बाल्यकालमा बुबाले मतगणनाको अपडेटका लागि रेडियोका कान बटार्दा यसो रेडियोतिर कान थाप्दा सुनिएको नाम, तीर्थराम डंगोल । ०४३ सालको राष्ट्रिय पञ्चायत चुनाव, जुन पञ्चायतकै अन्तिम आमचुनाव हुन पुग्यो, बहिष्कार गरेको तत्कालीन प्रतिबन्धित कांग्रेसले एक वर्षपछि भएको स्थानीय चुनावमा चाहिँ आउटपोस्ट कब्जा गर्ने रणनीतिअन्तर्गत भाग लिएको थियो । तत्कालीन प्रतिबन्धित मालेले चाहिँ राष्ट्रिय पञ्चायत र स्थानीय निकाय दुवै निर्वाचनमा भाग लिएको थियो, उपयोग गर्ने रणनीतिअन्तर्गत ।
काठमाडौँ नगर पञ्चायतको प्रधानपञ्चमा गणेशमान सिंहको लौरो भनेर प्रख्यात हरिबोल भट्टराई र उपप्रधानपञ्चमा तीर्थराम डंगोलले सुरुदेखि नै अग्रता लिँदै चुनाव जितेका थिए । कांग्रेसका उम्मेदवारद्वयलाई मालेका सीताराम मास्के र केशव स्थापितले पछ्याएका थिए । त्यो चुनावमा प्रतिस्पर्धा गरेका सीताराम मास्के ०४६ को राजनीतिक परिवर्तनपछि एमालेको राजनीतिमा उति सुनिएनन् । मानवअधिकारवादी हुँदै व्यवसायतिर सक्रिय भए । तीर्थराम डंगोलको नाम सुनेकै चौँतिस वर्ष बितेछ । त्यसबखत उपप्रधानपञ्च डंगोल ३४ वर्षपछि मेयर (पञ्चायतकालीन प्रधानपञ्च) को टिकट दाबी गरिरहेका छन् । ०४४ सालको त्यही चुनावमा चुनावपछि झिकेर लैजान मिल्ने पोस्टर प्रयोग गरी चर्चा कमाएका हार्वर्डदीक्षित रूपज्योति राजनीतिमा देखिएनन्, राजा ज्ञानेन्द्रले सत्ताको लगाम समाएपछि अर्थ राज्यमन्त्रीको राजनीतिक परिदृश्यमा टुप्लुक्क देखिए ।
३४ वर्षको अवधि भनेको एउटा मान्छे जन्मेर प्रतिभा र मिहिनेत लागेको खण्डमा चमत्कार देखाइसक्न यथेष्ट उमेर हो । ३४ वर्षअघि उपप्रधानपञ्च हारेका केशव स्थापित ०४९ सालमा पनि उपमेयरमा पराजित भए, तर ०५४ सालमा मेयरमै जिते । प्रदेश सांसद रहेका स्थापित यसपालि पनि एमालेबाट मेयर टिकटको आकांक्षी छन् । दलको शीर्ष नेतृत्वमा पाको अनुहारकै रजगज रह्यो भन्दै विस्मात गर्नेहरू सबैतिर छन्, तर जरासम्मैको हविगत त्यही हो भन्नेमा सचेत वर्गले समेत बहस गरेको पाइँदैन । म खुद मतदाता रहेको काठमाडौँ महानगरपालिका– ९ मै ०४९ सालमै वडा सदस्य जितेका रामजी भण्डारी कांग्रेसबाट वडाध्यक्षको टिकट पाउन प्रयासरत छन् । वडा सदस्यबाट अध्यक्षको दाबामा पुग्दा उनले ३० वर्ष खर्च गरिसके । यो अवधिमा एउटा व्यक्ति एमडी डाक्टर, पिएचडी डाक्टर आदि जे पनि भइसक्छ । अनि त तीर्थराम उपप्रधानपञ्चमा जितेको र केशव स्थापित हारेको तीन वर्षअघि जन्मिएका बालेन शाह रञ्जु दर्शनाले पाँच वर्षअघि राखेको उचाइलाई उछिन्ने महत्वाकांक्षासाथ भिडेका छन् ।
आमजनले राजनीतिमा राख्ने अपेक्षा र राजनीतिकर्मीहरूको वृत्तिगत यथार्थबीच नापिनसक्नुको फासला छ । जसलाई चिर्ने हिम्मत र सचेतना मूल राजनीतिक पार्टीमा अझै छैन । खासमा मतदाताले अन्तस्करणबाटै ताजा अनुहार खोजिरहेका छन् । हालै फ्याक्ट्स नेपालले खाँदबारी नगरपालिका (संखुवासभा) मा गरेको सर्भेले देखायो– ७९ प्रतिशत मतदाता मुलुकको राजनीतिक संस्कार परिवर्तन गर्न नयाँ पुस्ताको सहभागिता खोजिरहेका छन् । मतदाता गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवामा सहज पहुँच खोज्छन् अनि सुशासन र पूर्वाधारमा सुधारको अपेक्षा गर्छन् । अनि यी सबका लागि पढालिखा प्रविधिमैत्री ताजा अनुहार नै चाहिन्छन् ।
खाँदबारीवासीको अपेक्षा मुलुकभरिकै हो भनेर अनुमान गर्दा रिठ्ठो फरक पर्दैन । ताजा अनुहार आउन नखोजेका पनि हैनन् । कांग्रेसमा सुशन वैद्य (काठमाडौँ), कञ्चन झा (वीरगन्ज), रेणुका काउछा (गल्कोट), शैलेन्द्र यादव (लहान), दिपेन्द्र वान्तवा (खाँदबारी) प्रतिनिधि उदाहरण हुन् । यस्ता युवालाई पन्छाउन गरिने तर्क पनि अजिब छ, ‘सब ठीक छ के, तर वेला भएको छैन, नयाँ छ ।’
विद्यार्थीकालदेखि निरन्तर राजनीतिमा सक्रिय, सम्पदा संरक्षण, प्रदूषण नियन्त्रणलगायत आन्दोलन, गतिविधिमा सक्रिय सुशनलाई सबै नेताले भन्छन्, मेयरका लागि सुयोग्य ठान्छन्, तर वेला भएको छैन भन्छन् । १५ वर्षदेखि अनवरत स्थानीय समुदायसँग काम गरिरहेका कञ्चनलाई नयाँ भनिन्छ । ४० वर्षका सुशन वा ३५ नाघेका कञ्चनको समेत वेला नभएको भनिने कांग्रेस त्यही पार्टी हो, जुन ३२ वर्षीय बिपीले स्थापना गरेका थिए । तिनै बिपीले ३७ वर्षमा गृहमन्त्रीको जिम्मेवारी सम्हालिसकेका थिए त ४४ वर्षको उमेरमा प्रधानमन्त्री । शेरबहादुर देउवै ४५ वर्षको उमेरमा गृहमन्त्री र ४९ वर्षको उमेरमा प्रधानमन्त्री भएका हुन् ।
युवालाई प्रतिशतजन्य आरक्षणमा राख्नुभन्दा उम्मेदवार छनोटको प्रमुख आधार नै युवावय हो वा होइन भन्नेमा किन जाँदैन कांग्रेस ? कांग्रेस अझै पनि युवाका अगाडि असान्दर्भिक महसुस गर्ने विशाल बासी पुस्ताको दास भएको तथ्य कहीँबाट छिप्दैन ।
