मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ८ बुधबार ०९:३८:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

विश्व बैंकको क्षेत्रीय कार्यालय नेपालमा  

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ८ बुधबार ०९:३८:००

अर्थमन्त्रीले भने– विश्व बैंकबाट नेपालले अझ बढी लाभ लिने विश्वास छ

अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रबन्ध निर्देशक मारी अल्का मान्जेस्तुले काठमाडौंको दरबारमार्गस्थित पुनर्निर्माणपश्चात् तयार भएको विश्व बैंकको नयाँ क्षेत्रीय कार्यालयको मंगलबार संयुक्त रूपमा उद्घाटन गरेका हुन् । यो कार्यालयको उद्घाटनपश्चात् श्रीलंकामा अवस्थित उपक्षेत्रीय कार्यालय विधिवत् रूपमा नेपालमा सरेको छ । अब यही कार्यालयबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको कार्य सञ्चालन हुनेछ ।

कार्यक्रममा विश्व बैंक नेपालको भरपर्दो विकास साझेदार भएको र सहयोग अझ बढ्दै गएको अर्थमन्त्री शर्माले बताए । ‘सन् १९६९ मा विश्व बैंकबाट पहिलोपटक १७ लाख अमेरिकी डलरबराबरको सहयोग लिएकोमा हाल विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित २५ आयोजनाहरूमा करिब तीन अर्ब अमेरिकी डलरबराबरको प्रतिबद्धता प्राप्त भइसकेको छ,’ उनले भने ।

नेपालमा विश्व बैंकको वित्तीय सहयोगमा सञ्चालित परियोजनाका संख्या २५ पुगेका छन् । ती आयोजनामा करिब तीन अर्ब अमेरिकी डलरबराबरको सहयोग प्रतिबद्धता प्राप्त भइसकेको छ ।

नयाँ क्षेत्रीय कार्यालयको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि भरपर्दो साझेदारका रूपमा रहिआएको बताए । कार्यालयको विस्तार र स्तरोन्नतिसँगै संस्थामा काम गर्ने कर्मचारीको जिम्मेवारी पनि बढ्ने मन्त्री शर्माले विश्वास व्यक्त गरे । ‘विश्व बैंकले वित्तीय स्रोतलगायत ज्ञान, अनुभव र विश्वव्यापी असल अभ्यास पनि आदान–प्रदान गर्छ । विश्व बैंक अनुभवी र विषयविज्ञले भरिएको संस्थाका रूपमा चिनिँदै आएको छ,’ उनले भने, ‘त्यसको लाभ नेपालले पनि लिने विश्वास गरेको छु ।’

विश्व  बैंकअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगमले सन् २००७ देखि नेपालमा काम सुरु गरेको र यसले निजी क्षेत्रको सहयोग तथा सहजीकरण गर्ने भएकाले नेपालका निजी क्षेत्रसमेत लाभान्वित हुने विश्वास लिएको मन्त्री शर्माले बताए । नयाँ क्षेत्रीय कार्यालय अन्तर्राष्ट्रिय मापदण्डमा आधारित भई निर्माण सम्पन्न गरेको विश्व बैंकले जनाएको छ ।