१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २० सोमबार ०७:०३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जुनमा भित्रिए ४७ हजार पर्यटक, आधा भारतीय : कोभिडअघिको तुलनामा ६९ प्रतिशत रिकभर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २० सोमबार ०७:०३:००

यस वर्षको जुनमा विभिन्न देशहरूबाट करिब ४७ हजार पर्यटक जहाज चढेर नेपाल घुम्न आएका छन् । यो संख्या कोभिड महामारी सुरु हुनुअघि सन् २०१९ जुनको तुलनामा ६९.३ प्रतिशत रिकभर हो । पछिल्लो समय महामारी फैलिन कम भएसँगै विदेशी पर्यटक नेपाल घुम्न आउन थालेका छन् ।

नेपाल घुम्न आएका कुल पर्यटकमध्ये आधा भारतीय हुने गरेका छन् । जुलाईमा भारतबाट मात्रै २३ हजार दुई सय ४८ पर्यटक नेपालमा आएको पर्यटन बोर्डले जनाएको छ । यो संख्या कुल पर्यटकको ४९.५ प्रतिशत हो । गर्मी बढेपछि भारतीय पर्यटकहरू नेपाल घुम्न निस्किएका छन् । अहिले विमानस्थलदेखि नै पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको घुइँचो देखिन्छ । त्यसो त भारतीय नम्बर प्लेटकै गाडी लिएर आउने पर्यटक पनि धेरै देखिने गरेका छन् ।  

चीन सरकारले आफ्ना नागरिकलाई भ्रमणका लागि खुला नगर्दा चिनियाँ पर्यटक भने आएका छैनन् । जुलाईमा चीनबाट चार सय ५१ नागरिक नेपाल आएका छन् । उनीहरू कूटनीतिक नियोगका कर्मचारी, विकासे परियोजनाका कर्मचारी तथा मजदुर हुन् । कोभिडअघि नेपालमा भारतीयपछि सबैभन्दा बढी भ्रमणमा आउने चिनियाँ नागरिक हुने गर्थे । कोभिडपछि रोकिएको चीन–नेपाल नियमित उडान पनि अझै सुरु भएका छैन । हालै मात्र चीनको कुनमिङ र छेन्दुमा काठमाडौंबाट सातामा एक–एक उडान सुरु भएको छ । चार्टर्ड उडान भनेर कोभिडमा पनि निरन्तर जारी थियो ।

सन् २०१९ को जुन महिनामा ६१ हजार तीन सय ५१ पर्यटक नेपाल आएका थिए । यस्तै, सन् २०२१ को जुनमा एक हजार एक सय ४३ र सन् २०२० मा ७६ पर्यटक नेपाल भ्रमणमा आएको पर्यटन बोर्डको तथ्यांक छ । सन् २०२० को सुरुवातदेखि नै विश्वभरि कोभिड फैलिन थालेपछि नेपालको पर्यटन पनि प्रभावित भएको थियो । सन् २०२२ को सुरुवातसँगै पर्यटक आगमनमा सुधार हुँदै गइरहेको छ । 

६ महिनामा दुई लाख ३७ हजार पर्यटक
सन् २०२२ को जनवरीदेखि जुनसम्म ६ महिनामा विभिन्न देशबाट दुई लाख ३७ हजार ६ सय ६० पर्यटक नेपाल भ्रमणमा आएका छन् । पर्यटन बोर्डका अनुसार जनवरीमा १६ हजार नौ सय ७५, फेब्रुअरीमा १९ हजार सात सय ६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ५८ हजार तीन सय ८४, मेमा ५३ हजार ६ सय आठ, जुनमा ४६ हजार नौ सय ५७ पर्यटक नेपाल भ्रमणमा आएका हुन् । यो वर्षको वसन्तकालीन ऋतुमा हिमाल चढ्ने विदेशी आरोही उल्लेख्य आउँदा पर्यटकको संख्या बढेको हो ।

जुनमा कुन देशबाट कति ?
जुन महिनामा नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा धेरै सार्क मुलुकबाट २६ हजार ३०, अमेरिकन मुलुकबाट आठ हजार नौ सय ८०, युरोपबाट चार हजार सात सय ८७ र एसियाका सार्कबाहेकका मुलुबाट दुई हजार तीन सय ६९ पर्यटक नेपाल आएका छन् । नेपाल भ्रमणमा आउने प्रमुख देशमा भारतबाट २३ हजार दुई सय ४८, बंगलादेशबाट दुई हजार ५९, बेलायतबाट दुई हजार, अस्ट्रेलियाबाट एक हजार चार सय ८२, क्यानडाबाट ६ सय २९, अमेरिकाबाट आठ हजार तीन सय ५१ पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ ।