मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३० सोमबार
  • Saturday, 21 December, 2024
सुजित महत
२o७९ जेठ ३० सोमबार o६:५१:oo
Read Time : > 6 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

निष्फिक्री ‘जुप्ताज’का नेपाली संस्करण 

गुप्ता गाथालाई माथ खुवाउने नेपाल दलाल महात्म्य कसैले लेखे, अझ त्यसलाई अंगे्रजीमा ढाले, अन्तर्राष्ट्रिय बेस्ट सेलर बन्नेछ

Read Time : > 6 मिनेट
सुजित महत
नयाँ पत्रिका
२o७९ जेठ ३० सोमबार o६:५१:oo

साउथ अफ्रिकामा गुप्ता ब्रदर्स भनेर विख्यात/कुख्यात घरानाका अतुल र राजेश गुप्ता गत साता दुबईमा पक्राउ परे । पक्राउ नपरिसकेका अजयसहित गुप्तात्रयलाई युएई सरकारले आफ्नो कायदा–कानुन पूरा गरी सम्भवतः साउथ अफ्रिकामा सुपुर्दगी गरिदिनेछ । त्यहाँ गुप्ता ब्रदर्समाथि दर्जनौँ अभियोग छन्, तिनको बाँकी जीवन सम्भवतः मुद्दा लड्दालड्दै बित्नेछ । यो त भयो गुप्ता ब्रदर्सको वर्तमान र सम्भावित भविष्य, अब नौ वर्षअघि फर्किऔँ । गुप्ता परिवारमा हुँदै गरेको बिहेका पाहुना बोकेको जेट एयरवेजको चार्टर्ड विमान सन् २०१३ को अप्रिलमा दक्षिण अफ्रिकाको प्रिटोरियास्थित एयरफोर्स बेस ‘वाटर्कलुफ’मा अवतरण गर्छ । विमानमा २१७ भारतीय पाहुना सवार हुन्छन्– बलिउड अभिनेता अनिल कपुर, गायक कैलाश खेर, उत्तर प्रदेशका तत्कालीन मन्त्री शिवपाल यादव, सभामुख माताप्रसाद पाण्डेसहित । पाहुनालाई विवाहस्थल ‘सन्सिटी लक्जरी रिसोर्ट’सम्म पुर्‍याउन महँगा जिप–कारका काफिला तयार छ नै स्कर्टिङका लागि सवारीसाधनसहित सुरक्षाकर्मीसमेत तैनाथ छन् । एयरफोर्सबाहेक विदेशी राष्ट्राध्यक्ष/सरकार प्रमुख आदि भिभिआइपी चढेका विमानमात्र उडान/अवतरणको अनुमति भएको एयरबेस पहिलोचोटि व्यापारी परिवारको विवाहका पाहुना ओसार्न प्रयोग भएको छ । व्यापारी परिवारको बिहेको पाहुना ओसार्दा राजकीय शैलीको सम्मान दिइएको छ । राष्ट्रपति ज्याकब जुमाका साथै गुप्ता ब्रदर्सको काफी आलोचना हुन्छ । अन्ततः देशै छाडेर फरार अभियुक्त हुनुपर्ने र अहिले पक्राउ हुने नौबतको ‘टर्निङ प्वाइन्ट’ बिहेको त्यही भद्दा प्रदर्शन बन्न पुग्छ । 

भारत उत्तर प्रदेशको सहारनपुरबाट करिब नौ हजार किलोमिटर टाढा साउथ अफ्रिका व्यापार गर्न पुगेका गुप्ता ब्रदर्सले अकुत सम्पत्ति त कमाएकै थिए, सत्तामा समेत नियन्त्रण कायम गरेका थिए । तैपनि, सीमित घेरामा ज्ञात थियो । बिहेको भद्दा प्रदर्शनले तिनलाई देशैभरि ख्यात/कुख्यात बनाइदियो । मिडिया आदिको तीखो नजर अनवरत तीमाथि पर्न थाल्यो । उल्लिखित भद्दा प्रदर्शन गरेको पाँच वर्षपछि त गुप्ता परिवार साउथ अफ्रिकाबाट भागेर फरार अभियुक्त भइसकेको थियो । अनियमितता छानबिन सुरु भएपछि सन् २०१६ मा गुप्ता ब्रदर्सले निजी विमानमार्फत सुइँकुच्चा ठोके । त्यसअघि तिनले औँलामा त्यहाँको सरकार नचाउँछन् भनिन्थ्यो । सरकार राष्ट्रपति अफिसबाट होइन, गुप्ता ब्रदर्सको जेबबाट चल्छ, मन्त्री त आफ्नै वस्त्रजसरी फेरिदिन्छन्जस्ता किस्सा/कहावत सुनिन्थे ।

