माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको एउटा विशेषता हो– उनी जनताका भावनालाई छिटो बुझ्न र छिटो आत्मसात् गर्न सक्छन् । उनले हालै सम्पन्न स्थानीय निर्वाचनमार्फत जनताले अभिव्यक्त गरेका धारणालाई बुझेका छन् र राम्ररी केलाएर हेरेका छन् । त्यसैले हो, स्थानीय निर्वाचनमा विजयी भएका माओवादी कार्यकर्ताको अभिमुखीकरण कार्यक्रममा कुनै लागलपेट नराखी नेपाली जनताले माओवादी कार्यकर्ता सच्चियून् भन्ने चाहेको बताए । अध्यक्ष प्रचण्डको यस भनाइलाई उनका कार्यकर्ताले कुन रूपमा लिए ? त्यो आगामी समयले बताउला । तर, देशका विचारक, विश्लेषक र बुद्धिजीवीहरूले प्रचण्डको भनाइलाई माओवादी सच्चिनैपर्ने प्रक्रियाको प्रारम्भ मानेका छन् । प्राध्यापक अभि सुवेदी भन्छन्– प्रचण्डले यो कुरा आवेशमा बोलेका होइनन् । उनले यो कुरा गम्भीरतापूर्वक विचार गरेर बोलेका हुन् । उनी राजनीतिका अनेकौँ आयाम पार गर्दै अहिलेको अवस्थामा रूपान्तरित भएका व्यक्तित्व हुन् । उनले अहिलेको राजनीतिक परिस्थिति र जनताको मनको कुरा बुझेका छन् ।
नेपालको माओवादी आन्दोलनको आफ्नै विशिष्टता छ । संसारमा चलेका यस प्रकारका अन्य आन्दोलनको अन्त्य निकै दुःखदायी भएको छ । पेरुमा गोन्जालोको नेतृत्वमा भएको परिवर्तन कसरी असफल भयो ? निकारागुवामा स्यान्डिनिस्टाले कस्तो अपमानजनक विपत्तिको सामना गर्नुपरेको थियो ? श्रीलंकामा सहरी योद्धाहरूको समूह जनता विमुक्ति पेरोमोनाको कसरी सर्वनाश भएको थियो ? समकालीन समयको समीक्षा गर्दै जाने हो भने मोजाम्बिक र नेपाल मात्र यस्ता दुई देश हुन्, जहाँ जनयुद्ध सफल भयो । अझ नेपालमा त माओवादी जनयुद्धले आंशिक सफलता मात्रै ंपाएको होइन, यसले राज्य रूपान्तरण गर्ने ठूलो अवसरसमेत जितेको हो । माओवादी युद्धपीडित परिवार र समाजका केही यथास्थितिवादीलाई छाडेर माओवादीविरुद्ध अहिलेसम्म ठूलो दुर्घटना भएको छैन । माओवादीप्रति नेपाली जनमत आक्रोशपूर्ण रहेको भए युद्धबाट आएको पार्टी संविधानसभाको चुनावमार्फत झन्डै बहुमत ल्याएर सरासर सरकारको नेतृत्वमा पुग्ने थिएन । यो अर्कै कुरा हो, माओवादीले त्यो अवसरको सदुपयोग गर्न सकेन । माओवादीले शासन जितेको थियो । राज्य जितेको थिएन । राज्यमाथि विभिन्न राजनीतिक सिद्धान्तमा बाँडिएका जनताको बराबरीको हक थियो । यो पक्कै हो, जनयुद्धका कमान्डर स्वयं प्रचण्डलाई पनि नेपालमा जनयुद्धले २४० वर्ष पुरानो निरंकुश राजतन्त्रको यति सहज ढंगले अन्त्य गर्ला भन्ने विश्वास थिएन होला । यो विश्वासहीनताले पनि समयलाई जटिल बनायो ।
