मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार ५ आइतबार १७:४४:००
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

विनोद शाही हत्या प्रकरण : १६ दिन बित्यो, अपराधी ‘अज्ञात’

किटानी जाहेरी परेका पाँचजना पक्राउ, मेयरसहित आठ फरार

Read Time : > 3 मिनेट
२०७९ असार ५ आइतबार १७:४४:००

गत जेठ १६ गते कुच्चीका महेन्द्र शाही, देवेन्द्र शाही र गंगाबहादुर शाहीको दुई समूहबीच गाउँमा झडप भयो। झडपमा दुवै पक्षका युवाहरू घाइते भए। झडपमा संलग्नलाई पक्राउ गर्न १७ गते मात्रै प्रहरी गाउँमा पुग्दा अधिकांश युवाहरू भागिसकेका थिए। केहीलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय प्रतिकारमा उत्रेपछि प्रहरीले गर्भवती महिला र बालबालिकालाई समेत धरपकड गर्दै केही युवाहरूलाई नियन्त्रणमा लियो। १७ गते गाउँमा प्रहरी पुग्दा भागेका सबै युवाहरू १९ गते सम्पर्कमा आए। तर, पञ्चदेवल विनायक नगरपालिका– ४ कुच्चीको रिठारुख टोलका बलबहादुर शाहीका १५ वर्षीय छोरा विनोद शाही भने सम्पर्कमा आएनन्।

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतदानका वेला कुच्ची स्वास्थ्य चौकी मतदान केन्द्रमा एमाले, एकीकृत समाजवादी र कांग्रेसका कार्यकर्ताबीच ‘फेकभोट’का विषयमा झडप भएको थियो। त्यसदिन कांग्रेसकी दुर्गाकुमारी शाहीले धेरैपटक अन्य व्यक्तिका नाममा मतदान गरेको एमाले र समाजवादीको आरोप छ भने एमाले र समाजवादीले मतदानमा अवरोध गरेको कांग्रेसको आरोप छ। सोही विषयलाई लिएर जेठ १६ गते कुच्चीको एक चिया पसलमा युवाहरूबीच विवाद भएको थियो।

विवादकै क्रममा १७ गते राति प्रहरी गाउँमै रहेका वेला साढे ९ बजेतिर बेपत्ता भएका विनोद २१ गते बिहान गाउँ नजिकैको भिरमा मृत अवस्थामा भेटिए। टाउको फुटेको, घाँटी रेटिएको र दुवै खुट्टामा चोट लागेर आधा सडेको अवस्थामा बिहान १० बजेतिर भिरमा शव भेटिएको मृतकका दाजु बखतबहादुर शाहीले बताए।

जेठ १६ र १७ गतेको दोहोरो झडपलाई लिएर मृतक विनोदसहित एमाले र समाजवादीनिकट युवाहरूलाई सार्वजनिक अपराधअन्तर्गत मुद्दा चलाउन पञ्चदेवल विनायक नगरपालिकाका मेयर अम्बिका चलाउनेसहित कांग्रेस नेताहरू जेठ १८ गतेदेखि नै पटक-पटक जिल्ला प्रशासन कार्यालय पुगेको पीडित पक्षको दाबी छ। तर, २१ गते विनोदको शव भेटिएपछि भने मेयर चलाउनेसहित आठजना फरार छन्। पीडित पक्षले मेयर चलाउने र जिल्ला समन्वय समिति उपप्रमुख दानमती शाहीसहितका १३ जना विरुद्ध किटानी जाहेरी दर्ता गरेपछि उनीहरू फरार रहेकाे प्रहरीले बताएको छ।

