एमाले अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँगको चरम मतान्तरपछि कम्युनिस्ट पार्टी विभाजनको क्रम फेरि एकपटक सुरु भएको हो । माओवादी र एमालेको एकीकरणबाट जन्मिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विधिवत् विभाजनपछि राजनीतिक विकास क्रममा देखिएको हो : एकीकृत समाजवादी पार्टी । यही पार्टीका सर्वमान्य नेता हुन् झलनाथ खनाल । छोटकरीमा उनको लोकप्रिय नाम हो : ‘जेएन’ । सम्पन्न स्थानीय चुनावमा एकीकृत समाजवादीको कमजोर परिणाम देखेपछि पार्टीका अध्यक्ष माधव नेपालले आफ्नो असन्तोष प्रकट नगरेका होइनन् । तर, पार्टीका सर्वमान्य र राजनीतिमा बौद्धिक मानिएका नेता जेएनको प्रतिक्रिया निकै कडा थियो । उनको परिकल्पना कांग्रेसबाहेकको वामपन्थी गठबन्धनको निर्माण थियो । यसले पाँचदलीय गठबन्धनमा ठूलै तरंग ल्यायो । पाँचदलीय गठबन्धनका विषयमा ‘उत्तेजक’ टिप्पणी गरेर, आत्मरतिकै स्तरमा भए पनि, जेएनले बौद्धिक साम्यवादी चिन्तकको आफ्नो ‘हैसियत’ एकपटक फेरि स्थापित गरेका छन् ।
जेएननिकट रहेका उनका बालसखा तथा युवा साथीहरूका अनुसार विद्यार्थी जीवनदेखि नै जेएन कमरेड ‘माओत्से तुंगको जीवन दर्शनबाट भावुकताको हदैसम्म’ प्रभावित थिए । उनी चीनमा माओको नेतृत्वमा भएजस्तै ‘बहुआयामिक’ जनक्रान्ति नेपालमा दोहोर्याउन चाहन्थे । खनालको युवावस्थाको अधिकांश भाग अध्ययन अध्यापनको सिलसिलामा दार्जिलिङमा बितेको थियो । त्यस समयको दार्जिलिङको वातावरण अहिलेको जस्तो उराठलाग्दो थिएन । बौद्धिकता फेसनकै स्तरमा प्रचलित थियो । हुनेखाने परिवारमा हुर्केका अधिकांश युवा बिहानैदेखि सुटबुट र टाईमा सजिएका भेटिन्थे । जेएन यसका अपवाद थिएनन् । उनको जन्म सम्पन्न सनातनी ब्राह्मण परिवारमा भएको थियो । पिताजी कर्मकाण्ड गर्नुहुन्थ्यो । पहिरनको मामिलामा त्यो वेलादेखि अहिलेसम्म जेएनको रुचि सुटमै रहेको छ । त्यो समयका माक्र्सवादीहरू ‘कस्मेटिक्स’ थिए । पहिलो राष्ट्रिय जनआन्दोलनपछिको समयमा जेएन ‘डर्मेल’ ब्रान्डको सुटमा भेटिन्थे । काठमाडौंको बजारमा भर्खर आएको डर्मेल ब्रान्ड त्यतिखेर निकै महँगो मानिन्थ्यो ।
एमाले नेता सुवास नेम्वाङका सहपाठी रहेका जेएनमा क्रान्तिकारी जीवनप्रतिको ‘समर्पण भाव’ केही बढी नै थियो । युवावस्थामा उनी अल्छी–अल्छी स्वभावका थिए । तर, अध्ययन र राजनीतिक तर्कका मामिलामा समकालीन साथीहरूको तुलनामा उनी निकै अब्बल थिए । अधिकांश समय भूमिगत जीवन बिताएका जेएन २०४६ को राष्ट्रिय जनआन्दोलनपछि मात्र खुला नेपाली समाजसँग जोडिएका हुन् । राष्ट्रिय जनआन्दोलन सफल भएपछि टुँडिखेलको खुलामञ्चमा आयोजित कांग्रेस र संयुक्त वाममोर्चाको विजयसभामा संयुक्त वाममोर्चाबाट को बोल्ने ? भन्ने टुंगो अन्तिम अवस्थासम्म लागेको थिएन । वातावरण रहस्यमय थियो । त्यही वेला संयुक्त वाममोर्चाको प्रतिनिधिका रूपमा अचानक फुत्त मञ्चमा देखापरेका थिए ‘महासचिव’ जेएन खनाल । देशको खुला राजनीतिमा उनको त्यो प्रवेश पहिलो थियो ।