मूलधारको दलीय राजनीतिले युवालाई पछिल्लो समय देखिने गरी आकर्षित गरिरहेको छ । उदारवादी, लोकतान्त्रिक विश्वसमाजसँग सूचना प्रविधिका कारण अपरिमित ढंगले नजिकिएको युवा पुस्ता कांग्रेससँग झन् धेरै नजिकिनु स्वाभाविक हो । खासगरी वैकल्पिक राजनीतिको रागमा वाहवाह गरिरहेका उदार लोकतन्त्रमा आस्थावान् कतिपय युवा विवेकशील साझाबाट धोकै पाएरै सही, अन्ततः कांगे्रसतिरै डोहोरिएका छन्, डोहोरिनेवाला छन् । यो क्रमभंग हैन, मोहभंगबाट सिर्जित सत्यरंग हो । रवीन्द्र मिश्र त एउटा निमित्त पात्र मात्र हुन्, उनले केही हजार डलरको जागिर त्यागको दुहाइ दिएर राजनीतिक रूपान्तरणको बिगुल फुक्नु त्यसै पनि एउटा परिपक्व राजनीतिक घटना थिएन । त्यो एउटा ‘इनफ्याच्युएसन’ थियो । लास्टाँ म्याउँ गर्नुको विकल्प जो भएन पनि ।
पुस्तान्तरण र रूपान्तरणको मझधारमा छ कांग्रेस । युवालाई जोड्नैपर्ने मनोवैज्ञानिक दबाबमा कांग्रेसको पाको पुस्ता असमटिँदै गएको छ । एकातिर रामचन्द्र पौडेलहरूलाई फेजआउट भइने डर छ भने शेरबहादुरहरूलाई आफ्नो सेखा सकिँदै गरेकाले बचेखुचेको बिरासत परिवारमा सार्ने चिन्ता छ । धनराज गुरुङ, गगन थापा, विश्वप्रकाश शर्माहरूको विजयले कांग्रेसको चुलो ढाक्ने ठूलो संख्या ढुङ्ग्राले सकिनसकी अगुल्टो फुक्नुपर्ने अवस्थामा पुगेका छन् । कांग्रेसको ‘एनाटोमी’ हेर्दा यसमा नयाँ–नयाँ कोष पलाउनु सुखद देखिन्छ ।
क्रियाशील सदस्यमध्ये ४० प्रतिशत युवै छन् । यो भनेको ठूलै पेलान हो । पुरानो पुस्ताले त्यसै पनि ‘रेजिस्ट’ गर्छ, उसले लोकलाज व्यवस्थापनको सियालमा काम नगर्ने बहाना मात्र खोज्छ । तर, १४औँ महाधिवेशनले एउटा मिश्रित सन्देश दियो । महाधिवेशन प्रतिनिनिधिको बहुमतले पाको पुस्ताकै निरन्तरतालाई अनुमोदन गरे भने गगन थापा र विश्वप्रकाश शर्मालाई महामन्त्रीमा भोट दिएर युवा पक्षधरता पनि देखाए । यो एउटा ऐतिहासिक मतादेश मात्र नभएर कांग्रेसभित्रको राजनीतिक मनोविज्ञानमा पाकिरहेको निर्णायक परिघटना पनि हो । पुरानो पुस्ताले यसमा पनि ‘मेनिपुलेट’ गर्ने कोसिस गर्छ । देउवाले पत्नी डा. आरजुलाई राजदण्ड छाड्ने अभिप्सा बिस्तारै देखाइरहनु यसैको एउटा दृष्टान्त हो । यो ‘जेनेरेसनल वार’मा युवाकै पल्ला भारी गराउने दायित्वको कसीमा यतिवेला मौका पाएका युवा नेताकै क्षमता परीक्षण हुन्छ ।
एमाले फुटेको, गठबन्धन हुने भएको हुँदा कांग्रेस यसपालि काठमाडौँ महानगरमा त लौरो उठाए पनि जितिने मनको लड्डु घिउसित खाइरहेको छ । तर, एमालेसँग झन्डै २० हजार भोटले पराजित कांग्रेसको नैया गठबन्धनले पार लगाइहाल्छ भन्ने छैन । पाँच वर्षअघि माओवादीका सर्वोत्तम डंगोल र जसपा (तत्कालीन संघीय समाजवादी फोरम) का पवित्र शाक्यले क्रमशः ७ हजार र ६ हजार प्लस भोट ल्याएका हुन् । भोट त रन्जु दर्शना २३ हजार र किशोर थापाले १८ हजार ल्याएका थिए । र्यापर/इन्जिनियर बालेन शाहले रन्जु दर्शनाले जे गरिन्, त्यही नगर्लान् भनेर ठोकुवा गर्न सकिँदैन । किशोर थापाले जे ल्याए, रमेश खरेलले त्यही नल्याउलान् भन्ने पनि छैन । यसो हुनुपछाडिको मूल कमजोरी फेरि पनि ठूला पार्टीहरूकै हो । न बालेनको राजनीतिक उच्छ्वास कुनै पार्टीको इन्टेलिजेन्सले चिन्यो, न खरेलको लोकप्रियतालाई ‘क्यास’ गर्ने मनोबल उनको राजनीतिक सोचाइसँग नजिक कांग्रेसले नै राख्यो ।
कंग्रेसको केन्द्रीय कार्यालयले सर्कुलर गरी विधानबमोजिम १८ देखि ३० वर्ष उमेर समूहका सदस्यको १५ प्रतिशत प्रतिनिधित्व हुन नसकेको भए १५ प्रतिशत प्रतिनिधित्व पुर्याउन निर्देशन दिएको छ । तर, उम्मेदवार छनोटमा चाहिँ अहिले वेला भएको छैन भन्ने हो भने सर्कुलर युवा सहभागितालाई सम्बोधन गर्ने नाममा बहुतै कर्मकाण्डीय फन्डा साबित हुनेछ । युवालाई प्रतिशतजन्य आरक्षणमा राख्नुभन्दा उम्मेदवार छनोटको प्रमुख आधार नै युवावय हो वा होइन भन्नेमा किन जाँदैन कांग्रेस ? कांग्रेस अझै पनि युवाका अगाडि असान्दर्भिक महसुस गर्ने विशाल बासी पुस्ताको दास भएको तथ्य कहीँबाट छिप्दैन । जुन कुरा कांग्रेसको आफ्नै इतिहाससँग अमिल्दो छ ।
यसपालि देशमा ३५ लाख मतदाता थपिएको अनुमान गर्न सकिन्छ । यो यस्तो मतदाता जेनेरेसन हो, जो सामाजिक सञ्जालमा झुम्छ, तथ्यांक आधारित तर्कमा विश्वास गर्छ । अँध्यारोमा गोली ठोकेको, शास्त्रीय अलंकारमा विश्वास गर्दैन । अर्थात् यो यस्तो वर्ग हो, जो आजसम्म किंवदन्तीय शक्तिमा बाँचेको पुरानो र अनुत्पादक तप्कालाई जिल्याउन सक्षम छ ।
यसमै अर्को महत्वपूर्ण पक्ष– के मूलधारे पार्टीहरू युवापुस्ताको यो विहङ्गम ब्यालेट प्रवेशलाई नीतिगत रूपान्तरणबाटै सम्बोधन गर्न सक्छन् ? कांग्रेस अझै पनि १५ प्रतिशतको प्रावधानलाई पुरानो पुस्ताको ‘कुसन’ बनाउन खोजिरहेको छ । बालुवाखानी, क्रसर चलाउने युवाबाहेक अरूको खैरियत देखिन्न । तपाईं मकैखेती (मध्यपहाडमा सिजन सुरु हुन लाग्यो) गर्नुस् या राजनीति । मुख्य कुरा उत्पादकत्वकै हो । पुरानो बिउले राम्रो फसल दिन्न । नयाँ बिउको सही परीक्षण तर व्यापक प्रयोगबाटै मात्र कृषि क्रान्ति सम्भव छ ।
Follow @mahatsujit