बिहेको भद्दा प्रदर्शनपछि मिडियाका साथै राष्ट्रपति जुमाका आलोचकले जुमा र गुप्ता ब्रदर्सको साँठगाँठलाई ‘जुप्ताज’ नामाकरण गरिदिए । ०१५ मा राष्ट्रपति जुमाले अर्थमन्त्री न्ह्लालनला नेनेलाई बर्खास्त गरेपछि गुप्ता ब्रदर्स पुनश्चः चरम विवादमा घेरिए । आफ्नो काम खुरुखुरु नगरिदिएकै कारण जुमालाई भनेर गुप्ता ब्रदर्सले अर्थमन्त्रीलाई बर्खास्त गराएको भन्दै आलोचना भयो– ‘नेनेगेट’ भनियो । ०१७ मा सर्भर नै ह्याक गरी गुप्ता ब्रदर्सका इमेल लिक गरियो– ‘गुप्ता लिक’ । तिनका वर्षाँैदेखिका कर्तुत छताछुल्ल भए । आफ्ना कामका लागि मन्त्रीहरूलाई लेखेका दबाबमूलक इमेल दनादन सार्वजनिक भए । हुँदाहुँदा विपन्नलाई अनुदान दिन विनियोजित सरकारी रकम गुप्ता ब्रदर्सको निजी खातामा जम्मा भएको देखियो । त्यही रकमबाट बिहेमा भद्दा प्रदर्शन गरेको ठोकुवा गरियो ।

खलनायकझैँ कुख्यात गुप्ता ब्रदर्सले अनुहारमा पोतिएको गन्धगी सफा गर्न अन्तर्राष्ट्रिय पिआर कम्पनी ‘बेल पुटिंगर’ हायर गरे । ‘फोहोर अनुहारमा थियो, ऐना सफा गर्दै रहे’ भनेजस्तो पो भयो । ‘बेल पुटिंगर’ले गुप्ता ब्रदर्समाथि भइरहेको आलोचनालाई श्वेत भर्सेस अश्वेतको रूप दिन खोज्यो, अर्थात् गुप्ताहरू अश्वेत भएकै कारण फसाउने परिपञ्च गरिँदै छ । यो प्रोपगान्डाबाट ती झन् आलोचित भए । गुप्ता ब्रदर्सलाई उद्धार गर्न आएको मार्गरेट थ्याचरका लागि पिआरको काम गरिसकेका लर्ड बेलले स्थापना गरेको ‘बेल पुटिंगर’ नै टाट पल्टियो । भ्रष्टाचारको विवाद चरमचोटीमा पुगेपछि अन्ततः सन् ०१८ मा राष्ट्रपति जुमाले नै पदबाट राजीनामा गर्नुपर्‍यो । कार्यवाहक राष्ट्रपति बनेका रामफोसाले छानबिन गर्न जोन्डा कमिसन गठन गरेपछि गुप्ता ब्रदर्स भागे ।  

सन् १९९३ मा पुगेका अतुल गुप्ताले दक्षिण अफ्रिकामा जुत्ता पसलबाट व्यापार थालेका थिए । राजनीतिक संक्रमणबाट गुज्रिरहेको कालखण्ड कतिपयका लागि अकुत आर्जन गर्ने अवसर बन्न पुग्छ । सोभियत संघ विघटनपछिको संक्रमणकालमै कतिपय नेपालीले व्यापारमा कामयाबीको झन्डा गाडेका हुन् । अतुल पुग्दा साउथ अफ्रिका रंगभेदबाटा भर्खरै आजाद भएको थियो । सन् १९९४ को चुनाव अफ्रिकन नेसनल कंग्रेस (एएनसी)ले जित्यो, नेल्सन मन्डेला राष्ट्रपति भए । रंगभेदबाट आजाद त भयो, बेरोजगारीको समस्या चरममा थियो । देशका ठूला उद्योग–व्यवसाय एक दर्जनभन्दा कम श्वेत व्यापारी घरानाको कब्जामा थियो । लगानी भित्र्याएर रोजगारी सिर्जना गर्ने लक्ष्यसाथ सरकारी प्रक्रिया एकदम सरलीकृत गरिएको थियो । अतुलले कम्प्युटर एसेम्बलको धन्दा सुरु गरे, जुन क्लिक भयो । अब उनले दाजु अजय र भाइ राजेशलाई पनि बोलाए । धन्दा बढेको बढ्यै भयो । त्यही कालखण्डमा नेपालमा पनि कम्प्युटर पार्टस्लगायत सामान तेस्रो मुलुकबाट आयात गरी भारत तस्करी गर्ने धन्दा खुबै फस्टाएको थियो । त्यही धन्दाबाट केहीले आफूलाई देशकै ठूला व्यापारिक घरानामा स्तरोन्नति गरे । सत्तामा तिनको पहुँच–प्रभाव गुप्ता ब्रदर्सकै जस्तो नहोला, छनचाहिँ काफी छ । 

मन्डेलाले सक्रिय राजनीतिबाट अवकाश लिएपछि सन् १९९९ मा थाबो मबेकी राष्ट्रपति भए, ज्याकब जुमा उपराष्ट्रपति । उपराष्ट्रपतिसँग चिनजान दोस्तीयारीदेखि साझेदारीसम्म पुगेपछि तिनको व्यापार कम्प्युटर मोनिटरबाट फुत्त बाहिर निस्केर खानी (माइनिङ), ऊर्जा, एयरलाइन्सतिर पैmलिँदै गयो । गुप्ता ब्रदर्सको व्यापारिक साम्राज्य चुलिँदै गयो, जुमा भ्रष्टाचारमा विवादित बन्दै गए । जुमाका सहयोगी पैसा लेनदेनमा रंगेहात समातिएपछि २००५ मा मबेकीले जुमालाई बर्खास्त गरिदिए । तर, जुमाले पहिला त अदालतबाट सफाइ पाए । बरु मबेकीमाथि चाहिँ छानबिनमा हस्तक्षेपको आरोप लाग्यो, राष्ट्रपतिबाट राजीनामा गर्नुपर्‍यो । २००७ मा जुमा एएनसीको अध्यक्ष र २००९ मा राष्ट्रपति बने । अनि गुप्ता ब्रदर्सको व्यापारमा ठाडो वृद्धिको युग सुरु भयो नै ‘किङ्मेकर’ अर्काे रूप प्रकट भयो ।

भ्रष्टाचार आरोपमा ‘राजनीतिक बनवास’मा रहँदा गुप्ता ब्रदर्सले जुमालाई लाउनुसम्म गुन लाएका थिए । बलेको आगो ताप्ने भनेको हाम्रामा मात्र होइन । भ्रष्टाचारको आरोपमा पदत्याग गर्न बाध्य नेतालाई कसले पुछ्ने ? गुप्ता ब्रदर्सले जुमालाई पदमा नरहेको अनुभूति नै नहुने गरी साथ दिइरहे । गुप्ता परिवारको पुजा, हवन, किर्तनमा जुमा गुप्ता ब्रदर्सकी मातासँगै सहभागी हुन्थे, माताजीले उनलाई दुवा दिइरहिन्थन् । जुमाका छोरा, छोरी र श्रीमती गुप्ता ब्रदर्सका कम्पनीमा उच्चपदस्थमा जागिरे थिए । निभेका वेला यस्तो साथ दिने परिवारलाई उनले गुन फिर्ता गर्ने नै भए । राष्ट्रपतिले नै जे भने पनि मान्दिने भएपछि गुप्ता ब्रदर्स मन्त्री पद नै बाँड्दै हिँड्न थाले । आफूले भनेको रिट्ठो नबिराई गर्छु भने मन्त्री बनाइदिन्छु भन्दै हिँड्न थाले, अटेर गर्नेलाई बर्खास्त गराइदिन थाले । अफ्रिकन न्युज नेटवर्क (एएनएन–१७) नाममा टेलिभिजन च्यानल सुरु गरे, जसको मुख्य काम जुमाको पक्षमा प्रोपगान्डा गर्नु थियो । अखबार त त्यसअघि नै सुरु भइसकेको थियो, जसले जुमालाई नायकका रूपमा पेस गर्न सारा ऊर्जा खर्च गथ्र्यो । ०१६ मा अतुल साउथ अफ्रिकाको सबैभन्दा धनी अश्वेत भएका थिए । 

