने पक्षमा अध्यक्ष शाही लागिपरेको बुझाएको छ। अध्यक्षले पालिकाको भवन स्वीकृत गर्नको लागि कर्मचारीलाई दबाब दिन थालेपछि कर्मचारीहरू कार्यालयसमेत आउन छाडेका छन्। 

ठेकेदारले अदालती प्रक्रिया अवलम्बन गरे भवन विवादको निकास निस्कन सक्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर विश्वकर्माले बताए। पालिका अध्यक्ष शाहीले निर्माण भइसकेकोले विवाद समाधानको लागि आफू लागिपरेको बताइन्। उनले कार्यालय प्रमुखलाई जनतालाई सेवा प्रवाह गर्ने ठाउँ व्यवस्थित चाहिने भएकोले विवाद मिलाउन अनुरोध गरेको जानकारी दिइन्।