लुम्बिनी प्रदेश सरकारको बजेट पारित भएको छ । प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको आर्थिक वर्ष ०७९/८० को बजेट बुधबारको बैठकले पारित गरेको हो । १ असारमा ०७९/८० का लागि लुम्बिनी प्रदेश सरकारले ४२ अर्ब ६३ करोड ५७ लाखको बजेट ल्याएको थियो । बजेटमा चालू खर्चतर्फ रू १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार अर्थात् कुल बजेटको ३१ दशमलव २६ प्रतिशत विनियोजन गरिएको थियो । त्यस्तै, पुँजीगत खर्चतर्फ रू २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार अर्थात् कुल बजेटको ५७ दशमलव ४१ प्रतिशत रहेको छ ।
त्यस्तै, वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, ससर्त अनुदान र विशेष अनुदानमार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि रू ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको थियो । कुल बजेटमा वित्तीय हस्तान्तरणको अंश ११ दशमलव ३३ प्रतिशत रहेको छ ।
बुधबारको बैठकमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सभामा बजेटका समबन्धमा उठेका प्रश्नहरूको जवाफ दिँदै लुम्बिनी प्रदेशको विकासका लागि योजना निर्माण गरिएको र सोहीअनुसार बजेट ल्याइएको बताए । यस्तै, आर्थिक मामिला तथा सहकारीमन्त्री कृष्णध्वज खड्काले प्रदेशका जनताको जीवनस्तरमा सुधार ल्याउँदै विकासमा योगदान पुर्याउने गरी बजेट ल्याइएको बताए।