स्थानीय चुनावको कार्यक्रम विधिवत् सुरु भएसँगै देशमा चुनावी मौसम तात्न थालेको छ । कुनै अन्यथा नभए ३० वैशाखमा देशभरिका भुइँमान्छे आफ्ना शासकको चयन गर्न कुनै पाठशाला भवनको आँगन वा सार्वजनिक मैदानमा लाम लागेर उभिनेछन् । देशमा दिनानुदिन भुइँमान्छेको संख्या बढ्दो छ । पहिलेका किसान मानो छरेर मुरी भिœयाउँथे । अहिले खेतीपातीका लागि प्रसिद्ध गाउँघरका विशाल फाँटहरू ‘प्लट’मा टुक्रिएका छन् । पहिले–पहिलेका साहु–महाजन खेतीपातीको समयमा किसानलाई बालीनाली लगाउन चर्को ब्याज लिएर ऋण दिने गर्थे । अहिले प्लट सिस्टम मौलाएको छ । ब्याजदर पनि उत्तिकै चर्को छ । किसानहरू रनभुल्लमा परेका छन् । साहु–महाजनहरू गाउँ छाडेर सहरतिर लागेका छन् । सहरमा विकासका अनन्त सम्भावना छन् । गाउँका किसानले साहुको ऋणको भारी काँधमा बोकेर दुब्लाउने मौकासम्म पनि पाएका छैनन् ।
हो, हामीकहाँ मात्रै होइन, सहरीकरणको प्रभाव संसारभरि नै बढ्दो छ । एक दशकअघिसम्म देशमा फलपूmल खेतीको सपना देख्नेहरू विदेशतिर पलायन भएका छन् । धेरैजसो कतार, कुवेत र दुबईमा छन् । कति मानिस घुमाउरो समुद्री बाटो हुँदै अमेरिका पुगेका छन् । कतिले यात्रामै प्राण गुमाएका छन् । प्राण गुमाउनेहरूमध्ये धेरैले उठाउनै नपर्ने कष्ट उठाएर ज्यान फालेका छन् । यस्तो लाग्छ– देशको माया भन्ने विचारको औचित्य नै रहेन । पाइने वा नपाइने ठेगान नभएको एकमुठी सुखका लागि जीवन नै समाप्त गर्नु कुनै पनि हालतमा राम्रो कुरा होइन ।
नेपाल संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातान्त्रिक शासनतिर मोडिएपछि २०४९ सालमा पहिलो स्थानीय निर्वाचन भयो । त्यो निर्वाचन नभएसम्म स्थानीय सरकारको मान्यता पूर्ण रूपमा स्थापित भएको थिएन । बहुदलीय पद्धतिअनुसार भएको सो निर्वाचनमा कांग्रेसका नेता पिएल सिंह काठमाडौं महानगरको नेतृत्वमा स्थापित भए भने उपमेयरमा चुनिए नवीन्द्रराज जोशी, जो अहिले हामीबीच रहेनन् ।
पिएल सिंहले देश र दुनियाँ बुझेका थिए । उनले संसारका धेरै कुरा जानेका थिए । उनी फुर्तिला र निकै कल्पनाशील व्यक्तित्व थिए । अहिले आफ्नो बुढेशकालमा पनि पिएल फुर्तिला छन् । उनी सर्वमान्य नेता गणेशमान सिंहका विश्वासपात्र व्यक्ति थिए । उनलाई गणेशमान सिंहको आशीर्वाद प्राप्त थियो । पिएल सिंहको नेतृत्वमा काठमाडौँ महानगरले निकै ठूलो परिवर्तनलाई आत्मसात् गर्यो । पिएल र उनको नेतृत्वमा बनेको नगरपालिका सदस्यहरूको टोलीले महानगरको नयाँ खाका तयार गर्ने काम गर्यो । अहिले हामी जुन बागमती, विष्णुमती र रुद्रमतीलगायत नदी किनारामा बनेका सडकहरूमा गुड्छौँ । यी करिडर सडकको निर्माण पिएलकै पालामा सुरु भएका हुन् । प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कांग्रेसमाथि आफ्नो कब्जा जमाउन आफ्नो नेतृत्वमा चलेको बहुमत प्राप्त सरकार विघटन गरेपछि देशको राजनीतिक परिस्थिति अर्कै भयो । त्यतिवेला गृहमन्त्री बनाइएका वामदेव गौतममार्फत चालिएका राजनीतिक दाउपेचका कारण पिएल सिंहले महानगरमा सुरु गरेका कामले निरन्तरता पाउन सकेनन् ।
स्थानीय सरकारलाई राजनीतिक तहबाट भएका भ्रष्टाचारको पिरामिड बनाइएको अहिलेको अवस्थामा स्थानीय तहहरू कतिपय मानिसका लागि राजनीतिक रिसइबी साध्ने ठाउँसमेत भएका छन्
देशमा गणतन्त्र स्थापना भएको एक दशकपछि स्थानीय सरकारको पहिलो निर्वाचन भयो । नगरपालिकाको निर्वाचन गणतन्त्र स्थापना भएको अवस्थामा भएको थियो । नगरसभाका सदस्यहरू नयाँ पद्धतिमा कसरी काम गर्नुपर्ने हो ? भन्नेमा अनभिज्ञ थिए । यसबारे उनीहरूलाई कुनै पनि कुराको खासै जानकारी थिएन । केही समयसम्म त निर्वाचित स्थानीय सरकारले स्थानीय स्वायत्त शासनको सुदृढ स्वरूप नै निर्धारण गर्न सकेन ।
स्थानीय चुनावमा नेपाल कम्युनिस्ट पार्टी एमालेका प्रत्येक नेताले सिंहदरबारको सेवा प्रत्येक गाउँमा पुर्याउने कुरालाई अक्षरशः ग्रहण गरे । तर, पछि गएर पालिकाहरूको स्वरूप विद्रूप देखिन थाल्यो । नगर तथा महानगरका सदस्यहरूले गाउँमा सिंहदरबारको सेवा पुर्याउने कुरालाई उल्टो बुझे । सिंहदरबारलाई आफ्नै गाउँमा स्थापित गर्ने नारा त लाग्यो । तर, कसरी गर्ने ? कसैले पनि यो कुरोको भेउ पाउन सकेन । स्थानीय जनतालाई यो नाराले आकर्षित पनि गर्यो । तर, नेताहरूले देशको शासन–प्रशासनको मुख्य केन्द्रका रूपमा रहेको सिंहदरबारभित्रका भ्रष्टाचार र दुराचारको सफाइ नै नगरी सिंहदरबार ल्याएको घोषणा गाउँ–गाउँमा गरे ।
स्थानीय सरकारले अहिलेसम्म गरेका कामको लेखाजोखा गर्ने हो भने जनताले खासै असन्तोष जनाउने ठाउँ नभेटिएला । तर, भीमकाय महानगरपालिकाहरूको गतिविधि केलाउने हो भने कतै पनि चामत्कारिक विकास भएका छैनन् । काठमाडौँ र वीरगन्ज महानगरपालिकाको तुलनामा विराटनगर र भरतपुर महानगरपालिकाले धेरै काम गरेको देखिन्छ ।
स्थानीय सरकारबारे गहिरो जानकारी राख्ने विकासविद् विनोदकुमार भट्टराई स्थानीय सरकारहरूले साठीदेखि सत्तरी प्रतिशतभन्दा बढी नयाँ काम गरेको बताउँछन् । उनी भन्छन् : स्थानीय सरकारको राजनीतीकरण नगरी उनीहरूलाई स्वतन्त्र ढंगले विकासका काम परिचालन गर्न दिने हो भने विकासको लक्ष्य सहज ढंगले प्राप्त गर्न सकिनेछ । अहिले त्यस्तो छैन । जता हेर्यो त्यता स्थानीय सरकारलाई राजनीतिक तहबाट भएका भ्रष्टाचारको पिरामिड बनाइएको छ । यतिवेला स्थानीय तहहरू कतिपय मानिसका लागि राजनीतिक रिसइबी साध्ने ठाउँ भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष आनन्दराज मुल्मीका अनुसार आफ्नो व्यक्तिगत स्वार्थसिद्धिका लागि राजनीतिमा लागेका मानिसमा ‘हामीलाई कसले के गर्न सक्छ ? हामी स्थानीय सरकार भनेको स्थानीय सिंहदरबार हौँ’ भन्ने अहंकार बढेको छ । मुल्मीका शब्दमा : केन्द्रले स्थानीय सरकारको मागअनुसार बजेटको भागबन्डा गर्दैन । समस्या त्यहीँबाट सुरु हुन्छ । देश अमिल्दो बाटामा हिँडेको छ । एकातिर, राजनीतिक हिसाबले संघीयताको नारा दिइएको छ भने अर्कातिर संघीयतालाई चुनौती दिने केन्द्रीकरणको नीति हटाइएको छैन । संघीयता र केन्द्रीकरण सँगसँगै हिँड्न सक्दैनन् ।
यसपटकको स्थानीय निर्वाचनले आगामी समय कस्तो हुनेछ ? त्यसको स्पष्ट तस्बिर उतार्नेछ । राजनीतिक दलहरूमा अलिकति पनि सैद्धान्तिक निष्ठा देखिएन । सबभन्दा पहिले वर्तमान सरकारकै कुरा गरौँ । प्रधानमन्त्री शेरबहादुर देउवा चुनावका सन्दर्भमा बनेको गठबन्धन सरकारलाई जसरी भए पनि टिकाउने फिराकमा देखिन्छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाध्यताले गर्दा कांग्रेसको नेतृत्वमा बन्ने गठबन्धन स्वीकार गर्नुपरेको बताउँछन् । त्यही अवस्था एकीकृत समाजवादीका नेताद्वय झलनाथ खनाल र माधव नेपालको छ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि मधेसी भोटमाथिको आफनो वर्चस्व कायम राख्न प्रम देउवा नेतृत्वको गठबन्धनसँग जोडिएका छन् । गठबन्धन सरकारका विपक्षमा उभिएकाहरू एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसँग टाँस्सिएका छन् । ओलीले शेर, सायरी, गजल, दुःखडा र मुखडा आफैँसँग राखेका छन् । उनका दिनहरू प्रधानमन्त्री देउवा र माधव नेपालको नक्कल उतार्दैमा बितेका छन् । यस्तै छ, राजधानीको चुनावी माहोल ।
चुनावको यो रमाइलोमा देशको कारुणिक अवस्था के सुनाउनु र ? बढ्दो महँगी, मुद्राको घट्दो भाउ, मानिसको जीवनयापनमा आएको ह्रास, राजनीतिका नाराहरूले थिचेको जनताको मर्मस्पर्शी आर्तनाद । चर्को निराशाको यो वातावरणमा जनताको चिन्ता भए पनि सरकारले तत्काल गर्न सक्ने त्यस्तो उद्धार कार्य केही देखिँदैन । तैपनि, जनता कालो बादलमा लुकेका चाँदीका घेराहरू हेरेर चित्त बुझाइरहेका छन् । जनता उज्यालो पर्खिरहेका छन्, उज्यालो ।