जसले जेसुकै भने पनि नेपालको माओवादी आन्दोलनले कहिले पनि यहाँको एलिट आन्दोलनको प्रतिरोधको सामना गर्नुपरेन । ०४६ को आन्दोलनपछि सन्त नेता कृष्णप्रसाद भट्टराईको अन्तरिम मन्त्रिपरिषद्का अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे, अधिकारकर्मीका रूपमा चिनिएका पद्मरत्न तुलाधर, ०४७ मा निर्वाचित सार्वभौम संसद्का सभामुख दमननाथ ढुंगानालगायत थुप्रै विद्वान्, अधिकारकर्मी, पेसाकर्मी र सचेत नागरिकहरू माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन कम्मर कसेर लागेका थिए । राजनीतिक दलभित्रको अवस्था पनि त्यस्तै थियो । कांग्रेसपछि एमालेका नेता माधव नेपाल र वामदेव गौतम प्रचण्डलाई राजनीतिक सहयोग गर्न लागेका थिए । त्यसवेला देशका कुनै पनि पार्टीका नेताले माओवादी आन्दोलनको अन्तर्य केलाउन चाहेका थिएनन् । युद्धरत माओवादीसहितको राज्य व्यवस्था सबैको अभीष्ट बनेको थियो ।
देशको सबैभन्दा पुरानो, प्रतिष्ठित र राष्ट्रिय अन्तर्राष्ट्रिय साख भएको लोकतान्त्रिक पार्टी कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला स्वयं नै माओवादीसँग शान्ति र सम्झौताको बाटोमा अग्रसर भएकाले देशमा माओवादी समस्या समाधान हुने आशाका तरंग फैलिएका थिए । यसको कारण स्वर्गीय कोइरालाले भारतीय जनता र सरकारको विश्वास आर्जन गरेका थिए । भारतको विश्वास आर्जन नगरेसम्म परिवर्तनले स्थायित्व नपाउनेमा अरू नेता पनि सहमत थिए । तत्कालीन नेपाली राजनीतिमा कोइरालाको जस्तो सर्वमान्यता र पात्रता अरूमा थिएन । राजा वीरेन्द्र र दीपेन्द्रको देहावसानपछि राजा भएका ज्ञानेन्द्रले कोइरालालाई आफ्ना निमेसिस ठानेका थिए । ज्ञानेन्द्रका नजरमा कोइराला भ्रष्टाचारका बिम्ब थिए । तर, कोइरालाप्रति ज्ञानेन्द्रको दृष्टिकोण जतिसुकै अनुदार भए पनि कोइरालाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साख निकै घनीभूत थियो । कोइरालामा जनताबाट चुनिएको प्रतिनिधिका रूपमा राजासँग टक्कर लिने आत्मबल थियो ।
विश्वासको वातावरण बनाउन सक्यो भने कांग्रेसले एमालेलाई क्षतविक्षत् तुल्याउनेछ । माओवादीले यो धरातल बुझ्नुपर्छ । अहिलेका लागि प्रचण्डले कार्यकर्तालाई होइन, आफैँलाई सच्याउनु आवश्यक छ ।
नेपालको राजनीतिमा भारत र चीन समर्थकको विभाजन पुरानै हो । जतिखेर भारत समर्थक भनिएका कांग्रेसहरू राजाको निरंकुशताविरुद्ध लडिरहेका थिए, त्यतिखेर चीन समर्थक भनिएका कम्युनिस्टहरू राष्ट्रवादका नाममा राजाको निरंकुशतालाई सघाइरहेका थिए । ०४६ को परिवर्तनअघिसम्म नेपालको कम्युनिस्ट राजनीतिमा बलियो मानिने मालेले राजा र चीनको समर्थनमा वामपन्थीहरूलाई एकोहोर्यायो । तर, पुष्पलाल श्रेष्ठ र मनमोहन अधिकारी जस्ता नेतामा यो प्रवृत्ति देखिएन । अहिलेको अवस्थामा माओवादी न भारत समर्थकका रूपमा टिक्न सक्छ, न चीन समर्थकका रूपमा । चीनमा माओवादी अध्यक्ष प्रचण्डका केही घनिष्ठ मित्र छन् । तर, राज्य नीतिमा उनीहरू प्रभावकारी छैनन् ।
निश्चय पनि अहिले विश्वको राजनीतिक परिस्थितिले पूरै कोल्टे फेरेको छ । समकालीन विश्वको आर्थिक र राजनीतिक परिस्थितिमा पनि आमूल परिवर्तन आइसकेको छ । चीन र अमेरिकाबीचका द्वन्द्वहरू जटिल परिस्थितिमा पुगेका छन् । अर्कोतिर रुस र युक्रेनको लडाइँले युरोपसहित पूरै पश्चिमी समाजलाई गम्भीर नैतिक संकटतिर तानिरहेको छ । दक्षिण एसियामा भारत अहिले अमेरिकासँग सहकार्यमा देखिए पनि चीनसँगको सम्बन्धमा भारत कठोर बन्ने लक्ष्य राख्दैन भन्ने लगभग स्पष्ट भइसकेको छ । दुनियाँको सामरिक चित्र बदलिए पनि छिमेकको यथार्थ बदलिन सारै गाह्रो हुन्छ । सहयोगका नाममा नेपालमा हुन सक्ने चिनियाँ आर्थिक हस्तक्षेप नेपालीका लागि दुःस्वप्न पनि बन्न सक्छ भन्ने उदाहरण श्रीलंकाले देखाइसकेको छ । देशका राजनीतिक पार्टी र तिनका नेताले संसारका इतिहासबाट यस्ता धेरै कुरा सिक्नुपर्छ ।
जहाँसम्म आन्तरिक राजनीतिको प्रश्न छ, स्थानीय चुनावले नेपाली राजनीतिको अवतार परिवर्तन गर्न खोजेको छ । पार्टीहरूको चुनाव चिह्नको ठाउँ झन्डाले लिएको छ । कांग्रेसले माओवादीको चुनाव चिह्नमा भोट माग्ने र माओवादीले कांग्रेसको चुनाव चिह्नमा भोट मांग्ने नयाँ राजनीतिक संस्कारले हामीलाई सहमति र सहकार्यतिर प्रवृत्त गर्नेछ । प्रचण्डले कांग्रेसलाई पनि एमालेकै हविगतमा पुर्याउने गफ जति दिए पनि कांग्रेससँग सहकार्य गरेरै माओवादीले जनताको सद्भाव कमाएको छ । केही माओवादीमा कोइराला पक्षको कांग्रेसको भोट एमालेमा गएको आशंका रहेको छ । राजनीतिमा केही मानिस यस्ता खेल तमासामा लागिरहन्छन्, यो नयाँ कुरा होइन । बरु, प्रचण्डले महाधिवेशनको ६ महिना बित्न लागिसक्दा पनि आफ्नै केन्द्रीय समिति गठन गर्न सकेका छैनन् । उनका घनिष्ठ सहयोगी कृष्णबहादुर महरा सेलाएका छन् । रोशनी काण्डले उनको प्रतिष्ठा थिलथिलो पारेको छ । राष्ट्रिय सभाका निवर्तमान सदस्य तथा अधिवक्ता रामनारायण बिडारी भन्छन्– अहिले जनता प्रचण्डको अनुहारमार्फत माओवादीलाई भेट्न चाहन्छन् । अहिले हामीमा देशलाई हृदयैदेखि माया गर्ने आचरण बनेको छैन । हामी अवसरवादी बुर्जुवा, पेटी बुर्जुवाजस्तै भयौँ ।
राजनीतिक विश्लेषक हरि रोक्का भन्छन्– विश्वासको वातावरण बनाउन सक्यो भने कांग्रेसले एमालेलाई क्षतविक्षत् तुल्याउनेछ । माओवादीले यो धरातल बुझ्नुपर्छ । अहिलेका लागि प्रचण्डले कार्यकर्तालाई होइन, आफैँलाई सच्याउनु आवश्यक छ । जहाँसम्म नयाँ नेतृत्वको प्रश्न छ, कुरा चल्नेबित्तिकै जनार्दन शर्मा प्रभाकर र वर्षमान पुनको नाम आइहाल्छ । वर्षमान पुन बिरामी छन् । उनको समर्थनमा नारायणकाजी छन् । जनार्दनमा राजनीतिक चातुर्य छ । उनी स्पष्ट र हक्की छन् । पार्टीमा जनजाति र आदिवासी हुनैपर्छ । बाहुन–क्षेत्री पनि हुनैपर्छ । माओवादी राष्ट्रिय पार्टी हो । राष्ट्रिय भनेपछि सबै जाति अटाउनुपर्छ ।
माओवादी केन्द्रमा प्रश्नहरू तरंगित छन् । ती प्रश्नको जवाफ दिने हैसियत प्रचण्डमा बाहेक अरू कसैमा छैन अहिलेलाई । हो, संसद्वादी दल र माओवादी दलबीचको दूरी कम हुँदै गएको छ । सामाजिक राजनीतिक रूपान्तरणको लक्ष्यमा लागेका माओवादीभित्रको वातावरणमा अझै खुलापन आउनुपर्छ । नेपालमा अहिले नक्कली राष्ट्रियताको बिगबिगी छ । तर, देशभक्तिको अत्तोपत्तो छैन ।