सरसर्ती हेर्दा अहिले सम्पन्न स्थानीय निर्वाचनमा पाँचदलीय गठबन्धन, खासगरी कांग्रेसले आफ्नो पार्टीलाई पर्याप्त ‘भाउ’ नदिएकोमा जेएन क्षुब्ध देखिन्छन् । देशमा वामपन्थी शक्ति यति धेरै विस्तारित भएको अवस्थामा समेत स्थानीय चुनावका लागि वामपन्थी एकता हुन नसकेकामा उनी उत्तिकै दुःखी छन् । पाँचदलीय गठबन्धनको तात्कालिक उपयोगिताका सन्दर्भमा केही दिनअघि माओवादीका अध्यक्ष प्रचण्डले पनि आफ्नो असन्तुष्टि व्यक्त नगरेका होइनन् । तर, प्रचण्ड र जेएनका विचारमा आकाश र जमिनको अन्तर रहेको छ । जेएनको विचार कुनै हिसाबले पनि गठबन्धनप्रति सकारात्मक देखिएन । खनालले आफ्नो पार्टीसमेत सरिक रहेको पाँचदलीय गठबन्धनविरुद्ध निकै ठूलो मानसिक–राजनीतिक परिकल्पना गरेको देखिन्छ । सन्दर्भमा, खनाल स्पष्टतः कांग्रेसलाई ‘वाद’ गरेर वामपन्थी गठबन्धनको नयाँ राजनीतिक बाटो पहिल्याउन खोजिरहेका छन् । अहिलेका लागि उनको यो खोजी अन्धकारमा रुमल्लिइरहेको मसालको अवस्थामा छ । स्थानीय चुनावमा सहभागी भएका र नभएका दुवैथरी वामपन्थी समूहबीच प्रादेशिक र संघीय चुनावमा सहभागिताबारे तीव्र मतभेद र ध्रुवीकरण कायम छ ।
स्थापित वामपन्थी नेताहरू अहिले देशमा ‘बढेको’ भनिएको अमेरिकी ‘गतिविधि’तिर संकेत गर्दै त्यसको दोष कांग्रेसको थाप्लोमा हाल्न खोजिरहेका छन् । तर, ‘एसपिपी’ र ‘एमसिसी’ दुवै तत्व एमाले र नेकपा (नेकपा) का अध्यक्ष र प्रधानमन्त्री रहेका केपी ओलीकै समयमा निःसृत भएका हुन् । वामपन्थी नेतागणले नेपालको विकासका लागि अमेरिका नै अवरोध भएको ठानेका हुन् भने पनि यसबारे नेपाली सेनाले स्पष्टीकरण दिइसकेको छ । सेनाको स्पष्टीकरणपछि अमेरिकाविरुद्ध ‘प्रचार युद्ध’ जारी रह्यो भने यसले वामपन्थीकै साखमा असर पार्नेछ । यो सामान्य सत्य कसैले लुकाउन खोजेर पनि लुक्दैन ।
माओवादी केन्द्रलाई छाडेर नेपालका कम्युनिस्टहरूले कहिले राष्ट्रिय पञ्चायतमार्फत र कहिले सार्वभौम संसद्मार्फत देशमाथि ‘वैधानिक’ हालीमुहाली चलाउँदै आएका छन् । अहिलेको गठबन्धनले चुनावमा कसैलाई पनि फाइदा दिलाउन सकेन भन्नुको तुक छैन ।