नेपालमा पनि जुमाजस्तै भ्रष्ट नेताहरूको कमी छैन, गुप्ता ब्रदर्सको नेपाली संस्करण नहुने कुरै भएन । नेतालाई पदमा पुर्‍याउन कुस्त लगानी गर्ने, सत्तामा पुगेपछि सार्वजनिक सम्पत्ति दोहन गर्दै चर्को मुनाफासहित लाभांश लिने प्रवृत्ति दिन दुगुना रात चौगुना फस्टाउँदो छ । नेतामै लगानी गर्दागर्दै सांसद कति भए कति । कोही पटक–पटक मन्त्री बनिसके । प्रधानमन्त्री कार्यालयमै बसेर सरकारका सबैखाले ठेक्कामा दखल, सर्वत्र सेटिङको नयाँ मानक खडा गरिँदै छ । गुप्ता ब्रदर्स घरमै बसी बसी जुमामार्फत राज्य हल्लाउँथे, यहाँ त सिंहदरबारै कब्जा गर्न पुगिसके । सेवानिवृत भइसकेपछि चालूहरू अकुत कमाएर ठालु बन्न तिनै ‘हरक्युलिस’हरूको पछि लाग्ने अर्को ट्रेन्ड देखियो । तिनको सीधा र अझ प्रभावकारी पहुँच देखियो । टेलिकमको हाकिम नियुक्तिदेखि अनेक प्रकरणमा यही देखियो । 

नेपालमा पनि जुमाजस्तै भ्रष्ट नेताहरूको कमी छैन, गुप्ता ब्रदर्सको नेपाली संस्करण नहुने कुरै भएन । नेतालाई पदमा पुर्‍याउन कुस्त लगानी गर्ने, सत्तामा पुगेपछि सार्वजनिक सम्पत्ति दोहन गर्दै चर्को मुनाफासहित लाभांश लिने प्रवृत्ति दिन दुगुना रात चौगुना फस्टाउँदो छ ।

केपी शर्मा ओलीको सरकार छँदैको कुरा हो । प्रधानमन्त्रीले एकजना व्यापारीलाई भेट्ने समय दिन भनेपछि अर्थमन्त्री युवराज खतिवडाले समय नदिने कुरै भएन । आफ्नो ‘इन्ट्रेस्ट’मा अर्थमन्त्री उत्साही नदेखिएपछि तिनले घुमाउरो पाराले आफ्ना लागि मन्त्री बनाउने–बर्खास्त गर्ने काम खासै ठूलो होइन भन्ने सन्देश दिएर हिँडेछन् । अर्थमन्त्रीले यो कुरा प्रधानमन्त्रीलाई सुनाउँदा ओलीले सत्ता चलाउन यस्ता मान्छे पनि चाहिने भन्दै झिनामसिना कुरा मनमा लिएर नबस्न सम्झाएछन् । यो कुरा खतिवडाले पदमै रहँदा मन्त्रालयका वरिष्ठ अधिकारीहरूसँग बिहानै ‘ब्ल्याक–टी’सहित हुने अनौपचारिक कुराकानी (सिंहदरबारमा यस्तो कुराकानीलाई शून्य समय भनिन्छ)मा बताएका हुन् । सो शून्य समयमा उपस्थित दुई अधिकारीको मुखबाट सुनिएको कुरा हो यो । नेपालका बहालवाला, भूतपूर्व, वेटिङ सबैखाले प्रधानमन्त्रीका साथै मन्त्री, उच्चपदस्थलाई घुमाउन व्यस्त रहने सिंगापुरमा बस्ने, तर सिंहदरबारमा जुनसुकै सत्ता आए पनि सदाबहार पहुँच राख्ने व्यापारीका सिंगापुरे ड्राइभरले ‘नेपालका धेरै शक्तिशाली व्यक्तिको ड्राइभर हुँ’ भनेर फुर्ती लाउँदै हिँडेको किस्सा यता सत्ताको गल्लीतिरै सुनिन्छ ।

विदेशी कम्पनीको एजेन्टका रूपमा कामगर्ने छुट्टै ‘प्रजाति’का व्यापारीको उदय पञ्चायतकालमै भएको थियो । सरकारी खरिद, ठेक्कापट्टामा विदेशी कम्पनीका लागि काम गर्ने तिनले जतिसक्दो राज्यकोषमा चुना लगाई आफू पनि कुस्त कमाउने अनि सरकार, कर्मचारीतन्त्रमा पनि बढ्तै फन्डिङ गर्ने भएकाले सत्तामा तिनको पहुँच सामान्यतया उद्योग चलाउने वा ट्रेडिङ गर्नेभन्दा बढी हुन्थ्यो, हुन्छ नै । ०४६ को राजनीतिक परिवर्तनपछि ‘आइसिटिसी’ समूहको चर्चा गुप्ता ब्रदर्सकै झझल्को आउनेखाले हुन्थ्यो । तिनले कारोबार गर्ने वायुसेवा निगम, टेलिकम, विद्युत् प्राधिकरण आदिका कार्यकारी प्रमुख तिनैले रोज्छन् भनिन्थ्यो । आइसिटिसी ब्रदर्स (यिनका पनि दाजुभाइ तिनै छन्)को घरमा प्रधानमन्त्री–मन्त्रीहरू नै डिनरमा यति पुग्थे रे कि, परिवारका सदस्यहरू वाक्कदिक्क मान्थे भन्ने किस्सा सुनिन्छ । 

