नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओली नेपाली राजनीतिका सबैभन्दा बढी चलायमान व्यक्तित्व हुन् । उनी सधैँ केही न केही काममा अल्झिरहेका हुन्छन् । आफ्ना पार्टीका अरू नेतालाई ‘सेवा प्रवृत्त’ भावले हात जोडेर उभिन लगाएर ओली इसारा र वचनले नै ठूलो तरंग ल्याइदिन्छन् । नेपाली समाजमा तित्राको मुखै बैरी भन्ने उखान प्रचलित छ । त्यो उखानको कुनै मतलब छैन ओलीलाई । उनको हालैको एउटा भनाइअनुसार, गठबन्धन भनेको एक–एक किलोको पाँच ओटा ढक हो । एमाले भनेको सय किलोको एउटै ढक हो । ओलीको सबभन्दा ठूलो गुण पनि यही हो र सबभन्दा ठूलो अवगुण पनि यही हो ।
नेपालका बुद्धिजीवी पत्रकारहरू, विश्लेषक र जानिफकारहरूले ३० वैशाखका लागि तोकिएको स्थानीय निर्वाचनको सन्दर्भमा एमाले पार्टीले बहुमत ल्याउने वा अरू पार्टीसँग जोडजाड र मेलमिलाप गरेर बहुमतजत्ति नै मत ल्याउने आशा राखेका छन् । ओलीको स्थानीय चुनावअघिको तामझाम र रोव–रवाफ हेर्दा त्यो स्वाभाविक पनि हो । माओवादीलाई छाडेर गठबन्धनमा रहेका पार्टीका गतिविधि काठमाडौँमा समेत केन्द्रित हुन नसकेको अवस्थामा ओलीको धाराप्रवाह अभियानले सबैलाई चकित तुल्याएको छ । देशको सबभन्दा पुरानो र एक मात्र लोकतान्त्रिक दल चौधौँ अधिवेशनको धङधङीबाट बाहिर आउन सकेको छैन । यस्तोमा देशको भविष्य कसैले ओलीको हातमा देख्छ भने त्यसलाई अन्यथाका रूपमा लिनु हुँदैन ।
यो अवस्था हिजोको मात्रै होइन, भोलिको पनि हो । एमाले नेता ओलीले आफूलाई जतिसुकै जान्ने र सर्वज्ञ सोचे पनि उनको हातबाट हुने भनेको अहिले जे भएको छ, त्यस्तै र त्यति नै काम हो । ओलीबाट त्योभन्दा बढीको आशा कसैले नगरेको राम्रो हुन्छ । यद्यपि, नेपालका अन्य साम्यवादी राजनीतिज्ञजस्तै ओली पनि कुनै पनि सिद्धान्तप्रति मनसा, वाचा र कर्मणा समर्पित व्यक्ति होइनन् । उनमा ‘नेटिभ कनिङनेस’ पर्याप्त छ । त्यसैको बलमा उनले जनतालाई भुलभुलैयामा पारेका छन् ।
ओलीले आपूmलाई नेपालका ‘चक्रवर्ती’ नेता मानेका छन् । उनले आफूलाई चक्रवर्ती सामन्तहरूकै समकक्षी ठानेका छन् । उनको यो भनाइ पनि एक प्रकारको प्रवृत्ति नै हो : छुकछुक नगरी बस्न नसक्ने बच्चाको जस्तो प्रवृत्ति, ‘म चक्रवर्ती हुँ । अरू सबै झारपात हुन् ।’ राजनीतिमा उनी आफूभन्दा माथि कोही छ भन्ने मान्दै मान्दैनन् । कुनै समयका आफ्नै पार्टीका दुई दिग्गज नेता झलनाथ खनाल र माधव नेपाललाई खुइल्याउने उनको प्रयत्न जारी नै छ । उनको क्षमताले भ्यायो भने नेपालको राजनीतिमा जेएन र माधवको अस्तित्व रहनेछैन । माओवादीका अध्यक्ष प्रचण्ड पनि उनको ‘तीर ए निशाँ’मा छन् । तर, ओलीका लागि उनलाई छुनु त्यति सजिलो छैन । केपीलाई जेएन र माधवको ‘अन्तर्य’ को पूरा जानकारी छ । प्रचण्डलाई अहिलेसम्म उनले चिन्न सकेका छैनन् ।
समाचारपत्रहरू पढ्दा र सामाजिक सञ्जालहरूको फन्को मार्दा उनको यो प्रवृत्ति हामी काठमाडौँको सहरिया समाजमा बस्नेहरूले निकै रुचाएका छौँ । उनका भनाइहरू नारी र बाल–बालिकालाई एकदमै मन परेका छन् । हामी सहरियाहरू मनोरोगी भइसकेका छौँ । हामी देशको विकास नभएकाले मनोरोगी भएका होइनौँ । हाम्रो आत्माभित्र गुजुल्टिएर अतृप्त आकांक्षाहरू त्यसका लागि जिम्मेवार छन् । हामीले न केही राम्रो देखेका छौँ, न केही मीठो चाखेका छौँ । त्यसैले, जब केपी ओली हामीलाई आफ्नो कल्पनामा कथेर, केरुङ नाकाबाट काठमाडौँ हुँदै कुस्मा र त्यहाँबाट पनि पर कताकता पुग्ने रेलको बाटोको शब्दचित्र सुनाउँछन्, हामी लट्ठ पर्छौं । जनतालाई लाग्छ, ओलीको कुरामा दम छ । हो नि, सररर रेल चढेर केरुङबाट काठमाडौँ झर्ने हो भने टाइम त कति लाग्छ र ? त्यहाँबाट कुस्मा, बाग्लुङ जता गए पनि भयो ।
देशको सबभन्दा पुरानो र एक मात्र लोकतान्त्रिक दल चौधौँ महाधिवेशनको धङधङीबाट बाहिर आउन सकेको छैन । यस्तोमा देशको भविष्य कसैले ओलीको हातमा देख्छ भने त्यसलाई अन्यथा मान्नुहुँदैन ।
केरुङबाट रेल आउने कुरामा ओलीले सबैलाई सन्तुष्ट तुल्याइसके । यसमा अब कुनै झमेला बाँकी रहेको छैन । पछिल्लोपटक, निकै दिनपछि नेपाल भ्रमणमा आएका चीनका विदेशमन्त्री वाङले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने बताएका छन् । आशा छ, यो केरुङ–काठमाडौं रेलमार्गको निर्माण सोचेभन्दा पहिले पूरा भयो भने नेपालको उन्नति त चुट्की बजाएर हुनेछ । पोखरा विमानस्थलको निर्माण अन्तिम चरणमा रहेकाले अब केही समयमै हामी नेपालीको स्तरोन्नति हुनेमा कुनै शंका रहेन । मित्रराष्ट्र श्रीलंका चीनले बनाइदिएको अन्तर्राष्ट्रिय बन्दरगाह हम्मनटोटाको ऋण तिर्न नसकेर अहिले बिलखबन्दमा परेको छ । कुरा कहाँसम्म पुगेको छ भने श्रीलंका सरकारसँग विद्यार्थीलाई जाँचमा लेख्नका लागि कापी किन्न दिनुपर्ने पैसोसम्म छैन ।
आशा गरौँ, हामीकहाँ त त्यस्तो नहोला । किनभने, हाम्रा नेता चक्रवर्ती हुँ भन्छन् । चक्रवर्ती भनेपछि चक्रवर्ती । पटक–पटकका चुनावमा केपी ओलीले जनताका आँखामा छारो हालेका छन् । कहिले उनले जनताको घरघरका चुलोमा पाइपको बाटो ग्यासको निर्बाध सप्लाई गरिदिने र जनताले सिलिन्डर झुन्ड्याएको साइकिल सडकमा घिच्याउँदै ग्यास खोज्न जानु नपर्ने बताएका छन् भने कहिले तीर्थयात्रामा सलल्ल पानीजहाज चढेर जान पाइने भनेका छन् । ओलीको बोली गोलीसरह चल्छ । बोलीका हिसाबले उनी एक नम्बरमा छन् । काम गर्ने हिसाबले कति नम्बरमा छन् ? यो कसैले पत्ता लगाउन सकेको छैन ।
कामका सन्दर्भमा विगत साढे तीन वर्षको, दुईतिहाइवाला कार्यकालको खुलासा कसैले गर्नै पर्दैन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सत्तरीऔँ सचिवालय बैठकमा तत्कालीन कार्यकारी अध्यक्ष कमरेड प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रस्तावमा सबै कुरा मन खुलाएर उल्लेख गरिएको छ । ओलीले शासन व्यवस्था चलाउँदा भएका भ्रष्टाचारका कारण देश क्षतिग्रस्त भयो । प्रचण्डले टिप्पणी गरेका छन्– ‘नेपाली जनताले झन्डै दुईतिहाइ मत दिएर बनेको सरकार कमजोर, अनुत्तरदायी र अयोग्य रहेको एवम् कानुनी शासनको मान्यताबाट विचलित हुन थालेको सन्देश जनतामा गयो । जनतामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राजनीतिक प्रणालीप्रति नै वितृष्णा उत्पन्न हुन सक्ने खतरा पैदा भयो । सरकार सञ्चालनका दुई वर्षको अवस्था हेर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री कमरेड केपी शर्मा ओली पूर्ण रूपले असफल देखिनुभयो ।’
त्यतिवेला प्रचण्ड नेकपासँग संयुक्त थिए । नेकपाको स्वार्थ उनको पनि स्वार्थ थियो । त्यतिवेला, केपी ओली र प्रचण्ड मिलेका भए बाँकी दल र नेताहरू निमिट्यान्न हुने थिए । भारतमा मोदी र केजरिवालले सोनिया परिवारले सञ्चालन गरेको कंग्रेस र अरू राजनीतिक दलका नेताहरूको मुख देखाउने हैसियत खोसिदिए । नेपालका ओली र प्रचण्डको मेलमिलापले त्योभन्दा चर्को परिणाम ल्याउँथ्यो होला । अहिले त्यो स्थिति छैन । स्थितिको विकास कसरी हुँदै छ ? त्यो भन्ने वेला भइसकेको छैन । किनभने खेल सुरु भइसकेको छैन ।