नदीजन्य पदार्थ उत्खनन तथा ओसारप्रसार गरेको आरोपमा मोरङ प्रहरीले सोमबार ९ वटा सवारीसाधन नियन्त्रणमा लिएको छ। मोरङको केराबारी गाउँपालिका वडा नम्बर ७ र ८ मा पर्ने खदम खोला र मुगु खोला, सुन्दरहरैँचा नगरपालिका वडा नम्बर ५ स्थित बुढीखोला र बेलबारी नगरपालिकामा २ मा रहेको लोहोन्द्रा खोलाबाट नदीजन्य वस्तु अवैध रूपमा उत्खनन गरेपछि ती सवारीसाधन नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी मोरङका अनुसार इलाका प्रहरी कार्यालय बेलबारीको टोलीले अवैध उत्खनन र ओसारपसारमा प्रयोग गरिएका ४ वटा टिपर, ४ वटा ट्याक्टर र १ जना एक्जाभेटरचालकलाई नियन्त्रणमा लिएको छ।
हाल ढुंगा, गिटी तथा नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध लगाइएको छ। तर, प्रतिबन्धित समयमा उत्खनन तथा ओसारपसार गरेको जानकारीपछि प्रहरीले कारबाही गरेको हो। नियन्त्रणमा लिइएका ९ वटै सवारीसाधनसहित चालकहरूलाई आवश्यक कारबाहीको लागि बेलबारी नगरपालिकाको कार्यालय र केराबारी गाउँपालिकाको कार्यालयमा पठाइएको मोरङ प्रहरीले जनाएको छ।
वन ऐनअनुसार वर्षातको महिना असारदेखि असोजसम्म खोला र वनजंगलबाट प्राकृतिक स्रोत–साधन उत्खनन र ओसारपसारमा रोक लगाइएको छ।