माथि नै भनिसकिएको छ, परिवर्तन र संक्रमणकालले नयाँनयाँ धनाढ्य उत्पादन गर्छ । हाम्रामा पनि ०६२/६३ को परिवर्तन र संक्रमणकालमा नवधनाढ्य उत्पादन भए । कोही एकदम धनाढ्यै नभए पनि हरेक पार्टीका शीर्ष नेताको शयनकक्षदेखि शौचालयसम्म पहुँच राख्ने भए । बजारमा प्रतिस्पर्धी बढ्दै गएपछि ‘आइसिटिसी’ले चाहिँ व्यवसाय विविधीकरण गर्दै गयो । यो समूह फिलहाल सरकारी ठेक्कापट्टामा खासै सुनिन्न । तिनको स्थानमा नयाँ ‘गुप्ता ब्रदर्सहरू’ जमेका छन् । गुप्ता ब्रदर्सको घनिष्टता सत्तारुढ एएनसीमा पनि ज्याकब जुमासँग सीमित थियो । जुमाको बहिर्गमनसँगै तिनका दुर्दिन सुरु भए । हाम्रामा गुप्ता ब्रदर्सहरू सत्तारुढदेखि सत्तारुढ हुन कुरिरहेका सबै दलका शीर्ष नेतृत्वको शयनकक्षदेखि शौचालयसम्म पहुँच राख्छन् । ओलीको सिफारिसमा अर्थमन्त्री भेट्ने व्यवसायी अहिलेको सत्तामा झन् शक्तिशाली छन् । सुरक्षा निकायका उच्चपदस्थका नियुक्ति, बढुवा, सरुवामा तिनै निर्णायक सुनिन्छन् । तिनकै घरमा बसेर बजेटका काम गर्ने जोकर हाम्रा मन्त्री हिरो भन्दै हिँड्छन् ।  

जुमाको सत्ताबाट बहिर्गमन र गुप्ता ब्रदर्सको देशैबाट बहिर्गमनमा ‘पब्लिक प्रोटेक्टर’ थुली मडन्सेलाको भूमिका निर्णायक रह्यो । सन २००९ मा पदमा बहाली भएदेखि ‘जुप्ताज’माथि निगरानी गरिरहेकी तिनले सन् २०१६ मा पदावधि सकिनुअघि तिनका कर्तुतको बेलीविस्तार विद्यमान तीन सय पेजको प्रतिवेदन सार्वजनिक गरिदिइन्– प्रतिवेदन सार्वजनिक गरे ज्यान मार्ने धम्कीका बाबजुद । जसले गर्दा मिडियालाई रिपोर्टिङ गर्न सजिलो भयो, अरूलाई आलोचना गर्न आधार प्राप्त भयो । अन्ततोगत्वा जुमा राजीनामा गर्न बाध्य भए । हामीकहाँ निगरानी गर्नुपर्ने कुनै निकायले सायदै निगरानी गरिरहेको होला ।

०४६ को राजनीतिक परिवर्तनपछि पटक–पटकका उथलपुथलले धरि १२ वर्ष ढुंग्रोमा राखे पनि बांगाको बांगै भएका राजनीतिक नेतृत्वलाई एकाध स्वतन्त्र उम्मेदवारको जितले अब सफाचट पारिदिन्छ भन्ने तहको उच्च आशावादी हुनेलाई त हुन दिइराखौँ, नत्र यहाँका ‘जुप्ताज’हरू फिलहाल निष्फिक्री देखिन्छन् । चुनाव जुमाहरूले जित्ने हुन्, गुप्ता ब्रदर्सहरूकै हालीमुहाली हुने हो । तैपनि, ‘जुप्ताजहरू’को अन्त्य अवश्यम्भावी छ, ढिलोचाँडो । राजेश सुन्दरमले गुप्ता ब्रदर्सबारे लेखेको किताब ‘इनडेन्चर्ड बिहाइन्ड द सिन्स एट गुप्ता टिभी’ दक्षिण अफ्रिकामा बेस्ट सेलर छ, यसमा आधारित वेब सिरिज निर्माणाधीन छ । गुप्ता गाथालाई माथ खुवाउने नेपाल दलाल महात्म्य कसैले लेखे, अझ त्यसलाई अंगे्रजीमा ढाले, अन्तर्राष्ट्रिय बेस्ट सेलर बन्नेछ । वेब सिरिज झन् झक्कास हुनेछ ।