प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार जिल्ला अदालत अछामबाट १३ जनाकै नाममा पक्राउ पुर्जी जारी भएपछि पाँचजनालाई नियन्त्रणमा लिइएको छ भने अरू सबै फरार छन्। पक्राउ परेका पाँचमध्ये तीनजना कैलालीबाट समातिएका हुन्। ‘फरार सबैको खोजी भइरहेको छ,’ प्रहरी निरीक्षक बिष्टले भने, ‘हामी अनुसन्धानमै छौँ। अहिले नै अपराध पुष्टि भएको छैन। अपराधी अज्ञात नै छन्। पक्राउ परेकाले पनि अपराध स्विकारेको अवस्था होइन।’ उनका अनुसार अहिले नियन्त्रणमा रहेका महेन्द्र शाही, देवेन्द्र शाही, रामबहादुर शाही, वीरेन्द्र शाही र पृथ्वी शाहीलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ।

फरार रहेका मेयर चलाउने र जिल्ला समन्वय समितिकी उपप्रमुख शाही तथा वडा नम्बर ४ का पूर्ववडाध्यक्ष सर्जन शाहीसहित वडा नम्बर ४ कै नेत्र शाही, द्रोपती शाही, शान्ति शाही, कर्णबहादुर शाही र अक्कल शाहीको खोजी भइरहेको उनले बताए। घटनाको अनुसन्धानमा पीडित पक्षले भने सहयोग नगरेको प्रहरीको गुनासो छ। ‘उहाँहरूले सुरुदेखि नै अनुसन्धानमा सहयोग गर्नुभएन,’ प्रहरी निरीक्षक बिष्टले भने, ‘शव उठाउने, पोस्टमार्टम गर्ने कुरामा पनि सहयोग रहेन। अहिले पनि उहाँहरू अनुसन्धानमा सहयोग नगरेर आन्दोलनमा हुनुहुन्छ।’

पीडित पक्षले भने प्रहरीले आफूहरूसँग हरेक दिन एक/एकजना गरेर सोधपुछ गरिरहेको र त्यसमा आफूहरूले सहयोग गरिरहेको बताएको छ। विनोदको हत्यामा संलग्नलाई प्रहरीले नै संरक्षण गरेर राखेको र पक्राउ नगरेर बहाना गरिरहेको उनीहरूको आरोप छ। माथिल्लो निकायबाटै दबाब भइरहेकाले पनि प्रहरी यो घटनालाई दबाउन खोजिरहेको पीडित पक्षको बुझाइ छ। ‘यो घटनामा सुरुदेखि नै प्रहरीले अपराधीको पक्षपोषण गरिरहेको छ,’ विनोदका दाजु बखतले भने, ‘डिएसपी नै घटनास्थल पुगेर राम्रो भूमिका खेलेनन्। यो घटनामा प्रहरीले हामीलाई झन् पीडा दिएको छ।’ अनुसन्धानमा खटिएको प्रहरीले तुरुन्तै अपराधी पत्ता लगाउन सक्ने अवस्था भए पनि माथिल्लो निकायको दबाबका कारण प्रहरी कमजोर बनेको उनको आरोप छ। 

विद्यामन्दिर मावि विनायकमा कक्षा १० मा अध्ययनरत विनोदको हत्या मेयर चलाउने र स्थानीय नेत्र शाहीको योजना र निर्देशनमा भएको पीडित पक्षको आरोप छ। उनीहरूका अनुसार जेठ १७ गते राती स्थानीय रामबहादुर शाहीको घरभित्र विनोदको हत्या गरेर त्यसको तीन दिनसम्म उक्त घरमा ताला लगाई बन्द राखिएको थियो। घरको चाबी हराएको बहाना गरेर उनीहरूले घरभित्र शव लुकाएको र तेस्रो दिनको राति शव लगेर भिरमा खसालेपछि मात्र ढोका खोलेको मृतकका बुबा बलबहादुर शाहीले बताए। यो घटनामा किटानी जाहेरी परेका सबै १३ जना एउटै वडाका हुन्।


विनोदकी आमा भन्छिन्– सहारा खोसे
छोराको हत्यापछि विनोदकी आमा ५८ वर्षीया जैसरा शाही शोकमा छिन्। उनी कहिले बेहोस भएर ढल्छिन् त कहिले छोरा सम्झेर भक्कानिन्छिन्। आँखैअगाडि छोराको मृतशरीर देख्दा जैसरालाई खपिनसक्नुको पीडा छ। गलेको शरीर र निन्याउरो अनुहार बनाएर रुँदै बाँच्नुबाहेक अरू विकल्प छैन उनीसँग।

 मृतक विनोदका बुबा बलबहादुर शाही र आमा जैसरा शाही

बालक छोराको शव भेटिएपछि जैसराको परिवारमा अन्धकार छाएको छ। सधैँ सँगै हुने छोरा गुमाउँदाको पीडा जैसराको मनले थाम्न सकेको छैन। ‘केही गर्ला जस्तो टाठो बाठो त्यहीँ थियो,’ उनले नयाँ पत्रिकासँग पीडा पोखिन्, ‘दुश्मन लाग्यो। मेरो सहारा खोसे।’ छोराको पिरमा कैयौँ रातदेखि नसुतेकी जैसरा न्याय पाउनेमा भने ढुक्क छैनन्।

जैसरा र उनका श्रीमान् बलबहादुरसहित आफन्तहरू विनोद बेपत्ता भएपछि खोजी गरिदिन माग गर्दै निवेदन लिएर प्रहरी र प्रशासनमा पुग्दा प्रहरीले उनीहरूको निवेदन दर्ता नै गरेको थिएन। घटनामा संलग्नहरूको माथिल्लो निकायसम्म सम्बन्ध रहेको र प्रहरीकै संरक्षणमा रहेकाले उनीहरूलाई सजाय हुनेमा शंका रहेको बलबहादुरले बताए। 


१५ दिनदेखि नगरपालिकामा तालाबन्दी 
विनोद हत्याकाण्डमा मेयरकै संलग्नता रहेको आरोपमा पीडित पक्षले पञ्चदेवल विनायक नगरपालिकामा १५ दिनदेखि ताला लगाएका छन्। हत्यामा संलग्नलाई कानुनी दायरामा नल्याएसम्म कुनै पनि कामकाज गर्न नदिने उनीहरूको अडान छ। तालाबन्दीका कारण स्थानीय सरकारबाट प्राप्त हुने सेवाबाट नागरिक वञ्चित भएका छन्।

चालू आर्थिक वर्षका नीति तथा कार्यक्रम सम्पादन गर्न नसकिएको र वित्तीय तथा भौतिक प्रगतिमा लक्ष्य प्राप्ति गर्न नसकिने अवस्था सिर्जना भएको प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझीले बताए। उनका अनुसार तालाबन्दीका कारण आगामी आवका लागि कानुनले तोकेको मितिभित्र योजना, नीति तथा कार्यक्रम तर्जुमा गर्न सकिएको छैन।

नगरपालिकाको तालाबन्दी खुलाउन पहल गरिदिन जिल्ला प्रशासन कार्यालय अछामलाई दुईपटक पत्राचार गरिएको, विभागीय मन्त्रालयमा पत्राचार गरेको तथा स्थानीय जनप्रतिनिधि र राजनीतिक दलसँग समन्वय गर्दा पनि कुनै निकास नपाइएको माझीले बताए।

जिल्ला प्रशासन कार्यालय मंगलसेनमा धर्ना दिँदै मृतक विनोदका आफन्त

मृतक विनोदका आफन्तले वडा नम्बर ४ को वडा कार्यालयमा पनि तालाबन्दी गरेका छन्। विनोदको हत्यापछि चरणबद्ध रूपमा आन्दोलनमा रहेका मृतकका आफन्तले नगरपालिका घेराउ, इलाका प्रहरी कार्यालय घेराउ, जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा प्रदर्शनलगायतका विरोध गरिरहेका छन्। उनीहरूले प्रजिअ र प्रहरी नायब उपरीक्षकविरुद्ध पनि नाराबाजी गरिरहेका छन्।

किटानी जाहेरी परेका सबैलाई पक्राउ नगरेसम्म आन्दोलन नरोक्ने उनीहरूको अडान छ। आन्दोलनलाई नेकपा एमाले, एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिस्ट पार्टीले सहयोग गरिरहेका छन्।