१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १४ मंगलबार १९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौंका वडाध्यक्षविरुद्ध किर्ते मुद्दा दर्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १९:४७:oo

काठमाडौं महानगरपालिका– ४ का अध्यक्ष दिनेश महर्जनसहित तीनजनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दा दर्ता भएको छ । किर्ते हस्ताक्षर गरी एक वृद्धाको वृद्धभत्ता हिनामिना गरेको उजुरीमा मुद्दा दर्ता भएको हो। 

वडाध्यक्ष महर्जनसहित निवर्तमान अध्यक्ष मोहनबहादुर विष्ट र पूर्ववडासदस्य ध्रुव त्रिपाठीविरुद्ध मुद्दा दायर भएको हो । उनीहरूलाई पक्राउ गरेर उपस्थित गराउन जिल्ला अदालतले प्रहरीलाई पत्राचार गरेको छ। 

०७७ को असारमा स्थानीय ९६ वर्षीया चिजमाया लिम्बूको तीन महिनाको वृद्धभत्ता हिनामिना भएको हो । उनको नाममा हस्ताक्षर गरेर अन्य व्यक्तिले नै वृद्धभत्ता लगेको खुलेपछि पीडितले प्रहरीमा उजुरी दिएका थिए । त्यतिवेला विष्ट वडाध्यक्ष र महर्जन र त्रिपाठी वडासदस्य थिए। भत्ता हिनाहिनाबारे गुनासो गर्न जाँदा वडाका कर्मचारीले दुर्व्यवहार गरेपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको हो । वडा कार्यालयले भने गल्ती सच्याउँदै लिम्बूलाई वृद्धभत्ता दिने निर्णय गरिसकेको छ।  

अदालतले पक्राउ गरेर उपस्थित गर्न भने पनि तीनैजना हाल कानुनी रूपमा फरार छन् । प्रहरी वृत्त महाराजगन्जका डिएसपी प्रमेश विष्टले आफूहरूले अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिलमा केही दिनअघि नै पठाइसकेको, तर पक्राउ गर्ने पत्र प्राप्त नभएको बताए। 

वडाध्यक्ष महर्जनले आफूलाई जानकारी नै नभएको विषयमा अन्यायपूर्वक किर्ते मुद्दा दायर भएको बताए। ‘दुई वर्षअघिको त्यो घटनामा मेरो कुनै संलग्नता नै छैन, राजनीतिक प्रतिशोधका आधारमा अहिले मुद्दा दायर भएछ, पक्राउ पुर्जी पनि आएको छ भन्ने सुनेको छु, केही दिनमा आफैँ अदालतमा उपस्थित हुनेछु।’