पाँचदलीय गठबन्धनको चुनावी अभियानका कारण यतिखेर देशको राजनीतिक नक्सामा निकै ठूलो उलटफेर आएको छ । गठबन्धनमा कांग्रेसको उपस्थिति नभएको भए अहिले स्थानीय तहमा देखिएको विविध प्रकारको राजनीतिक परिवर्तन सम्भव थिएन । नेकपापछि अदालतले नै एमालेको अवतारमा रूपान्तरित गरिदिएको पार्टीको हैसियत पनि स्थानीय निर्वाचनमा देखिएको छ । यतिखेरका एमालेहरू एउटा झुटलाई हजारपटक दोहोर्याएर सत्य सावित गर्न सकिन्छ भन्ने पुरानै खेलमा लागेका छन् । उनीहरूले धेरै ढोंग गर्नु आवश्यक छैन । अहिले त एमालेका नेताहरू आफ्नो राजनीतिक एजेन्डाको प्रतिरक्षा गर्न सक्ने अवस्थामा समेत देखिएका छैनन् ।
अहिले संसारमा रुस र युक्रेनबीचको लडाइँको ठूलो चर्चा छ । केही दशकअघिसम्म यस्ता युद्धले लडाकुका रूपमा सुपरिचित वीर नेपालीलाई निकै आकर्षित गथ्र्यो, हौस्याउँथ्यो । अहिले नेपाली जनतामा त्यो लडाकु जोस छैन । गरिबी, अभाव र झुटो राजनीतिले नेपालीलाई थिलथिलो तुल्याएको छ । अहिलेको विश्व परिदृश्यलाई राम्ररी केलाउने हो भने नेपालले युक्रेनको जस्तो दुःखद नियति भोग्नुपर्ने सम्भावना छैन । नेपालका वामपन्थीले माओत्से तुंगको चीनसँग र लोकतन्त्रवादीले अब्राहम लिंकनको अमेरिकासँग साख्य भाव राखेर आफ्नो रणनीतिक महत्व स्थापित गर्न खोज्नुको पनि कुनै अर्थ छैन । शक्ति राष्ट्रका नेताहरू नसन्किएसम्म विश्वभर शान्ति प्रत्याभूत छ । नेपालजस्ता निर्धन भएकै कारण कमजोर भएका देशले विश्वभर शान्ति छाओस् भनेर नारा लगाउँदैमा शान्तिको प्रत्याभूत हुने होइन । जुन दिन शक्तिराष्ट्रका नेता सन्किनेछन्, त्यस दिन को कता च्यापिन्छ, भन्न सकिन्न ।
चीनलाई व्यापार, वाणिज्य र विकास सिकाउने देश अमेरिका नै हो । सन् सत्तरीको दशकमा अमेरिकामा पढ्न, सिक्न र काम गर्न जाने चिनियाँ धुइरिन्थे । अमेरिकाले विकासका पूर्वाधार खडा गर्न चीनलाई ठूलो मद्दत गर्यो । आज ती दुवै देश युद्धमा होइन, व्यापारिक प्रतिस्पर्धामा छन् । उनीहरू युद्ध गरेर दुनियाँ ‘जित्न’ चाहँदैनन्, व्यापारका माध्यमद्वारा दुनियाँमाथि ‘कब्जा’ जमाउने प्रतिस्पर्धामा छन् । अघिल्लो शताब्दीको पछिल्लो भागमा विश्वशक्तिका रूपमा चीनको उदय उसको आफ्नै बाहुबलले भएको हो । अमेरिका दोस्रो विश्वयुद्धपछि उदाएको मजबुत शक्ति हो । साम्यवादका विसंगत पक्षलाई समातेर पराजित गर्न अमेरिका सिपालु छ । उसले सोभियत संघसँगको ‘शीत युद्ध’ जितेकै हो । संसारभर स्थापित कम्युनिस्ट सत्ता चरमराएकै हो । त्यति हुँदाहुँदै पनि, माओवादी अध्यक्ष प्रचण्डकी श्रीमती र जनयुद्धकी योद्धा सीता दाहालले किन ‘अमेरिकामा उपचार गराउन पाए हुन्थ्यो कि !’ भन्ने अभिलाषा राखिन् ? किन उनलाई स्रोत र प्रयोगका हिसाबले सम्पन्न देश अमेरिका लगियो ? यसको मनोविश्लेषण अध्यक्ष प्रचण्डले बाहेक अरू कसले गर्न सक्ला र ?
