१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
धार्मिक पर्यटक बोकेर बिहीबार जनकपुरधाम आइपुगेको भारत गौरव पर्यटक रेल ।
२०७९ असार १० शुक्रबार ०८:३४:००
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

रामायण सर्किटको पहिलो  रेल जनकपुरधाममा

Read Time : > 1 मिनेट
२०७९ असार १० शुक्रबार ०८:३४:००

गत २ अप्रिलमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवा उद्घाटन गरेका थिए

नेपाल र भारतको धार्मिक पर्यटनलाई टेवा दिने ‘रामायण सर्किट’ जोड्ने पहिलो भारतीय रेल धार्मिक पर्यटक बोकेर जनकपुर आइपुगेको छ । पाँच सय धार्मिक पर्यटक बोकेर भारत गौरव पर्यटक रेल बिहीबार दिउँसो २ बजे जनकपुर आइपुगेको हो ।

भारतको दिल्लीबाट २१ जुनमा हिँडेको रेल अयोध्या हुँदै रामायण सर्किटको दोस्रो महत्वपूर्ण स्थल जनकपुरधाममा २३ जुनमा आइपुगेको हो । रेलबाट आएका धार्मिक पर्यटकलाई मधेस प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतोसहितका साधुसन्तले स्वागत गरेका छन् । १८ दिने धार्मिक यात्रामा निस्केका यात्रुहरूले त्रेतायुगमा भगवान् राम गएका सम्पूर्ण स्थान भ्रमण गर्ने कार्यक्रम छ ।

जनकपुरधाम रामायण सर्किटको दोस्रो महत्वपूर्ण स्थल

रामायण सर्किटअन्तर्गत अयोध्यापछि नेपालको जनकपुरधाम दोस्रो महत्वपूर्ण स्थल रहेको भारतीय रेल्वेका अच्युत सिंहले बताए । उनले भने, ‘रामायण सर्किटअन्तर्गत दोस्रो स्थान जनकपुरधाम हो । जनकपुरधामपछि भारत बिहारको सितामाढी, बनारस, प्रयागराजलगायत धार्मिक स्थलको भ्रमण हुनेछ ।’ 

१८ दिने भ्रमणका लागि प्रतियात्रु ६२ हजार तीन सय ७० भारतीय रुपैयाँ रेल्वेले लिएको उनले बताए । भारतीय नागरिकबाहेक नेपाल तथा अन्य देशका नागरिक पनि रामयण सर्किट धार्मिक यात्रामा सहभागी हुन सक्नेछन् । गत २ अप्रिलमा नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा जयनगर–कुर्था रेल सेवा उद्घाटन गरेका थिए । 

सोही ब्रोड गेज ट्रकमा १८ बोगी भएको ‘भारत गौरव पर्यटक रेल’ जयनगरबाट नेपालमा प्रवेश गरेलगत्तै ठाउँ–ठाउँमा नेपाली नागरिकले स्वागत तथा अभिनन्दन गरेका थिए । चार वर्षअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुरधाम आउँदा दुवै देशबीच रामायण सर्किटको सम्झौता भएको थियो ।

रेल सञ्चालनले धार्मिक पर्यटनमा टेवा पुग्ने : मुख्यमन्त्री 

मुख्यमन्त्री राउतले रेल सञ्चालनले नेपाल र भारतको धार्मिक पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने बताए । उल्लेखनीय संख्यामा आएका भारतीय पर्यटकले जनकपुरधाम क्षेत्रमा सहयोग पुग्नुका साथै यहाँको आर्थिक स्तर वृद्धि हुने विश्वास व्यक्त गरे । यो सेवा दुवै देशका नागरिकका लागि महत्वपूर्ण हुने मुख्यमन्त्री राउतको भनाइ छ । उनले यसको निरन्तरतामा जोड दिनुपर्ने बताए ।