स्थानीय निर्वाचनमा अपेक्षाकृत सफलता हात पार्न नसकेको एकीकृत समाजवादीले गठबन्धनमा रहेका दलमा सहकार्यको भावना ज्यादै कमजोर रहेको निष्कर्ष निकालेको छ । मंगलबारबाट सुरु भएको स्थायी कमिटी बैठकमा १३ पेज लामो चुनावी समीक्षात्मक प्रतिवेदन पेस गर्दै अध्यक्ष माधव नेपालले पार्टी र गठबन्धनभित्रका सात समस्यासमेत उजागर गरेका छन् ।
आफ्नो प्रतिवेदनमा निर्वाचन सन्दर्भमा देखिएका समस्याको पहिचान गर्दै अध्यक्ष नेपालले गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्ने मनोविज्ञान कांग्रेस र माओवादी केन्द्रमा धेरै देखिएको उल्लेख गरेका छन् । निर्वाचनमा पहिलो गठबन्धनभित्रका, दोस्रो आफ्नै पार्टीभित्रका र तेस्रो प्राविधिक एवं प्रशासनिक गरी तीनथरी समस्या देखिएको नेपालको भनाइ छ ।
सचिवालयको तर्फबाट प्रस्तुत समीक्षा प्रतिवेदनमाथि बैठकमा छलफल सुरु गरिएको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए । उनले प्रतिवेदनमा नेताहरूले आ–आफ्नो धारणा राखेको र त्यसबाट शिक्षा लिएर कसरी अघि बढने भन्ने विषयमा छलफल जारी रहेको बताए ।
नेपालले गठबन्धनभित्र ‘पहिलो– गठबन्धन गर्न नै नचाहने, दोस्रो– गठबन्धनमा भएको निर्णय कार्यान्वयन नगर्ने, तेस्रो– गठबन्धनभित्र उपगठबन्धन गर्ने, चौथो– गठबन्धन भएका स्थानमा इमानदारीपूर्वक भोट नहाल्ने, पाँचौँ– गठबन्धनबाहिरका दलसँग चुनावी तालमेल गर्ने, छैटौँ– गठबन्धनमा रहेका दलहरूमा सहकार्यको भावना ज्यादै कमजोर देखिने र सातौँ– गठबन्धनलाई आफ्नो हितमा मात्र प्रयोग गर्न चाहने’ गरी सात समस्या देखिएको उल्लेख गरेका छन् । यस्तो प्रवृत्ति कांग्रेस र माओवादी केन्द्रमा बढी मात्रामा देखिएको नेपालको प्रतिवेदनमा छ ।
यस्तै गरेर नेपालले निर्वाचनमा आफ्नो पार्टीभित्र देखिएका समस्या पनि बुँदाबुँदामा प्रतिवेदनमा उल्लेख गरेका छन् । नेपालका अनुसार निर्वाचनका वेला एकीकृत समाजवादीभित्र पनि सातप्रकारका समस्या देखिएका थिए । उनका अनुसार ‘पहिलो– गठबन्धन भइहाल्छ भनेर आफ्नो तयारीमा राम्ररी नलाग्ने, दोस्रो– आफूलाई केन्द्रबिन्दुमा राखेर गठबन्धन गर्न चाहने अर्थात् जहाँ हाम्रो संगठन तुलनात्मक रूपमा बलियो छ त्यहाँ लिन जोड गर्नुपर्नेमा त्यसो नगरी व्यक्तिलाई केन्द्रबिन्दुमा राखेर सिट लिन चाहने र तेस्रो– गठबन्धन हुँदा उम्मेदवारी दिन तँछाड–मछाड गर्ने, तर गठबन्धन नहुने भएपछि भने उम्मेदवारी दिन तयारै नहुने र दिएको उम्मेदवारी पनि फिर्ता लिने’ समस्या एकीकृत समाजवादीमा देखिएको थियो ।
यसबाहेक नेपालले पार्टीभित्र ‘चौथो– चुनावलाई जनतामाझ राजनीति पुर्याउने माध्यम नठानी पद प्राप्त गर्ने माध्यम मात्र ठान्ने, पाँचौँ– पार्टीको टिकटबाट दिइएको उम्मेदवारी आफूखुसी फिर्ता लिने, छैटौँ– आफूले उम्मेदवारी नपाएपछि पार्टी निर्णयको विरोध गर्ने र पार्टी नै छाडेर पनि हिँड्ने तथा सातौँ– आफ्नो वास्तविक शक्ति र प्रभावको आकलन नगरी मनोगत विश्लेषणका आधारमा बढी आकांक्षा राख्ने’ समस्या पनि देखिएको थियो ।
नेपालले देशैभर उम्मेदवारी दिएको भए पार्टीले अझै धेरै मत ल्याउन सक्ने आकलन पनि प्रतिवेदनमा गरेका छन् । नेपालको प्रतिवेदनमा करिब २५ प्रतिशत स्थानमा उम्मेदवारी दिँदा कुल नौ लाख २३ हजार दुई सय १९ मत प्राप्त गरेको र यसमध्ये आधा गठबन्धनका अन्य दलहरूको मान्ने हो भने पनि पार्टीले करिब पाँच लाख मत प्राप्त गरेको दाबी गरेका छन् । सबै स्थानमा उम्मेदवारी दिएको भए यसको दोब्बरभन्दा बढी मत प्राप्त हुने नेपालको आकलन छ ।
तालमेल सम्मानजनक भएन, के शिक्षा लिने भन्ने छलफल गर्दै छौँ : झलनाथ खनाल नेता, नेकपा एस
बैठकमा पार्टीको स्थानीय तह निर्वाचनसम्बन्धी समीक्षा प्रतिवेदनमाथि छलफल सुरु भएको छ । प्रतिवेदनमा पाँचदलीय गठबन्धन सम्मानजनक नभएकाले स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले अपेक्षित परिणाम ल्याउन नसकेको निष्कर्ष छ । पाँच दलबीच जुन ढंगले गठबन्धन हुनुपर्ने थियो, त्यो भएन । सम्मानजनक भएन । त्यसले गर्दा आउनुपर्ने परिणाम पनि आएन । यसबाट के शिक्षा लिने भन्नेबारे अझै छलफल गर्दै छौँ ।