अराजक राजनीति घनीभूत भएको यो समयमा नेपाली जनताले यो सोच्नुपर्छ कि तत्कालीन नेकपाको एकमना सरकारले सुदूरपश्चिमका कालापानी, लिपुलेक र लिम्पियाधुरालाई नेपाली भूभागमा सामेल गरेर चुच्चे नक्सा बनायो । चुच्चे नक्सा संसद्बाट पारित गर्ने सरकारी प्रस्तावलाई पहाड, मधेस र हिमालका सम्पूर्ण जनताका निर्वाचित प्रतिनिधिले समर्थन गरे । हालका प्रधानमन्त्री देउवा, उनका पार्टीका डा. मीनेन्द्र रिजाल र गगन थापाजस्ता जीवन्त सांसदले त्यस प्रस्तावको उफ्री–उफ्री समर्थन गर्दै तत्कालीन सरकार र सरकारप्रमुख ओलीको जयगान गाएका थिए । अहिले त्यो नक्सा कतै सरकारी कार्यालयको भित्तोमा पनि देखिँदैन । त्यो जोस, जाँगर र ऊर्जा कहीँ देखिँदैन । यही होइन त हामीले चर्को चिच्याहटसाथ खोज्ने हाम्रो स्वाभिमान र आत्म–सम्मान ?
माओवादी केन्द्रलाई छाडेर नेपालका धेरै कम्युनिस्टहरूले कहिले पञ्चायत व्यवस्थाको राष्ट्रिय पञ्चायतमार्फत र कहिले सार्वभौम संसद्मार्फत देशमाथि ‘वैधानिक’ हालीमुहाली चलाउँदै आएका छन् । अहिलेको गठबन्धनले चुनावमा कसैले पनि फाइदा दिलाउन सकेन भन्नुको कुनै तुक छैन । पाँचदलीय गठबन्धनको सबैभन्दा सानो सदस्य जनमोर्चाले अरू पार्टीले जस्तो स्थानीय चुनावबाट राजनीतिक महत्वाकांक्षा पूरा हुने सोचेकै थिएन । तर, अघिल्लो चुनावदेखि नै छरिने क्रममा गएको माओवादी केन्द्रले भने स्थानीय चुनावबाट अनपेक्षित सफलता हासिल गरेको छ । उसको गिरेको नूर फर्किएको छ । यसपटक जनताले कांग्रेस र माओवादीलाई सँगसँगै जोडेर मतदान गरेका छन् ।
यो तथ्य सबैको सम्झनामा रहेकै होला, तत्कालीन प्रधानमन्त्री तथा कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा माओवादी बृहत् शान्ति–सम्झौतामा प्रवेश गरेर मूलधारको राजनीतिमा आएपछि देशको नव–निर्माणको अभिभारा शासनमा नवागन्तुक माओवादी र साविकका राजनीतिक दलको काँधमा आएको थियो । दलहरूले त्यो दायित्वलाई आपसमा मिलाएर उठाउनुपर्ने थियो । तर, त्यसो हुन सकेन । नेपालका राजनीतिक दलहरूमा ‘देशका लागि मिलेर काम गर्ने’ चरित्र कहिल्यै देखिएन । यो साँच्चै नै क्षोभको विषय होे । अहिलेको स्थानीय चुनावले विपरीत राजनीतिकधर्मी दलहरूलाई आपसमा मिलेर काम गर्न प्रेरित गर्यो भने त्यो नै अहिलेसम्मको निरन्तर संघर्षबाट देशले आर्जित गरेको ठूलो सफलता हुनेछ । होइन भने काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ ।